Comments Add Comment

वीरगञ्जमा आजबाट हर्न र प्लास्टिक निषेध, अटेरी गरे जरिवाना

१७ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई आजबाट हर्न र प्लास्टिक निषेध गरिएको छ । महानगरलाई सभ्य, सुसंस्कृत, सफा राख्न उसले हर्न र प्लास्टिक निषेध गरेको हो ।

महानगरको मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगञ्ज महानगरपालिकालाई पुस १७ बाट हर्न निषेध र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप हर्न र प्लास्टिक निषेध गरेको महानगरपालिकाले जनाएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुई चरणमा अभिमुखीकरण तथा पूर्वतयारी बैठक समेत सञ्चालन गरेपछि महानगरपालिकाले आज सचेतनामुलक कार्यक्रम गरेको छ ।

आज महानगरपालिकाका ३२ वटै वडामा समुदाय प्रहरी साझेदारी वडा समितिको नेतृत्वमा बिहान ७ः३० बजे देखि ८ बजेसम्म आधा घण्टा सरसफाइ अभियान संचालन गरेको थियो ।सो क्रममा प्लाष्टिक, कागज लगायतका हातले टिप्न मिल्ने फोहोर संकलन गरिएको महानगरपालिकाले जनाएको छ ।

अभियानमा सहभागीहरुले ‘मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटोलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । त्यस्तै सवारी साधनहरुलाई हर्न नबजाउन अनुरोध गर्दै यसका वेफाइदाबारे सचेत गराइएको थियो ।

अभियान सफल बनाउन महानगरपालिकाले नगर क्षेत्र प्रवेश गर्ने सबै नाकाहरुमा सचेतनासम्बन्धी बुकलेट वितरण गर्ने तयारी गरेको छ ।

पहिलो एक साता सम्झाउने तर अटेर गरेको खण्डमा दण्डात्मक उपाय अपनाउने नीति अख्तियार गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषालले जानकारी दिए ।

‘नगरबासीले आफ्नै लागि हो, हामीले सक्छौं भन्ने भाव देखाएर सहयोग गर्नुभयो भने राम्रै हुन्छ,’ उनले भने ‘होइन भने पुस २४ देखि महानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले दण्डात्मक उपायहरुको स्वीकृत कार्यविधि कार्यान्वयनमा ल्याउँछ ।’

महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई चार थान गोप्रो क्यामरा उपलब्ध गराएको उनले बताए ।

वीरगञ्जमा एकदमै गुट्खाको व्यापार हुने गरेको छ । वैध बाटोभन्दा बढी अवैध रुपमा भित्रिने गुट्खाका स–साना प्लाष्टिक प्याकेट सफाइमा चुनौती बनेको छ । गुट्खा सेवन गर्नेले गुट्खा खाएर जथाभाबी फालिदिँदा नाला समेत जाम हुने गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले प्लाष्टिक जथाभावी फाल्नेको फोटो खिचेर महानगरपालिकालाई दिएको खण्डमा उसलाई गरिने जरीवानाको २५ प्रतिशत दिने घोषणा गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वार्षिक १२ करोड खर्च गर्दा समेत महानगरपालिका सफा हुन नसकेकोले अब कारबाहीको बाटो अपनाउने बताए । ‘फोहोरी र कोलाहाबाट वीरगञ्जलाई मुक्ति दिन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्छौं । त्यसपछि बढाउँदै १ लाखसम्म लिन्छौं’, मेयर सरावगीले भने । सरावगीले वीरगञ्ज महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा रोक्ने समेत चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment