Comments Add Comment

पुस्तक अंशः खलंगामा माओवादीको प्रतिकार

जुम्लामा सेनाले ब्यारेकबाहिर निस्केर लडेको भए प्रहरी र सरकारी कार्यालयमा जुन परिमाणमा क्षति भयो, सायद त्यति हुँदैनथ्यो । भोलिपल्ट आक्रमणपछिको जुम्ला देख्दा त्यस्तै लाग्थ्यो ।

अञ्चल प्रहरी कार्यालय, सिडिओ कार्यालय, एयरपोर्ट टावर, बैङ्कलगायतका सरकारी कार्यालय जलेर ध्वस्त भएका थिए भने कारागारबाट समेत कैदीहरू भगाइएको अवस्था थियो । कुनै संरचना सुरक्षित बचेको थियो भने त्यो सेनाको गुल्ममात्रै थियो ।

आक्रमणमा झन्डै चार दर्जन सुरक्षाकर्मी मारिएका थिए भने कैयौं घाइते भए । मेरो पहिलो काम र प्राथमिकता सधैं घाइतेलाई सकभर समयमै उपचारका लागि उद्धार गरौं भन्ने हुन्थ्यो । त्यस दिन पनि मैले जुम्लाका घाइते सुरक्षाकर्मीहरूलाई सबैभन्दा पहिले नेपालगञ्ज ओसारें ।

नेपालगन्जबाट पुनः जुम्ला फर्किनु थियो । प्रधानसेनापति प्यारजङ्ग थापा पनि जुम्ला आक्रमणको निरीक्षणमा जाने तयारीमा रहेछन् । उनी पनि हामीसँगै जाने भनेपछि सँगै उड्यौं । ‘सेनाले बडो साहसका साथ लड्यो’ भनेर एक जना मेजर चिफलाई ब्रिफिङ गर्दै थिए । तर जुम्लामा जहींतहीं प्रहरीहरूका लासहरू छरिएका देखिन्थे ।

न्यायाधीश गौरीबहादुर कार्की (विशेष अदालतबाट अवकाशप्राप्त) लुगलुग काँपिरहेका थिए । उनी चिफ नजिकै आए र भन्न थाले, ‘सिडिओ सा’बले प्रहरीको बङ्करमा लुकेर ज्यान जोगाउनुभयो ।’ आक्रमण भइरहँदा सेनाले उडाएको नाइटभिजन हेलिकप्टरले भने निकै सहयोग पुर्‍याएछ । हेलिकप्टरबाटै ‘बम बार्डिङ’ पनि भएछ । सेनाका पाइलट सुधीर श्रेष्ठले उक्त नाइटभिजन उडाएका थिए । आक्रमण शुरु भएपछि उडेका उनी माओवादी पछाडि नहट्दासम्म बिहान ४ बजेसम्म आकाशमै रहेछन् ।

दाङको घोराहीपछि माओवादीले अञ्चलस्तरीय आक्रमण जुम्लामा गरेको थियो । जहाँ माओवादीतर्फ पनि ठूलो क्षति पुगेको थियो । आक्रमणका लागि आउँदै गर्दा बाटोमा एक दर्जन छापामार हिउँले पुरिएर मरेछन् । जुम्ला सदरमुकाम पुगेर आक्रमण शुरु गर्नेबित्तिकै सुरक्षा फौज भन्ठानेर एकापसमै हानाहान गर्दा थप दुई छापामार मारिएको पछि थाहा भयो ।

भिडन्तका क्रममा पनि झन्डै साढे दुई दर्जन छापामार मारिएपछि माओवादी पछि हटेको थियो । घाइते बोकेर फर्कंदै गर्दा उनीहरू कालिकोट र जुम्लाकै रारालिही क्षेत्रतर्फ गइरहेको आकाशबाट प्रस्टै देखिन्थ्यो ।

कर्णेल प्रमोद लामासहित हामी बिहानै ९ बजे जुम्ला पुगेका थियौं, पहिलोचोटि । त्यही बेला रुकस्याक बोकेका माओवादी जत्था रारालिहीतर्फ जाँदै गरेको देखियो । त्यसैले प्रधानसेनापतिलाई लिएर जाँदै गर्दा मैले ठाउँ-ठाउँमा फोर्स ‘ड्रप’ गर्न सकिए छापामारहरूलाई रोक्न सकिने बताएको थिएँ ।

सेना ठाउँ-ठाउँमा सैनिक फोर्स परिचालन गर्न तयार भएपछि मैले नै विभिन्न पाँच नाकामा लगेर छोड्ने प्रस्ताव राखें । जुम्लाकै दक्षिण-पश्चिममा पर्ने ताम्ती, रारालिही जाने बाटो, फापरबारी आदि ठाउँमा अत्यन्त अप्ठेरोका बीच सैनिक डˆफालाई अवतरण गराइएको थियो ।

तर सैनिकहरू झारिएको ठाउँबाट एक कदममात्र पनि अघि बढ्न मानिरहेका थिएनन् । जसका कारण अपरेसन खासै प्रभावकारी नभएको सैन्य अधिकारी स्वयम् बताउँथे । ताम्ती र रारालिहीमा छोडिएका समूहहरूले चाहिँ माओवादीले लुटेको केही पैसा र हतियार फिर्ता ल्याएका थिए ।

(क्याप्टेन रामेश्वर थापाको संस्मरण पुस्तक ‘बारुदमाथि उड्दा’ को एक अंश । शीर्षक हामीले दिएका हौं । यो पुस्तक बुक-हिलले आजैदेखि बजारमा ल्याएको छ- सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment