Comments Add Comment

घनश्याम भुसालको बदलिएको रंग !

यो पुसमा मौसम चिसिए पनि राजनीतिक सरगर्मी ह्वात्तै बढ्यो । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठकले राजनीतिक माहौल तताइदिए । आफ्नो समयको अद्वीतीय अध्येता, आक्रामक प्रस्तुति, शालीन व्यक्तित्व र खकार साहित्यसमेतको मिसाइल प्रयोग गरी नेता घनश्याम भुसालले नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि घातक र सशक्त हमला गर्नुभयो ।

भुसालको तुलनामा प्रधानमन्त्री ओलीको प्रस्तुतिमा न लालित्य थियो न डेन्डिङ पेन्टिङ । बरु रक्षामक र दयनीय रह्यो । बैठकको अन्त्यतिर आइपुग्दा परिस्थिति बिल्कुल फरक देखियो ।

व्यापारको सार नाफा हो भने राजनीतिको सार सहमति वा बहुमत हो । नेकपाको स्थायी कमिटी प्रधानमन्त्री र सरकारको विपक्षमा गएन । यो अनपेक्षित र स्वाभाविक परिदृश्य पूर्व एमालेबाट नेकपाले विरासतका रुपमा पाएको ओलीको छलाङ र भुसालको ल्याङल्याङबीचको टकरावको परिणाम थियो ।

सत्यसँगको उल्टो सम्बन्ध

घनश्याम कमरेडलाई सत्यलाई स्वीकार गर्न गाह्रो पर्छ । किनकि सत्य र उहाँको भविष्यको विपरीत समन्ध छ । उहाँको महत्वाकांक्षाको मार भोग्न र भागेदार बन्न नेकपालाई बाध्य पारिदै छ । उहाँको स्वार्थ र जोडघटाउसँग जतिसम्म नेकपा जेलिने र जकडिने छ, त्यति नै आफुलाई तेजकरार राख्नुुको सट्टा जुुम्सोको कित्तामा उभ्याइरहने छ ।

सफल नेतालाई सघाउनुु भुसालको कार्यसूचीमा पर्दैन । सत्यले जब दपेट्ने गर्छ तब उहाँ रिसाउँनु हुन्छ र तर्क सिद्धिएको हालतमा पुुगेर भन्नुुहुुन्छ, व्यक्ति खड्ग ओलीबाट शासित हुुन्न । सक्नुहुन्छ भने मलाई कारबाही गर्नुहोस् । व्यक्तिले व्यक्तिलाई कार्यवाही गर्नुु वा नगर्नुु महत्वपूर्ण होइन । इतिहासले कसलाई कार्यबाही गरेको थियो र गर्छ, महत्वपूर्ण कुुरा हो । तेल हेर्नुु तेलको धारो हेर्नुु भनेझै नेकपामा भण्डारी र ओलीको चेला भएकोमा गर्व गर्नेको मात्रा बाक्लो छ । भुुसाल भने विगतमा छहारी लिए पनि सीपी मैनाली र जेएन खनालको नाम लिन घिन मान्ने गर्नुहुन्छ ।

जोसँग आफ्नो गुुरुप्रति गर्व छैन, गुरुको दुुर्दशामा आफ्नो हात रहेकोप्रति लज्जाबोध र जवाफदेहिता छैन, उसलाई अस्वीकृत विद्या बाँड्ने र नयाँ पुुस्तालाई थप भ्रमित पार्ने नैतिक आधार रहँदैन । सीपी मैनाली र झलनाथ खनालपछि भुसालमा पनि आफूलाई समयले थुपारेको अवसरलाई गलत ढंगले बुझ्ने र त्यसको सदुपयोग नगर्ने भ्रमले डेरा जमाएको छ । सेनापति काण्डमा खनालप्रतिको पार्टीपंक्तिको भ्रमको बेलुन फुटेजस्तै भुसालका प्रतिको भ्रम नहटेसम्म नेकपाले ओली छलाङको महत्वबोध गर्न सक्ने छैन र भुसालको ल्याङल्याङले साम्राज्य फैलाइरहने खतरा छ ।

बदलिएको रंग

०६५ सालतिर तक्कालीन पार्टी सत्ताको निरीहता थाहा पाएर पनि ओली खेमाको सीप चलिरहेको थिएन । ओलीका पुराना हतियारबाट तत्कालीन पार्टी सत्ताको किल्लामाथिको हमला प्रभावकारी बन्न सकेको थिएन । मैले अखबारी झडपमार्फत लञ्चर शैलीमा हमला गरेपछि भुसाल कमरेड बाटोमा भेट हुँदा मलाई केही हौसला दिँदै र केही खतरा देख्दै भन्ने गर्नुहुन्थ्यो डरलाग्दो गरी आउनुभयो दयालजीं । हुन पनि संघर्षबाटै आएको मान्छे हो तपार्इं।

०६५ कै अन्त्यतिर भुसाल बदलिनुभयो । शुरुका महिनामा मौन रहनुभएको उहाँ महाधिवेशनको मुखमा मेरा धारणासँग बाझिएर प्रकट हुनुभयो र आठौं महाधिवेशनमा जबजको दलाल नोकरशाही पुँँजीवाद बिरोधी कार्यक्रमलाई चोरी लेखन शैलीमा आफ्नो नयाँ आविश्कार बनाएर प्रकट हुुनुभयो ।

वर्तमान विश्व आम रुपमा पुँजीवादी युगमा छ र नेपाल पनि आम रुपमा पुँजीवादी युगमा छ । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, झलनाथ खनाल, सीपी मैनाली र पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, माधव नेपाल, वामदेव गौतमसम्मले बुझेको नेपाल पनि आम रुपमा पुँजीवादी नै हो । अर्धसामन्ती र अर्धऔपनिवेशिक शोषण त यहाँको विशिष्टता हो । भुसालको भ्रम आमलाई स्वीकार गर्दा वा बढाइचढाइ गर्दा विशिष्टतालाई बिर्सिने देखिएको छ । पूूँजीवादको विश्वव्यापी र नेपालमा समेत विद्यमान आम उपस्थिति पुष्पलाल श्रेष्ठले नै स्वीकार गर्नुभएको छ ।

श्रेष्ठका कुनै पनि रचनामा नेपाल आम रुपमा सामन्ती वा अर्धसामन्ती मुलुक हो भनेको पाइँदैन । हरेक विशिष्ट सत्य आम सत्यमा निर्भर रहने गर्छ । जस्तै– नेपालको सामन्तवाद र दलाल पुँजीवाद साम्राज्यवादको आडभरोसा र साँठगाँठमा टिकेको भन्ने पुष्पलाल श्रेष्ठको व्याख्यालाई भुसाल कमरेडको चैते दलाल पुँजीवादी साहित्यले गलत साबित गर्न सक्दैन । भुसालको छटपटीलाई महत्वाकांक्षाका व्यापारी जतिले आफ्नो उत्थानको चोर बाटोको ठान्ने गरेकाले समस्याले विकराल रुप लिएको छ ।

शुरुमा मलाई उहाँ डरलाग्दो गरी आउनु भयो भन्दा बहसमा उत्रिनु भएको थिएन । माले हुँदै तेस्रो धारसम्मको राजनीतिक पर्यटनका कारण नबएमाले भएकाले शुरुमा उहाँको हामीसँग बहशमा उत्रने नैतिक धरातल नै थिएन । उहाँको हिजोकोे हरुवा गोरुको जस्तो हालत र आजको हान्ने राँगाको जस्तो हाउभाउ हेर्दा एउटा लघुकथाको याद आउँछ ।

बाटोमा एकजना बटुुवा भात पकाइरहेको थियो । केहीबेरपछि अर्को बटुवा आयो । पहिलो बटुवाले दोस्रो बटुवालाई रुखबाट पात टिपेर ल्याइदिन भन्यो । दोस्रो बटुवाले रुखबाट पात टिपेर ल्यायो र सिन्काले दुई टपरी तयार पार्‍यो । पहिलो बटुवाले दोस्रो बटुृवालाई प्रश्न गरेछ– दुई वटा टपरी किन बनाइस् ?

दोस्रो बटुवाले उत्तर दिएछ– तँ पनि त खालास् नि ?

जबजका सुरुवाती समर्थक पहिलो बटुवाजस्तै अच्चमित छन् भने र अंगीकृत समर्थक भुसालको अर्घेलो दोस्रो बटुवाको जस्तो रहेको छ ।

त्रिशूल नीति कि बियर नीति ?

जननेता मदन भण्डारी पालामा बहुुदलीय जनवादी बीचमा दरार थिएन । ओली, नेपाल र गौतमका बीच त्रिशुलको जस्तै एकता थियो । भण्डारीले सहकर्मी मिलाउनुभयो र सफल बन्नुभयो । मैनाली, खनाल र भुसालले जबज पक्षधर बीचमै खेलेर बदला लिएको इतिहास छ । नेतात्रयलाई वियरलाई छचल्काएर उचालेर तथा पोखेर एमालेको शक्ति ऐठन विगतमा पारिएको थियो । अब नेतात्रयको समालिएको संस्करण र निखार कस्तो आउँछ र प्रचण्डले अख्तियार गर्ने नीति त्रिशुल नीति हुन्छ वा बियर नीति के हुुन्छ ? नेकपाको भविष्य यसमा निर्भर हुनेछ ।

खारिएको र थुपारिएको नेतृत्व

खारिएको र थुपारिएको नेतृत्वको अन्तर जान्न क्याराभान वा बहकर संस्कृतितिर जानुपर्ने हुन्छ । भेडी ग्वाला काकाबाबाहरु आज पनि बताउनुहुन्छ, सबै भेडा एउटै हुँदैनन् । भेडा मुख्यतः दुई किसिमका हुन्छन् (१) अगुवा (२) पछुवा । अगुवालाई चाहेर पनि पछि पार्न सकिँदैन र पछुवालाई चाहेर पनि अघि लगाउन सकिँदैन । आँखा सबै भेडाका दुई नै हुन् कान सिङ पनि दुई दुुई नै हुन्, खुट्टा सबैका चार हुन् तर अगुवा भेडामा अनुशासन, साधना, धैर्य र संयम हुन्छ । ऊ चर्ने समयमा मात्र चर्छ, अन्य सामाजिक र निजी व्यवहार गर्छ । हिँड्ने समयमा चर्ने, अलमलिने वा लय र गति गुमाउने गर्दैन ।

पछुवा प्रकृतिको भेडालाई घाँडो लगाइदिएर अगाडि लगाए पनि केही बेरमै पछि परिहाल्छ । बाटोको दायाँबायाँतिर पलाएको डालीमा, खेतको बालीमा आँखा लगाउने भेडो पछाडि पर्छ । ०३९ सालदेखि ०४६ सालसम्म तत्कालीन माले र ०६५ सालदेखि ०७१ सालसम्म तत्कालीन एमालेको जीवन संक्रमणकालीन र गन्जागोलपूर्ण रहनुको मूल कारण कमरेड झलनाथ खनाल थुुपारिएको नेतृत्वको सुन्दर नमुना हुनु थियो भने ०४६ देखि ०५० सालसम्मको चार वर्षको छोटो अवधिमा जननेता मदन भण्डारी र ०७१ देखि ०७४ सम्मको छोटो अवधिमा प्रधानमन्त्री ओलीले एमालेको लागि हानेको छलाङ खारिएको नेतृत्वको उत्कृष्ट दृष्टान्त थियो ।

मदन भण्डारीको नेतृत्व कालमा हासिल भएका उपलब्धि यस प्रकार छन्ः

(क) २०१५ सालदेखि कांग्रेस र कम्युनिस्टबीच हुन नसकेको तालमेललाई संभव पार्दै जनआन्दोलन ०४६ सफल पार्नुु । (ख). वामपन्थीहरुको फुट र विभाजनको अध्यायलाई चुनौती दिने गरी माले र माक्र्सवादीबीच एकीकरण । (ग) ०४७ सालको संविधान निर्माण र आम निर्वाचन ०४७ को प्रचार समयमै सम्पन्न गर्नमा रचनात्मक भूमिका खेल्नु । (घ) मूलतः माक्र्सवाद र संसदवादको विरोधभासको अन्त्य गर्ने गरी माक्र्सवादको नेपाली संस्करणका रुपमा जनताको बहुदलीय जनवाद जस्तो मौलिक सिद्धान्तको प्रतिपादन । (ङ) ०४८ सालको आम चुनावमा एमालेलाई वैकल्पिक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सक्नु ।

ओलीकालीन एमालेले हासिल गरेका उपलब्धिपूर्ण उपलब्धिहरु यस प्रकार छन्ः

(क) भूकम्पको पछिको राहत, उद्दार र पुननिर्माणमा देखाएको जनसेवामार्फत एमाले नै जनताको भरपर्दो दुःखको साथी हो भन्ने सन्देश प्रवाह गर्न सक्नु । (ख) संविधान निर्मांणको निमित्त चाहिएको आँट, हुटहुटी, दबाब, राष्ट्रिय सहमति र सहकार्यको आपूर्ति गर्न सक्नु । (ग) संविधानको घोषणा अघि र पछिका दबाब धम्की र हस्तक्षेप र नाकाबन्दीको सामना गर्न सक्नु र जनताको देशभक्तिपूर्ण प्रतिरोधी आन्दोलनको कुशल अगुवाई गर्नु । (घ) संविधानको कार्यान्वयन र तिनै तहको चुनावमा सम्पन्न गर्न नेतृत्वदायी र दबाबमूलक भूमिका । (ङ) स्थानीय निकायको चुनावमा एमालेलाई देशकै ठूलो दलका रुपमा स्थापित गर्न सक्नु । (च) वामपन्थी गठबन्धन निर्माण । प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा हासिल गरेको सफलता । .(छ) एमाले र माओवादीबीचको ऐतिहासिक एकता ।

यो तथ्य भुसाललाई स्वीकार्य र सैह्य छैन । महत्वाकांक्षासँग ठोक्किने हरेक सत्यमाथि धाबा बोल्ने बानी परेकाले उहाँको तम्तयारी जवाफ यस्तो हुुन्छ, मेरो अध्ययनले त्यसो भन्दैन । यसबारेमा म जति पनि बहस गर्न तयार छु ।

निष्कर्ष

एउटा बैठकले मात्र सबै कुुराको स्थायी समाधान दिने होइन । नेकपाको भविष्य पूर्वएमालेको नटुंगिएको महाभारतको निकासमा निर्भर रहेको तथ्यलाई भने स्थायी कमिटी बैठकले सतहमा ल्याएको छ ।

महाभारतका अद्वितीय योद्धा वर्वरिकबिना नै महाभारत युद्ध समापन भए जस्तै मदन भण्डारीको चार वर्षे नेतृत्वकाल र केपी ओलीको चार वर्षे नेतृत्वकालमा एमालेले छलाङ हान्यो । तर, नेताद्वयलाई भुसालको वैचारिक, संगठनात्मक र राजनीतिक सहयोग नरहेर उल्टै असहयोग रहेको तितो यर्थातको पिँधसम्म नपुगेसम्म समाधानका हरेक प्रयास टालटुले हुनेछन् ।

मान र शान मात्र होइन पूर्व नेकपा एमालेको अपमान पनि बेहोरेकै हो । दिल्लीमुखी र दरबारमुखीको आशंका पनि एमालेमाथि नगरिएको होइन । कांग्रेसको पुुच्छर र माओवादीको खेलौना जस्तो पनि एमाले नदेखिएको होइन । ओली नेतृत्वको चार वर्षे छोटो अवधिमा एमालेले यी सबै आशंका र अपमानको मैलोधैलो पक्ष पखाल्न सक्यो र सबै शक्ति केन्द्रहरुको ओठतालु सुकाइदियो । एमालेको पोष्टमा आएर कांग्रेसले गोल छरिाउने गथ्र्यो । वामपन्थी नेताहरु बीचमै आत्मघाती गोलवर्षा गर्ने होड चल्थ्यो ।

कांग्रेसलाई प्रकारान्तरले पतिदेव मानेर एमाले र माओवादीबीच जेठीकान्छी सौताको जस्तो राग थियो । ओलीको नेतृत्वकालमा स्थिति उल्टिएको छ । श्रेय पाउनुुपर्नेमा सत्तोसराप र घेराबन्दीको सामना ओलीले गर्नुु परेको छ । गुुट झुल बाहिरको लामखुट्टे बनेको झोक अनेक बहानामा प्रकट हुने गरेको छ । नेता भिडाएर सिँडी चढ्ने महत्वाकांक्षाका व्यापारी वकालती पेशा चम्काउन आमाबाबुको पारपाचुुके पत्र लेख्न नहच्किने कुनै वकिल जस्तै धुुन्धकारी बन्न सक्छन् तर पार्टीले विवेक गुमाउनु हुुँदैन ।

०१५ साल, ०४८ र ०५६ सालमा कांग्रेसले पाएको जनमतको गर्न नसक्नुुमा होस् कि ०५४ सालमा एमाले विभाजन हुनुमा होस्, वा ०७० सालमा माओवादी जनताको कोपमा परेको घटनामा होस् आन्तरिक बेमेल र बिजय उन्माद मोटा कारण थिए ।

नेकपाले मिल्न सके पुुग्छ । नेपालको सन्दर्भमा मिल्न सक्ने पार्टी नै विशेष धातुुले बनेको पार्टी हो । सत्तारुढ दलका शीष नेताहरु नमिल्दा नोक्सान भोग्नुुपर्ने उनीहरुको पार्टीले मात्र हो । तर, नेता मिल्न सके जनताले जित्छन् र देशले काँचुली फेर्छ ।

(लेखक नेकपाका कार्यकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment