Comments Add Comment

थ्रीस्टार पुलिससँग पराजित

१३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिससँग पराजित हुदा थ्रीस्टारले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले थ्रीस्टारलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारले लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

पुलिसको जितमा निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले गोल गरे । यता, थ्रीस्टारका लागि भने मेसौम्बे अबाङ अल्बर्टले गोल गरेका थिए ।

खेलको १२औं मिनेटमा नै अल्बर्टले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । तर खेलको २०औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । पुलिसका लागि खेलको ४७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५५औं मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसलाई ३–१ गोलको जित दिलाए ।

जितसँगै पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ । पुलिसको ११ खेलबाट १८ अंक भएको छ । त्यस्तै, पराजित थ्रीस्टारको भने ११ खेलबाट २३ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment