Comments Add Comment

मेलबर्नको क्रिकेट महोत्सवमा नेपालीको उल्लेख्य सहभागिता, पारस खड्काले दिए तालिम

मेलबर्न । यो वर्षको अन्ततिर अस्ट्रेलियाको नेपाली समाज क्रिकेटमा आफ्नो उचाइ बढेको गौरव गरिरहेको छ । अंग्रेजी नयाँ वर्ष क्रिकेट प्रेमीहरुसँगै मनाउन र अस्ट्रेलियामा नेपाली क्रिकेटको प्रवर्धन गर्न आइपुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आइतबार मेलबर्नमा सुरु भएको क्रिकेट महोत्सवमा सहभागी भएका छन् ।

गत विहीबार राति मेल्बर्न आइपुगेका कप्तान पारस खड्का, हालै पोखरा प्रिमियर लिगमा पहिलो सहभागिता जनाएर नेपाली क्रिकेट जगतमा उदाएको एक्सपोर्ट धनगढी ब्लुजका कप्तान दिपेन्द्रसिंह ऐरी र सोहि टिमका डाइरेक्टर सुभाष प्रधान अस्ट्रेलियामा भैरहेको नेपाली क्रिकेट महोत्सवका मुख्य आकर्षण भएका छन् ।

उनीहरुको आगमनअघि नै अस्ट्रेलियामा भएका नेपाली क्रिकेट प्रेमीहरुलाई डिसेम्बर तेश्रो सातादेखि अस्ट्रेलियाका विभिन्न सहरमा जारी केएफसी बिग बाश लिगले तताइसकेको थियो । खासगरी मेलबर्न स्टार्सका तर्फबाट अस्ट्रेलियामा बिग बाश लिगमा खेलिरहेका नेपाली खेलाडी सन्दीप लामिछानेका समर्थकका रुपमा नेपाली क्रिकेट प्रेमीहरु सन्दीपले खेलिरहेका रंगशालामा नेपाली राष्ट्रिय झण्डा लिएर तैनाथ भैसकेका हुन्छन् ।

नेपाली क्रिकेटको राष्ट्रिय टिमका कप्तान नै अस्ट्रेलिया आएपछि यहाँका क्रिकेट प्रेमीहरुको खुट्टा झन् भुइँमा छैन । उनीहरु आउँदो नयाँ वर्षका दिन मेलबर्नमा सन्दीपले खेल्ने बिग बाशमा ड्रमहरु बजाउँदै, राष्ट्रिय झण्डा र कप्तान पारससहित मैदानमा उत्रदै छन् ।

क्यानबेरा, सिड्नी र होबर्टमा तीन खेलमा सहभागी भएर आफ्नो प्रतिभा देखाइसकेका सन्दीप पनि आफ्नो राष्ट्रिय टिमका कप्तान अस्ट्रेलिया आउने कुराबाट कम खुशी थिएनन् । गत बिहीबार राति मेलबर्न विमानस्थलमा कप्तान पारससहितको टिमलाई स्वागत गर्न पुगेका सन्दीपलाई जारी खेलहरुमा सफलताको शुभकामना दिए ।


कप्तान खड्काको भ्रमण टिमलाई अष्ट्रेलियामा रहँदै आएका नेपाली राष्ट्रिय टिमका पूर्व क्रिकेट खेलाडीहरु यशवन्त सुवेदी, सुनम गौतम लगायतको टोलीले शुक्रबारदेखि नै मेल्बर्नमा ब्यस्त बनाइरहेको छ ।

यही सिलसिलामा एक्सपर्ट क्रिकेट क्लब मेलबर्नले सोमबार मेल्बर्नमा ’नेपाली क्रिकेटलाई सँगसँगै प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ एक्स्पर्ट नेपाली क्रिकेट फेस्टिभल आयोजना गरेको छ । अष्ट्रेलियामा रहेका स्थानीय क्रिकेटरहरुसँगको भेटघाट, बालबालिका, महिला र पुरुष खेलाडीहरुलाई तालिम, भेटघाट, अन्तरक्रिया र सहभोज लगायतका कार्यक्रम महोत्वसका मुख्य आकर्षण भएका छन् ।

अहिले क्रिकेट महोत्सवमा व्यस्त एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत सञ्जीव शर्माका अनुसार दुवै देशका नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्ने क्रममा अष्ट्रेलियाका स्थानीय एक्स्पर्ट क्रिकेट क्लबका दुईजना खेलाडीहरुले नेपालको एक्स्पर्ट धनगढी ब्लुजका तर्फबाट नेपालमा खेल्न पाउने छन् भने धनगढी ब्लुजका दुईजना खेलाडीहरुले प्रत्येक वर्ष अष्ट्रेलिया आई यहाँका स्थानीय खेलाडीहरुसँग क्रिकेट खेल्ने व्यवस्था गरिनेछ ।

मेलबर्नमा नेपाली सञ्चारकर्मीहरुसँग बोल्दै पहिलो पटक अस्ट्रेलिया आएका एक्स्पर्ट धनगढी ब्लुजका क्याप्टेन दिपेन्द्रसिंह ऐरीले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपाली क्रिकेटलाई दुई देशमा प्रवद्र्धन गरेकोमा धन्यवाद दिँदै भने, ’नेपाली क्रिकेटको विकासका लागि निकट भविष्यमा अझै यी भन्दा ठूला कार्यक्रमहरु हुनेमा म आशावादी छु ।’

एक्स्पर्ट धनगढी ब्लुजका डाइरेक्टर सुभाष प्रधानले नेपालको क्रिकेट खेल नयाँ स्तरमा विकास हुनुमा एक्स्पर्टको हात रहेको जिकिर गरे ।

नेपालको राष्टिय क्रिकेट टिमका क्याप्टेन तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका ब्राण्ड एम्बसेडर पारस खड्काले नेपाल र अस्टेलियाको क्रिकेटको प्रवद्र्धनमा गरिएका कार्यक्रमहरुप्रति खुशी हुँदै आफू पनि नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न सक्दो प्रयास गर्ने बताए ।

मेल्बर्नको जस्तो क्रिकेट फेस्टिभल सिड्नीमा जनवरी ५ र ६ मा, ब्रिसबेनमा जनवरी १० मा र एडिलेडमा जनवरी १२ मा हुनेछन् ।

अस्ट्रेलिया आएपछि केके गरे पारसले ?

कप्तान पारस खड्काको यसपटकको अष्ट्रेलिया भ्रमण व्यक्तिगत रुपमा दोश्रो हो । उनी सन् २०१५मा नेपालमा विनाशकारी भूकम्प जानुभन्दा दुई दिनअघि मात्रै अष्ट्रेलिया आएका थिए ।

त्यतिबेला नै अष्ट्रेलियाको नेपाली समुदायमा विकसित हुँदै गइरहेको क्रिकेट खेलप्रतिको लगावलाई प्रोत्साहन गर्ने योजना भएपनि महाभूकम्प लगत्तै उनले आफ्नो योजना परिवर्तन गरे । उतिबेला नेपाली क्रिकेट टिमको जर्सी बेच्ने लगायत यहाँको नेपाली र अस्ट्रेलियन समुदायसँग भूकम्प पीडितका लागि अर्थ संकलनमा लागे । त्यतिबेला जम्मा भएको झण्डै ३० हजार अष्ट्रेलियन डलर सिन्धुपाल्चोकमा भूकम्पबाट प्रभावित भएको एक विद्यालयलाई सहयोग गरेको सम्झिदै उनले अनलाइनखबरसँग भने, ‘त्यस्तो विनाशकारी भूकम्प गएको थियो त्यतिबेला क्रिकेटभन्दा भूकम्प पीडितकोलागि राहत प्रमुख हो भन्ने सोचेँ र अर्थ संकलन गर्नमा व्यस्त भएँ । यसपटक भने क्रिकेटको प्रद्र्धनमा मात्रै बित्ने छ ।

शुक्रबार र शनिबार उनी मेलबर्नमा यहाँको नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित स्वागत कार्यक्रम र क्रिकेट भिक्टोरियाका पदाधिकारीसँगको छलफलमा सहभागी भए । आइतबार क्रिकेट महोत्सव सकेपछि मंगलबार अष्ट्रेलियामा जारी बिग बास लिगमा मेल्बर्न स्टार्सका तर्फबाट खेलिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिमलाई ‘चियर अप’ गर्न सयौं नेपालीसहित सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment