Comments Add Comment

प्रधानमन्त्रीको एक घण्टा सम्बोधन : वाइडबडी र रेशम चौधरीबारे चुप

२२ पुस, काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब एक घण्टा सम्बोधन गरे । सरकारका कामकारबाही र त्यसमा उठेका प्रश्नबारे जवाफ दिएका उनी यसै हप्ता सरकार जोडिएको दुई महत्वपूर्ण विषयमा भने मौन रहे ।

प्रधानमन्त्री ओली वाइडबडी विमान खरिद प्रकरण र कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीको सपथबारे मौन बसेका हुन् । लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । तर, सरकारले त्यसमा प्रश्न उठाउँदै न्यायिक जाँचबुझ आयोग बनाएको छ ।

उपसमितिको प्रतिवेदनबारे लेखा समितिले निर्णय गर्न नपाउँदै सरकारले छुट्टै आयोग बनाएको र अख्तियारलाई बाइपास गरेको भने विपक्षी दलका नेता शेरबहादुर देउवाले समेत प्रश्न उठाएका थिए ।

तर, प्रधानमन्त्री यसबारे मौन रहे ।

यस्तै फौजदारी मुद्धाका अभियुक्त रेशम चौधरीलाई सपथ गराएको भन्दै सरकारको आलोचना भएको थियो । यसमा सपथ खुवाउने ठीक बेठीक मात्र होइन, अहिले सपथ खुवाउनु थियो भने एक वर्षसम्म किन रोकियो भन्ने प्रश्न छ । तर, प्रधानमन्त्री यस विषयमा पनि प्रवेश गरेनन् ।

उनले सम्बोधनका क्रममा आफू कुनै तर्कहरु र रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै आफ्नो भनाइ राखेका थिए ।

प्रधानमन्त्रीले भने, ‘म कुनै तर्कहरुमा अल्झिरहन चाहन, त्यसैले आज यस सम्मानित सदनमा उठेका वा उठाइएका रंगीविरंगी प्रश्नलाई संबोधन गर्न भन्दा पनि यस आर्थिक वर्षका नीति कार्यक्रम र बजेट कार्यान्वयनको स्थििति बारेमा संक्षिप्तमा चर्चा गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment