Comments Add Comment

साहित्यिक नाका काँकरभिट्टामा के छ ?

नेपालको पूर्वी सीमा काँकरभिट्टा पूर्वोत्तर भारत आउ–जाउ मात्र होइन, नेपाली उत्पादन बंगलादेशसम्म निर्यात गर्ने प्रमुख भन्सार नाका पनि हो । भारतसँग जोडिएका अन्य सीमा नाकामा झैं यहाँ आपराधिक गतिविधिको खवर उति सुन्न पाइँदैन । नाका सफा र व्यवस्थित पनि छ । तीनतिर चियाबगान र एकातिर नाका भएका कारण सानो क्षेत्रफलमा खुम्चिनु यो सहरको बाध्यता हो ।

यो सानो सहरमा ट्राफिक जामको समस्या पनि सानै छ । खुला पार्कहरु प्रसस्त छन् । एकसरो आँखा लगाउँदा बाहिर देखिने काँकरभिट्टा र भित्र पनि भएको काँकरभिट्टा यही हो । आखिर किन काँकरभिट्टा अरु सीमा नाकाभन्दा फरक देखियो ? काँकरभिट्टाबाट सरुवा भएर इलाम पुगेका प्रहरी नायब उपरीक्षक टङक भट्टराई भन्छन्, ‘काँकरभिट्टालाई शान्त र शुन्दर बनाउन साहित्यले ठूलो भूमिका खेलेको छ ।’

एक साताअघि काँकरभिट्टा पुगेका नियात्राकार युवराज नयाँघरे, कवि ऋषभदेव घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली लगायतका कवि–लेखकको टोली डिएसपि भट्टराईको भनाईमा सतप्रतिशत सहमत छ ।

के छ काँकडभिट्टामा ?

काँकडभिट्टामा अन्य सीमा नाकाझैं भारतीय रुपैयाँ सटही गर्ने काउन्टरहरु प्रसस्त छन् । भारतीय पर्यटकलाई स्वागत गर्न खुलेका होटल पनि मनग्गे छन् । साँगुरो बसपार्क भिडभाडयुक्त हुने नै भयो । त्यसभन्दा एक पाइला अघि बढेर काँकडभिट्टाले साहित्यको विकास प्रष्टै देखिने गरी गरेको छ ।

सहरको मध्य भागमा मुख्य सडकको उत्तरतर्फ १६ कठ्ठा जग्गामा देवकोटा पार्क छ । यो क्षेत्रमा एक कठ्ठा जग्गाको मूल्य दुई करोड भन्दा बढि पर्छ । यती महंगो जग्गामा स्थानीयबासीले साहित्यीक भेला गर्ने मुख्य स्थान बनाएका छन् । यहाँ प्रत्येक शुक्रबार साहित्य प्रतियोगिता हुन्छ ।

लक्ष्मीप्रसाद देवकोटाको करिब १२ फिट अग्लो पूर्ण कदको सालिक रहेको पार्कलाई व्यवस्थित तवरले सजाइएको छ । सुन्दर बगैंचामा साँझ–बिहान सहरका बालबालिका खेलिरहेको देखिन्छन् । सडकको दक्षिणतर्फ विद्यालय र कलेजका ठूला पार्कहरु छन् । कलेजको मुख्य भागमा भानु साहित्यिक प्रतिष्ठानको भवन र आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिक छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय र केही वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्र्दै आएको छ । संस्थाले एक लाख राशीको एउटा, ५० हजार राशीको दुई वटा र त्यसभन्दा थोरै राशीका अन्य पुरस्कारको व्यवस्था गरेको छ । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतिका अनुसार, अहिले अक्षयकोषमा ३५ लाख रुपैंया छ । यसलाई बढाएर ५० लाख पुर्‍याउने लक्ष्य छ ।

भरतको सिलुगुडी, दार्जेलिङ्, सिक्किम, आसम, मणिपुर हुँदै बर्मासम्म नेपाली भाषीहरु फैलिएका छन् । ती सबै नेपाल छिर्ने यो मुख्य नाका हो, काँकडभिट्टा । प्रमुख दुई नेपाली श्रष्टा आदिकवि भानुभक्त र महाकवि देवकोटाका पूर्ण कदका सालिक राखेर उनीहरु नेपाल छिरेको अनुभूति दिलाउन काँकरभिट्टा सफल छ ।

ती क्षेत्रका लेखक–कविलाई काँकरभिट्टा निम्त्याएर राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम गर्ने क्रम पनि चलिरहेकै छ । नेपाली भाषा प्रति मोह हुने नेपालीभाषी भारतीयहरु काँकरभिट्टाका यस्ता कार्यक्रममा आएर साहित्यको तृष्णा मेट्ने गरेका छन् । युवराज नयाँघरे सीमा नाकामा यस किसिमको साहित्यिक वातावरण हुनुलाई आफैमा नौलो उदाहरण मान्दछन् । उनी भन्छन्, ‘सबै नेपालीका लागि गौरवको कुरा हो, यो ।’

अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली प्रगतिलाई दुई किसिमले अथ्र्याउँछन्– आर्थिक प्रगति र संस्कृतिसहितको आर्थिक प्रगति । काँकरभिट्टाले संस्कृतिसहितको आर्थिक प्रगति गरिरहेको उनको निर्क्योल छ ।

बढ्दो साहित्यीक गतिविधिकै कारण काँकरभिट्टाले नेपाल प्रज्ञा प्रतिष्ठानमा लगातार स्थान पाइरहेको छ । यसअघिको प्रज्ञा सभामा यज्ञराज प्रसाईंले काँकरभिट्टाको प्रतिनिधित्व गरेका थिए भने यसपटक शुभद्रा भट्टराईले । यी दुबै काँकरभिट्टाको साहित्यिक गतिविधिमा सक्रिय श्रष्टा हुन् ।

काँकरभिट्टाले ०५० सालमा महानन्द पुरस्कार समारोहको रुपमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गरेको थियो । त्यसबेला दार्जेलिङ्का शिवकुमार राई र इन्द्रबहादुर राईंलाई प्रमुख अथिति तथा असमका लिलबहादुर क्षेत्री विशिष्ट अथिति थिए । तीन दिन चलेको उक्त कार्यक्रममा बर्मादेखि युरोप र अमेरिकासम्मका नेपाली श्रष्टाहरु काँकरभिट्टा आएका थिए ।

अर्को बर्ष काँकरभिट्टाले अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन गर्‍यो। सम्मेलनमा विश्वभर छरिएका नेपाली बालसाहित्यकारलाई निम्त्याएको थियो । दुई दिन चलेको सम्मेलनमा वपरपरका शिक्षक–विद्यार्थीहरुले सम्पूर्ण समय दिएका थिए । ०२१ सालबाट काँकरभिट्टावासी बनेका साहित्यकार कृष्णप्रसाद उपे्रति ती कार्यक्रमहरुले काँकरभिट्टाको छवी उजिल्याउन ठूलो भूमीका खेलेको बताउँछन् ।

उनकै नेतृत्वमा भानु साहित्यिक प्रतिष्ठानले पूर्णता पायो भने अर्का पाका लेखक पूण्य खरेलको अगुवाईमा सुसेली साहित्यिक परिवार गठन भयो । यी दुई संस्थामार्फत एकत्रित भएका बुद्धिजिवीहरुले काँकरभिट्टामा अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठी गरे । भाषा संगोष्ठी आयोजनाका लागि आर्थिक सहयोग जुटाउन स्थानीय ब्यवशायीहरु अग्रसर भए ।

बर्मामा बोलिने नेपाली भाषा र दार्जेलिङ्को नेपाली भाषाको फरकपनका कारण नेपाली साहित्यले मानक भाषा पाउन सकेको थिएन । अर्को तर्फ नेपालमा बोलिने र लेखिने नेपाली पनि फरक थियो । सबैतिरको नेपाली भाषामा एकरुपता ल्याउन संगोष्ठीले काँकरभिट्टा घोषणापत्र जारी गर्‍यो । त्यही अनुसार भारतीय नेपालीहरुले आफ्नो भाषामा सुधार गरे भने दार्जेलिङ् र बर्माका नेपालीहरुको सुझावलाई प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यलयले आ–आफ्नो भाषा नीतिमा स्थान दिए । त्यही घोषणापत्रका आधारमा अहिले सबतिर काम अघि बढिरहेको छ । यसमा काँकरभिट्टाले गर्व गरेको छ ।

अहिले इन्टरनेट सर्च गरेर फरक देशका नेपाली भाषामा कति एकरुपता आयो भनेर तुरुन्तै जाँच गर्न सकिने उप्रेति बताउँछन् । काँकरभिट्टाले गरेको भाषा संगोष्ठीको महत्व यसबाट पनि प्रस्ट हुन्छ ।

त्यो कार्यक्रमले काँकरभिट्टालाई सम्पूर्ण भाषासेवीको केन्द्रमा ल्याइदियो । त्यस यता पनि यहाँ साहित्यिक कार्यक्रमहरु भइरहे, बर्मा, मणिपुर, असाम, सिक्किम, दार्जेलिङ् र सिलुगुडीका नेपाली भाषी नेपाली साहित्यकारहरु काँकडभिट्टा आईरहे । ‘एक प्रकारले काँकरभिट्टा साहित्यिक पर्यटकीय स्थल बनेको छ’, प्राज्ञ सभाकी नवनियुक्त सदस्य सुभद्रा भट्टराई भन्छिन्, ‘केन्द्रले बिर्सेका प्रवासी नेपाली साहित्यकारलाई काँकरभिट्टाले सम्झिएको छ ।’

संघर्षको इतिहास

०२१ सालसम्म काँकरभिट्टा जंगलबीचमा २०–२२ घर राजबंशी र ५ घर पहाडेको सानु वस्ती थियो । यो क्षेत्रमा प्रसस्त गँगटा पाइन्थे । पानीमा पाइने गंगटो राजबंशी समुदायको प्रिय परिकार हो, जसलाई उनीहरु ‘काँकड’ भन्छन् । त्यही जलचरको नामबाट यो ठाउँको नाम काँकडभिट्टा रहन गएको काँकडभिट्टासँग सम्बन्धित लेखहरुबाट बुझिन्छ ।

त्यो बेला योजनामा रहेको महेन्द्र राजमार्ग बिर्तामोडबाट भद्रपुरतिर मोडिन्थ्यो । त्यो बेलासम्म काँकडभिट्टा पूर्वी नाकाका रुपमा बिकसित भएको थिएन । सानो नाका नकलबन्दबाट सिधै भारतको नक्सलबाडी तिर जान्थ्यो । बिर्तामोडदेखि धुलाबारीसम्म एउटा कच्ची बाटो थियो । त्यही कच्ची बाटोका कारण धुलाबारीलाई नेपाल सरकारले पूर्वी तराईको अन्तिम बस्ती मानेको थियो ।

थोरै राजबंशी र केही पहाडी समुदाय काँकरभिट्टामा लामो समयसम्म एउटा गुमनाम बस्तीका रुपमा बसिरहे । धुलाबारी गाउँका नरेन्द्र खनाल राष्ट्रिय पञ्चायत सदस्य भएपछि महेन्द्र राजमार्गलाई बिर्तामोडबाट भद्रपुर मोड्नु भन्दा सिधै पूर्वतिर लैजादा त्यताको नेपाली भुगोल समेटिने प्रस्ताव राष्ट्रिय पञ्चायतमा राखे ।

खासमा, महेन्द्र राजमार्गलाई सिधै पूर्व लैजाने सोच भए पनि उता वस्ती नभएकाले बिर्तामोडबाट भद्रपुर मोडिएको कुरा नरेन्द्र खनालको प्रस्तावपछि जानकारीमा आयो । २०२२ सालमा खनालकै प्रस्तावबाट महेन्द्र राजमार्ग सिधा हुने भएपछि गुमनाम बस्ती काँकडभिट्टा देशको पूर्वी नाका बन्ने स्थितिमा पुग्यो । २०३१ सालमा मेची पुल बनेपछि त काँकडभिट्टा देशको एउटा महत्वपूर्ण सीमानाकाका रुपमा विकसित हुन थाल्यो ।

८० वर्षीय कृष्णप्रसाद उप्रेति त्यही सालबाट काँकडभिट्टामा नयाँ मानिसहरुको आगमन बढ्न थालेको सम्झन्छन् । ‘अनि यो क्षेत्र गुल्जार हुन थाल्यो, तर त्यो बेलासम्म यहाँका मानिसलाई देवकोटा र भानुबारे केही थाहा थिएन’, उनी भन्छन्, ‘जबकी सीमापारीका नेपाली भाषीहरुका लागि भानु जयन्ती पर्वको दिन हुने गर्दथ्यो ।’

काँकडभिट्टा अन्तिम सिमाना भएका कारण बर्माबाट खेदिएका नेपाली भाषीहरु पनि यहाँ बस्न थाले । नेपाली भाषा आन्दोलनका कारण दार्जेलिङ् क्षेत्रबाट बसाईं सर्ने व्यक्तिहरु पनि यहाँ आएर जरो गाडे । पूर्वी पहाडी जिल्लाबाट तराई झर्नेहरु पनि यहीँ आइपुगे । नाका बिकसित हुँदै जाँदा रोजगारको अवसर छोप्दै देशभरका अरु नेपाली र केही बंगालीले पनि यो सहरलाई आफ्नो कर्मभूमि बनाए ।

सरकारले चिया विकास नीति ल्याएपछि वरपरका जंगलहरु चियाबारीमा रुपान्तरण भयो । त्यसको चाप पनि काँकडभिट्टाले बेहोर्नुपर्‍यो । बाक्लो बस्ती र सीमा नाकाका कारण चोरी र तस्करी यो क्षेत्रको परिचय बन्न पुग्यो । ‘सीमा नाकामा छिट्टै कमाइ गर्ने उद्देश्यले जम्मा भएका कतिपय मानिसका कारण समस्याहरु आए’, उप्रेती भन्छन्, ‘त्यसलाई चिर्दै आजको परिचय बनाउन काँकडभिट्टाले निकै मिहनेत गरेको बिर्सनु हुँदैन ।’

करिब ५० वर्ष इतिहास बोकेको काँकडभिट्टा आजको विकसित अवस्थामा आउन सीमा नाकाले काम त गरेको छ, तर त्यसलाई सम्य बनाउने काम भने साहित्यिक संघ संस्थाले गरेका छन् भन्दा अत्युक्ति हुँदैन ।

५ महिनाअघि काँकडभिट्टा आएका डिएसपि महेश थापा ‘सीमा नाका भए पनि यहाँको शान्ति सुरक्षा ब्यवस्थापन गर्न अन्य सहरको तुलनामा केही सजिलो रहेको बताउँछन् । ‘यहाँको समाज एकबद्ध देखिन्छ । राजनीतिक कार्यकर्ताको भन्दा बौद्धिकहरुको कुरा सुनिदो रहेछ’, उनी भन्छन्, ‘यसमा यहाँ भईरहने साहित्यीक गतिविधिले योगदान गरेको मलाई पनि लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment