Comments Add Comment

इनर्जी बैंकिङमा भारत सहमत, विजुलीको अन्तर्राष्ट्रिय बजार सुनिश्चित

१२ पुस, काठमाडौं । इतिहासमै पहिलोपटक नेपालमा उत्पादन हुने विजुलीको अन्तर्राष्ट्रिय बजार सुनिश्चित भएको छ । भारतले नेपालको विजुली किन्ने गरी इनर्जी बैंकङमा सहमति जनाएको छ ।

नेपाल र भारतबीच इनर्जी बैकिङ गर्न सहमति जुटेको हो । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सेन्स कमिटी- पीईसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । |

नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र सुख्खामा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
नेपालतर्फको बैठकको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत ट्रेडरमार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए ।

पीईसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिम रुप दिएको हो ।

इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरिय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरिय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्ने छ । यसअघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो ।

‘इनर्जी बैकिङका लागि तयार पारिएको निर्देशिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत व्यापार सम्झौता अन्तर्गतका सहसचिव र सचिव स्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ’, कार्यकारी निर्देशक घिसिङले भने,’इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा हो ।’

बुटवल-गोरखपुर प्रसारण लाइनमा के भयो ?

पीईसी बैठकले नयाँ बुटवल-गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले सुरुका ५/७ वर्ष इनर्जी बुक गर्ने प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए ।

‘लाइन निर्माण गर्न करिब ४ वर्ष लाग्ने भएकाले सुरुका ५/७ वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत निर्यातका लागि प्रयोग गर्ने भएकाले सोहीअनुसार लगानीको प्रारुप तयार हुने छ’,उनले भने,’हामीले इनर्जी बुक गरेको ५/७ वर्षमा पनि भारततर्फ विद्युत लैजाँदा सम्बन्धित विद्युत निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने विषयमा सहमति जुटेको छ ।’

दुई मुलुकबीच विद्युत आदनप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानी योग्य बनाउन नेपालले २५वर्षसम्म इनर्जी बुक गरेको छ । तर, नेपालले दोस्रो क्रस बोर्डर प्रसारण लाइनमा ५/७ वर्षमात्रै बुकिङ गर्ने भएको हो ।

‘आयोजना निर्माण तथा सञ्चालनका लागि भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म सेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ’,प्रवक्ता अधिकारीले भने ।

पहिलो क्रस बोर्डर प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारतर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको १० प्रतिशत मात्रै सेयर छ ।

यो पनि पढ्नुहोस नेपाल-भारतबीच सहमति भएको ‘इनर्जी बैकिङ’ के हो ?
बैठकमा प्राधिकरणले उत्तर बिहार विद्युत वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युतको खरिद दरका विषयमा पनि छलफल भएको थियो ।

प्राधिकरणले पीईसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेला मात्रै ‘लेउ र तिर (टेक एण्ड पे) ‘आधारमा विद्युत आयात गरिरहेको छ ।

भारतले केही दिनअघि मात्रै छिमेकी मुलुकसँगको विद्युत आयात-निर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरिद दरकाबारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले बताए ।

‘नयाँ निर्देशिका आएको सन्दर्भमा पीईसीको सान्दर्भिकता हुने/नहुने लगायतका विष्यामा सम्बन्धित निकायहरुसँग थप छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ’,उनले भने,’यसले हाल भइरहेको विद्युत आयातलाई भने कुनै असर पार्ने छैन ।’

११ औं पीईसीको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा विद्युत खरिद गरी आयात गरिरहेको छ ।

बढी विद्युत् माग हुने पिक आवर र अफ्ट्यारो परेको वेला मात्रै बिहारबाट पीईसीले तय गरेको दरमा भारतबाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

बिहारबाट सिराहा, जलेश्वर, विरगंज, विराटनगरमा ३३ केभी र कुशाहा-१, कुशाहा-२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत आयात हुन्छ । उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगंजमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत आयात गरी दार्चुला र बैतडीमा आपूर्ति गरिन्छ ।

प्राधिकरणले ५ जुलाई २०१८मा सम्पन्न पीइसीको १२ औं बैठकमा आयात भइरहेको दरमा कत्ति पनि भाउ बढाउन नसकिने अडान लिएपछि तीन पहिनापछि पुनः बैठक बसेर दर तय गर्ने निर्णय भएको थियो ।
यो पनि पढ्नुहोस सच्चियो भारतीय विद्युत् व्यापार निर्देशिका, नेपालबाट बिजुली बेच्ने बाटो खुल्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment