Comments Add Comment

दिगम्बर झाले किन दिए राजीनामा : राजीनामाभित्रका तीन रहस्य

१२ पुस, काठमाडौं । सरकारले बर्खास्त गर्ने र अदालतमा मुद्दासमेत दायर हुने तयारी बुझेपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएको खुलेको छ । सत्तारुढ नेकपाभित्र झाको नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेका बेला झाले बुधवार साँझ राजीनामा दिएका थिए ।

नेकपा स्थायी कमिटीमा झाको नियुक्तिविरुद्ध नेताहरुले बोलेकै बेला ४१ जना केन्द्रीय सदस्यले उनको नियुक्ति बदर गर्न सरकारलाई निर्देशन दिन माग गर्दै स्थायी कमिटीमा ज्ञापनपत्र बुझाएका थिए ।

झाले आफूलाई बिना आधार र प्रमाण भ्रष्टाचारी भनेर चरित्रहत्या गरेको भन्दै नेकपा नेताविरुद्ध अदालतमा मानहानीको मुद्दा लिएर जाने बताएका थिए । तर, उनले अकस्मात राजीनामा दिए ।

यो पनि पढ्नुहोस दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

अघिल्लो वर्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव हारेर जाँदाजाँदै झालाई ५ वर्षका लागि नियुक्ति दिएको थियो । उनको उमेर ६४ वर्ष पुगिसकेको भन्दै उतिबेलै ५ वर्षे नियुक्तिलाई लिएर विवाद भएको थियो ।

चुनावपछि ओली सरकारले चुनाव आचारसंहिता लागेपछि गरेका सबै राजनीतिक नियुक्ति एकमुष्ठ बदर गर्दा झा पनि परेका थिए । तर, झा आफ्नो पुनर्वहाली माग गर्दै अदालत गए ।

अदालत गएकै बेला सरकारसँगको भित्री सहमतिपछि अदालतबाट मुद्दा फिर्ता लिएर उनी पुनः प्रतिस्पर्धामा भाग लिई अध्यक्ष भए ।

झा ०६९ मंसिर १९ मा पहिलोपटक डा. बाबुरम भट्टराई प्रधानमन्त्री भएका बेला प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । तर, अदालतमा मुद्दा चलेका कारण २ वर्ष उनी अध्यक्ष हुन पाएनन् ।

५ वर्षका लागि नियुक्ति पाएका झाले आखिर किन दिए त राजीनामा ?

पहिलो कारण : ६५ वर्षे उमेर हद

दिगम्बर झा यही पुस २२ गतेबाट ६५ वर्ष पुग्दैछन् । नेपालका कुनै पनि संवैधानिक र सरकारी नियुक्तिहरुमा ६५ वर्षभन्दा माथि जागिर खान पाइँदैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र स्वयं ६५ वर्ष उमेर हदका कारण अर्को साता अवकाश हुँदैछन् ।

प्राधिकरणका अध्यक्ष झालाई सरकारले ५ वर्षका लागि नियुक्ति दिएको थियो । प्राधिकरणको ऐन र नियमावलीमा अध्यक्ष तथा सदस्यको शैक्षिक लगायत अरु योग्यता तोकिए पनि उमेर खुलाइएको छैन । उमेरबारे ऐन र नियमावलीले नबोलेकै कारण ६५ वर्ष कटे पनि जागिर खान पाउने झाको तर्क थियो ।

तर, अन्तिम घडीमा आएपछि झा यो निश्कर्षमा पुगे कि पुस २२ बाट उनी कुनै पनि हालतमा पदमा रहन पाउने छैनन् ।

दुरसञ्चार प्राधिकरणको ऐन र नियमभन्दा माथि मुलुकको संविधान र संवैधानिक अंग तथा सरकारी सेवासम्बन्धी कानुनहरु हुने भन्दै ६५ वर्षभन्दा माथि कसैले पनि सरकारी सेवामा रहन नपाउने वकिलहरुको तर्क छ ।

त्यसैले, उमेर हदका कारण पदावधि सकिएको सन्देश जानुअगावै झाले जुक्ति निकाले कि नेकपा नेताले आफूमाथि अपमान गरेकाले राजीनामा दिएको बाहनाबाजी गर्ने र पदावधि सकिनुभन्दा १२ दिनअगावै राजीनामा ठोक्ने ।

यद्यपि राजीनामा दिएर जाँदाजाँदै दिगम्बर झाले आफ्नो मानहानी भएको भन्दै नेकपा नेताहरुविरुद्ध अदालतमा मुद्दा हाल्ने बताएका छन् । उनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई विवादमा तानिएकाले आफूले राजिनामा दिएको दाबी गरेका छन् ।

दोस्रो कारण : मुद्दाबाट जोगिने

दिगम्बर झाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी भइरहेको थियो । यही मुद्दाको सुइँको पाएपछि उनले हत्तपत्त राजीनामा ठोकेको स्रोतले अनलाइनखबरलाई बतायो ।

नेकपानिकटकै एक वकिलले पुस तेस्रो साता झाविरुद्ध सर्वोच्च अदालतमा योग्यतामाथि प्रश्न उठाउँदै नियुक्ति बदरको रिट दायर गर्ने तयारी गरिरहेका थिए ।

अदालतमा उनीविरुद्ध रिट परेको खण्डमा उनको नियुक्ति बदर हुने सम्भावना थियो ।

झाविरुद्ध उमेर हदको विषयमा रिट दायर गर्ने तयारीमा रहेका ती वकिलले भने–सर्वोच्च अदालतको न्यायाधीश आफैं ६५ वर्ष उमेरभन्दा बढी सेवामा रहन पाउँदैन । त्यही न्यायाधीशले सरकारी सेवामा रहने उमेर ७० कायम गर्न सक्छ ? त्यसैले यदि दिगम्बरले राजीनामा नदिएको भए पुस २३ मा हामी सर्वोच्चमा जाँदै थियौं ।

तेस्रो कारण : सरकारले बर्खास्त गर्न लागेको बुझाइ

झाले अकस्मात राजीनामा दिनुको अर्को कारण हो–सरकारले आफूलाई बर्खास्त गर्न लागेको बुझाइ ।

झालाई केपी ओली नेतृत्वको सरकारले बर्खास्त गर्न लागेको ठानेर उनले हठात् राजीनामा दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

नेकपा स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफूलाई ‘नखाएको विष लागेको’ भन्दै झालाई राजीनामा गर्न निर्देशन दिएका थिए ।

दिगम्बर झाले बुधवार दिउँसो रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर आफू निर्दोष रहेको र स्वार्थ समूहको काम गर्न नसक्दा आफूविरुद्ध सुनियोजित प्रचार भएको बताइरहेका थिए । तर, साँझ उनको राजीनामा आउनुअघि नै प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको बैठकमा झाले राजीनामा दिइसकेको बताए ।

र, अन्त्यमा

नेकपा नेताले पैसा मागेको आरोप

स्रोतका अनुसार प्रधानमन्त्री र सञ्चारमन्त्री समक्ष दिगम्बरले आफूसँग केही नेकपा नेताहरुले आर्थिक लेनदेन र ठेक्कापट्टाको बार्गेनिङ गरेको भन्दै उजुरीसमेत दिएका छन् । केही दिनअघि उनको बर्खास्ती माग्नेमध्येकै नेकपाका दुई केन्द्रीय सदस्यले उनीसँग बार्गेनिङ गरेको सूचनासमेत सञ्चारमन्त्री बास्कोटाले पाएको स्रोतले बतायो ।

उता झाको नियुक्ति विरुद्ध वक्तव्य जारी गर्ने अभियानका अगुवा नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने आफ्नो समूहका कुनै सदस्यले झासँग आर्थिक लेनदेनको बार्गेनिङ गरेको भए तिनको नाम सार्वजनिक गरिनुपर्ने बताए ।

स्रोतका अनुसार नेकपा केन्द्रीय सदस्य भाष्कर काफ्ले र झाबीचको कुराकानीको सूचना सरकारसम्म पुगेपछि नेकपामा खैलाबैला मच्चिएको छ । अर्का एकजना अखिलका पूर्वनेताले पनि बार्गेनिङ गरेको भन्दै झाले सरकारसमक्ष उजुरी दिएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment