News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको शे-फोक्सुण्डो तालनजिकै रिग्मो गाउँका स्थानीयले सडक, स्वास्थ्य सेवा र शिक्षा अभावका कारण ठूलो सास्ती भोगिरहेका छन्।
- वडाध्यक्ष निमा लामाका अनुसार जटिल बिरामी वा दुर्घटनामा हेलिकप्टर बोलाउनुपर्छ, जसको खर्च १०–१२ लाख रुपैयाँ पर्छ।
- शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार ताल अवलोकन गर्ने पर्यटक बढेपछि गाउँमा होमस्टे खुलेका छन् र यो स्थानीय आम्दानीको स्रोत बनेको छ।
२३ कात्तिक, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो ताल (३६३९ मि.) नजिकै दक्षितणतर्फ छ, रिग्मो गाउँ । ढुंगा र काठले बनेका परम्परागत घरहरू छन् । हिमाली संस्कृति र निलो तालसँगै रिग्मो गाउँ पनि पर्यटकको आँखामा पर्छ । घरहरूमा रेष्टुरेन्ट र होमस्टे छन् । पर्यटकका कारण चहलपहल र रमाइलो हुन्छ ।
तर तालको आडैमा रहेको यो रिग्मो गाउँका स्थानीयका दुःख भने अर्कै छन् । रिग्मो प्रवेश गर्ने बित्तिकै भेटिइन् पेम्बा डोल्मा गुरुङ (६२) ।
‘सर औषधि छ ? यहाँ औषधि पाइएन । तेल लगाएर पनि भएन । औषधि दिनु होला,’ स्थानीय लवजमा हातको औँला देखाउँदै उनले समस्या सुनाइन् । उनको घर नजिकै आधारभूत स्वास्थ्य सेवा केन्द्र छ । तर दशैंको बिदाका कारण खुलेको थिएन । खुले पनि औषधि नपाइने गुनासो उनले गरिन् ।
अस्पताल पुग्नै सकस
गत चैतमा रिग्मो गाउँका चुपुर लामा (६५) बिरामी परे । सदरमुकामा दुनैबाट जिपमा सुर्खेतसम्म र सुर्खेतबाट काठमाडौं जहाजमा आउनु पर्यो । ‘यहाँ उपचार हुँदैन । छाती र पेट दुखेको सामान्य औषधि हुन्छ । घुँडामा समस्या भएपछि उपचार गर्न काठमडौं गएको हो । तर अस्पताल पुग्न नै ठूलो खर्च लाग्यो,’ उनले भने ।
शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर-८ मा पर्छ यो गाउँ । वडाध्यक्ष निमा लामाको घर पनि रिग्मोमै छ ।
वडाध्यक्ष लामाका अनुसार जटिल बिरामी वा दुर्घटना हुँदा हेलिकप्टर नै बोलाउनु पर्ने बाध्यता स्थानीयको छ ।

‘जटिल बिरामी हुँदा सदरमुकाम दुनै जाने हो । दुनैमा पनि भएन भने काठमाडौं जानुपर्छ,’ उनले भने, ‘सडक छैन । यहाँ गाडी आउँदैन । हेलिकप्टरबाट अस्पताल पुर्याउन मात्र १०-१२ लाख खर्च हुन्छ ।’
संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकमा राखेको छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने भनिएको छ ।
तर यहाँका स्थानीय आधारभूत स्वासथ्य सेवाबाट नै वञ्चित छन् । ‘गर्भवती महिलालाई पनि समस्या छ । हेलीबाट लैजाने गरेको छ । गाह्रो भइसकेको हुन्छ । अस्पताल पुग्न ढिला हुन्छ,’ स्थानीय शिक्षिका सेरापलामू रोकायले भनिन् ।
रिग्मोमा पुगेको छैन सडक
सदरमुकाम दुनैबाट दुई दिन हिँडेपछि रिग्मो पुगिन्छ । सडक यातायात सुविधा नभएका कारण बिरामीलाई समयमा अस्पताल पुर्याउन कठिन भएको स्थानीयले सुनाए ।
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ ।

तर, डोल्पाली भने स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेका छैनन् । ‘पैसा हुनेले हेलीमा लैजान्छन् । नहुनेले ज्यान गुमाउनु पर्छ,’ वडाध्यक्ष लामाले भने । उनका अनुसार बिरामीको उद्धारमा डोको र स्ट्रेचरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
मुलतः शे-फोक्सुण्डो गाउँपालिका सडक सञ्जालमा नजोडिएकाले समस्या भएको उनले बताए । ‘दुनै-सुलिगाडदेखि नै बाटो छैन । सडकको लागि पहल गरेको हो । प्रदेश र केन्द्र सरकारलाई बारम्बार भन्दा पनि सुनुवाइ भएको छैन,’ वडाध्यक्ष लामाले भने, ‘यहाँ आइपुग्न धेरै कठिन छ ।’
भीमकाय पहाड छिचोल्दै रिग्मो पुग्नुपर्छ । यहाँको यातायात भन्नु नै खच्चड हो । खाद्यन्नको ढुवानी र हिँड्न नसक्नेलाई खच्चडले बोकेर गन्तव्यसम्म पुर्याइन्छ ।
‘पहिलो प्राथमिकता सुलिगाडदेखि यहाँसम्म सडक चाहिएको छ । आँखा चिम्लेर हिँड्न सक्ने बाटो हुनुपर्छ,’ अध्यक्ष लामाले भने, ‘शे-फोक्सुण्डो ट्रेकिङ आउनेका लागि सहज हुने बाटो आवश्यक छ ।’
ईसीडी मात्र पढाइ
रिग्मो गाउँमा छ, गोविन्द आधारभूत विद्यालय । २०१८ सालमा बनेको यो विद्यालयमा अहिले बाल कक्षा (ईसीडी) मात्र चलेको छ । ‘माथिल्लो कक्षामा विद्यार्थी नै छैनन् । दुई घण्टा तल अर्को स्कुल छ त्यहाँ होस्टेलमा बसेर पढ्छन् । यहाँ ईसीडीमा ७ जना विद्यार्थी छन्,’ शिक्षिका सेरापलामू रोकायले भनिन् ।

विद्यार्थी नभएपछि दरबन्दीका शिक्षकलाई अर्को विद्यालयमा व्यवस्थापन गरिएको उनले बताइन् । कतिपयले काठमाडौंमा होस्टेलमा राखेर बालबालिकालाई पढाउने गरेका छन् ।
‘५ कक्षासम्म पढाइ गर्नुपर्ने हो । बल्ल ईसीडीको सुरु भएको छ,’ वडाध्यक्ष लामाले भने, ‘यहाँ शिक्षा, स्वास्थ्य र सडकको समस्या छ ।’
रिग्मो बस्ती विकास कार्यक्रम
रिग्मो गाउँ कहिलेदेखि बस्यो भन्ने यकिन छैन । तर वडाध्यक्ष लामाका अनुसार गुम्बाको पुस्तक ६ सय वर्ष पहिले भेटिएको छ ।
‘गुम्बाको पुस्तकको आधारमा पनि ६ वर्ष पहिले बस्ती बसेको अनुमान गर्न सकिन्छ,’ उनले भने । शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर-८ मा ७ सयको हाराहारीमा जनसंख्या रहेको छ ।
त्यसमध्ये रिग्मो गाउँमा ६२ घरधुरीमा ४ सय जनसंख्या रहेको उनले बताए । उनका अनुसार कर्णाली प्रदेश सरकारले रिग्मो बस्ती विकास कार्यक्रम ल्याएको छ ।

२०८२ मा मुख्यमन्त्री यमलाल कँडेलले कार्यक्रमको शुभारम्भ गरेका थिए । तर यो कार्यक्रम द्रुत गतिमा भएको छैन ।
‘४० करोड बजेटमा बस्ती विकास गर्ने भनेर कार्यक्रम आएको छ । सजिलो ठाउँमा तलतल बाटो बनाउन थालेको छ । गाउँको अफ्ठ्यारो बाटोमा काम भएको छैन । काम एकातिर कुम्लोबोकी अर्कोतिर भएको छ,’ वडाध्यक्ष लामाले भने, ‘रिग्मो गाउँमा भने काम भएको छैन ।’
यो कार्यक्रम रिग्मो बस्तीको कला, संस्कृति, र पर्यटनको विकास गर्न ल्याइएको हो । शे-फोक्सुण्डो पदमार्ग बनाउने, सडक विस्तार गर्ने, प्रतीक्षालय बनाउने, रिग्मो संग्राहलयदेखि बस्तीमा तटबन्ध बनाउनेसम्मको योजना रहेको छ ।

‘शे-फोक्सुण्डो तालको नजिक रहेको रिग्मो प्राचीन बस्तीलाई संरक्षण गर्ने र पर्यटनको विकास गर्ने योजना हो,’ उनले भने ।
रेग्मो गाउँमा कादुरी संस्थाको सहयोगमा बिजुली उत्पादन गरिएको छ । अध्यक्ष लामाका अनुसार १ अघि ७० करोडको हाराहारीमा बिजुली उत्पादन गरिएको हो । अहिले गाउँमा बत्ति बल्छ तर इन्टरनेट र टेलिफोन टावरको समस्या छ । ‘फोन लाग्छ तर राम्रो छैन । फोरजीको टावरको लागि सरकारसँग अनुरोध गर्छु,’ उनले भने ।
आम्दानीको स्रोत यार्सागुम्बा, खाद्यन्न किन्नु पर्छ
यस क्षेत्रका स्थानीयको आम्दानीको स्रोत यार्सागुम्बा हो । वडाध्यक्ष लामाका अनुसार यो वर्ष यार्साको पनि मूल्य कम भएको छ । ‘अघिल्लो वर्ष २०-३० लाखको यार्सा बेच्नेले यो वर्ष १२-१५ लाखमा बेच्नु पर्यो । मूल्य नै आएन,’ उनले भने ।
यही यार्सा बेचेर अन्य खाद्यन्न किनेर चुल्हो बाल्ने गरेको स्थानीय बताउँछन् ।

‘फापर, आलु हुन्छ । वर्षभरि खान पुग्दैन । नुनदेखि तेलसम्म किन्नपर्छ । खच्चडमा बोकेर ल्याउनुपर्छ,’ स्थानीय चुपुर लामाले भने । कृषकले चौंरी, भेडाबाख्रा र खच्चड पालेका हुन्छन् ।
‘यहाँ उत्पादन गरेर वर्षभरी खान पुग्दैन । खाद्यन्न किन्नुको अर्को विकल्प हुँदैन,’ वडाध्यक्ष लामाले भने ।
बढ्दै पर्यटक, घरघरमा होमस्टे
शे-फोक्सुण्डो अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछि तालनजिकै होटल र गाउँमा होमस्टे खोलिएको छ । स्थानीयको आम्दानीको स्रोत बनेको छ ।
‘४ वर्ष यता आन्तरिक पर्यटक आउन थालेका छन् । पहिले कहिलेकाहीँ विदेशी मात्र आइपुग्थे,’ अध्यक्ष लामाले भने, ‘दशैं, तिहारको बिदामा नेपाली धेरै आउँछन् ।’

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ र आर्थिक वर्ष ०८२/८३ मा ७ हजार २३२ पर्यटकले तालको अवलोकन गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ७३८ जना पुगेका छन् । शे-फोक्सुण्डो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । जसका कारण यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि एक प्रमुख आकर्षणको केन्द्र बनेको छ । सदरमुकाम दुनैसम्म काठमाडौंदेखि नै सार्वजनिक बस चल्न थालेपछि यो क्षेत्रमा आन्तरिक पर्यटक धेरै जान थालेका हुन् ।
छैन हिमालमा हिउँ
६५ वर्षका चुपुर लामाले बाल्यकालमा वरिपरिका डाँडामा हिउँ नै हिउँ देख्थे । तर, अहिले उनका आँखा अगाडि काला पहाड मात्र देख्छन् ।
‘८-९ वर्ष भयो हिउँ नभएर कालो भएको छ । यो सिजनमा हिउँ परिसक्नु पर्ने हो परेको छैन,’ उनले भने, ‘पहिलो हिमालबाट चिसो आउँथ्यो । अहिले त तातो हुन्छ । अहिलेभन्दा पहिले धेरै राम्रो थियो नि ।’ वडाध्यक्ष लामा ग्लोबल वर्मिङको असर हिमालमा परेको बताउँछन् । ‘मौसम परिवर्तनको असर परेको छ । पहिले जस्तो हिँउ परेको छैन । तापक्रम बढेको छ,’ उनले भने ।



प्रतिक्रिया 4