Comments Add Comment

दुई महिनामा ७० हजार भन्दा बढीले अवलोकन गरे श्रीपेच

१६ पुस, काठमाडौं । खुला गरिएको दुई महिनामा ७० हजार भन्दा बढीले श्रीपेचको अवलोकन गरेका छन् । पछिल्लो कार्तिक र मंसिरमा ७० हजार १ सय ५० जनाले श्रीपेच अवलोकन गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालयकी सूचना अधिकृत ज्योति केसी रावलका अनुसार संग्रहालय प्रवेश गर्ने हरेकले श्रीपेच अवलोकन गर्ने गरेका छन् ।  अहिले दैनिक १५ सय जना नारायणी दरबार संग्रहालय अवलोकनका लागि आउने गरेको सूचना अधिकृत रावलले बताइन् ।

श्रीपेच सर्वसाधारणका लागि खुला गरिएपछि संग्रहालय अवलोकनकर्ताहरुको संख्या पनि हृवात्तै बढेको छ । जसले गर्दा राजस्व संकलन समेत बढेको छ ।  कार्तिक र मंसिरमा संग्रहालयले ६३ लाख ८८ हजार ७ सय ७५ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकृत रावलले जानकारी दिइन् ।

उनका अनुसार त्यसअघि भदौ र असोजमा ३९ लाख २९ हजार ४ सय ७५ राजस्व संकलन भएको थियो ।  नारायणीहिटी संग्रहालयको प्रवेश शुल्क विद्यार्थीका लागि रु २०, आम सर्वसाधारणका लागि रु १००, सार्क राष्ट्र र चिनियाँ नागरिकका लागि रु २५० र वाह्य देशका नागरिकका लागि ५०० रुपैयाँ छ । विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संग्रहालय खुला रहनेछ ।

श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा जडित छन् । श्रीपेचको पछाडि झुण्डिने आकर्षक कल्की दुर्लभ मानिने ल्याटीन अमेरिकी चरा बर्ड अफ प्याराडाइजको पुच्छरबाट बनेको हुन्छ ।

२०६२/६३ को जनआन्दोलनसँगै राजतन्त्र अन्त्य भयो । अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडे । त्यसपछि २०६५ फागुन १५ गते नारायणहिटीलाई संग्रहालय बनाइयो ।

तर, लामो समयसम्म श्रीपेच लगायतका अन्य सामग्री सार्वजनिक गरिएको थिएन ।  सुरक्षाको प्रवन्ध गरिएपछि गत २९ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच, राजदण्ड र अन्य सामग्रीको औपचारिक उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment