Comments Add Comment

पाँच पूर्वप्रधानमन्त्रीलाई ढाका टोपी लगाइदिएर मनाइयो नेपाली टोपी दिवस

१८ पुस, अमेरिका । मंगलबार देशभर नागरिकस्तरबाट टोपी दिवस मनाइँदा प्रवासी नेपालीहरुले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाए ।

नेपाली टोपीको संरक्षणमा जुटेको नेपाली टोपी प्रतिष्ठानले भने पृथक ढंगले यस वर्षको टोपी दिवस मनाएको छ । केही वर्षदेखि टोपी संरक्षणमा जुट्दै आएको प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरुलाई ढाका टोपी लगाइदिएर दिवस मनाएको हो ।

प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भटराईलाई टोपी लगाउन मंगलबार उनीहरुको निवास पुगेका थिए ।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले अभियान थालिएको भन्दै प्रशंसा गरेका थिए । उनले उक्त अवसरमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धतासमेत जनाएको प्रतिष्ठानका एक पदाधिकारीले बताए ।


कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री देउवाले नेपालको सांस्कृतिक महत्त्व बोकेका यस्ता कार्यक्रमले नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने बताए । पूर्वप्रधानमन्त्रीहरु नेपाल, खनाल र डा. भटरार्इले पनि यस अभियानलाई सकारात्मक रुपमा लिँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालीकोे पहिचान जोगाउन अभियानले सहयोग विश्वास व्यक्त गरेका थिए ।

३९ देशमा नेपाली टोपी प्रतिष्ठान

अभियानलाई ब्यापक बनाउन गत वर्ष संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले, शंकर बन्जाडेलगायतको पहलमा गैर नाफामुलक नेपाली टोपी प्रतिष्ठान गठन गरिएको छ । यस वर्ष टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको पहलमा ३९ देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले विश्वभरका नेपाली नागरिक एवं नेपाली मूलभाषीहरुले सर्वमान्य रुपमा प्रयोग गर्दै आएको नेपाली टोपीलाई सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय पहिचानको मान्यता प्रदान गर्ने गरी नेपाली टोपी दिवसको रुपमा स्थापित गरिदिन पूर्वप्रधानमन्त्रीहरुलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।

जवाफमा पूर्वप्रधानमन्त्रीहरुले सकारात्मक प्रतिक्रिया दिएको अभियन्ता काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment