Comments Add Comment

निर्मलालाई न्याय अराजक भीडले होइन, सरकारले दिन्छः प्रधानमन्त्री

२२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको अभियानमा सहभागी हुन प्रतिपक्षलाई आग्रह गरेका छन् । आइतबार संसदमा एक घन्टा लामो वक्तव्य दिएका उनले सरकारको १० महिने कामकारवाहीको जानकारी दिए ।

पूर्णत लिखित सम्बोधन गरेका प्रधानमन्त्री वाइडबडी प्रकरण र रेशम चौधरीको सपथबारे भने मौन बसे । प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता एवं सांसदहरुले विभिन्न समयमा सरकारबारे टिप्पणी गर्दै उठाएका अरु प्रश्नको भने जवाफ दिए ।

जवाफ नम्बर एक : कर्मचारी समायोजन

कांग्रेसले कर्मचारी समायोजन अध्यादेशबारे प्रश्न उठाएको थियो । संघीय ऐन ल्याएर सुल्टो बाटो हिँड्नुको साटो सरकारले समयोजन अध्यादेश ल्याएको र कर्मचारीलाई घोक्र्याएर तल्लो तहमा पठाउन खोजेको कांग्रेसको आरोप थियो ।

प्रधानमन्त्री ओलीले भने “पानीलाई धमिलो पार्ने र धमिलोमा माछा मार्ने” रहर नगर्न सुझाव दिएका छन् । देउवा सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकतर्फ संकेत गर्दै उनले भने, ‘अनिवार्य या स्वेच्छिक अवकासको बाटोमा गएको भए मुलुकले अनावश्यक ५०/६० अर्बको व्ययभार सदाका लागि बोक्नु पथ्र्यो । उमेर भएका राष्ट्रसेवक कर्मचारीलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्थ्यो ।’

आधिकारिक युनियनसँग भएको सहमतिकै आधारमा समायोजन प्रक्रिया अघि बढेको उनले बताए ।

जवाफ नम्बर दई : कपीराइटको कुरा !

विपक्षी दलका नेता शेरबहादुर देउवाले नै संसदमा उभिएर योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा प्रश्न उठाएका थिए । आफ्नो पालामा ऐन बनेको र ओलीले कार्यान्वयन गरेको भन्दै उनले सबै आफूले गरेको जस्तो नगर्न ओलीलाई सुझाव दिएका थिए ।

जवाफमा ओलीले आफू कपीराइट बहसमा नउत्रने र जस जो कोहीले लिए फरक नपर्ने बताए । ‘मेरा मित्र पूर्वप्रधानमन्त्रीले त यसै सदनमा प्रश्न गर्नु भयो– “सामाजिक सुरक्षा हामीले हाम्रो पालामा ल्याएको हो, अहिले प्रधानमन्त्रीले आफूले ल्याएको भन्ने ?’ उनले भने, ‘यसमा अप्ठ्यारै मान्नुपर्ने, मुखै लुकाउनुपर्ने कुरा कहाँबाट आयो ? जस, जो कोहीले लिनुस्, लिनु भए हुन्छ ।’

‘मेरो भनाइ यत्ति मात्र हो, गएको मंसिर ११ गतेबाट मैले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएँ, सबैले राम्रोसँग थाहा पाउने गरी । र, यो नयाँ युगको शुरुवात हो ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

जवाफ नम्बर तीन : पानीजहाज

प्रधानमन्त्री ओलीले पुस १५ सम्म पानीजहाज चल्ने भन्दै १६ गतेको टिकट काट्न सांसदहरुले संसदबाटै निम्तो दिएका थिए । तर, उनको बाचा पुरा नभएपछि विपक्षी सांसदहरुले पानी जहाजको टिकट कहाँ काट्ने हो भन्दै व्यग्य गरेका थिए ।

आइतबार प्रधानमन्त्रीले त्यसको पनि जवाफ दिए । आफूले नेपालीको रेल सपनालाई पूरा गर्न प्रयत्नशील रहेको भन्दै उनले देश विकासका लागि रेल–वे र वाटर–वे, गेम चेञ्जर हुने तथ्यलाई अफवाहको तुँवालोभित्र पुरिदिने प्रयास भएको बताए ।

कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकिएको स्मरण गर्दै उनले भने, अहिले पनि सुनेको छु– जहाजको टिकट काटौं भनेको, काउण्टर खै ? हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेमा म खुशी व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले अघि भने, ‘धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’

नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्टार नियुक्त गर्ने प्रक्रिया शुरु भएको उनले संसदलाई जानकारी दिए ।

जवाफ नम्बर चार : निर्मला पन्त प्रकरण

विपक्षीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नहरुलाई कारबाही गर्न सरकार असफल भएको मात्र होइन, अपराधीलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ । देउवा स्वयंमले बारम्बार सरकारमाथि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले अवपादलाई आम रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । अपराध नियन्त्रणमा प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता पाएको बताउँदै ओलीले भने, अपवादलाई आमको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास देख्दा मलाई दुःख लागेको छ ।’

आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीहरुलाई न्याय सडकमा पोखिने अमर्यादित एवं अराजक भीडले नभई सरकारले नै दिने उनले बताए । उनले भने, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु, ढुक्क रहे हुन्छ ।’

जवाफ नम्बर पाँच : राष्ट्रपतिमाथि हमला

राष्ट्रपतिका लागि सवारी तथा हेलिकोप्टर खरिद, प्रहरी तालिम केन्द्र हटाउने निर्णयलाई लिएर भइरहेको टिप्पणीप्रति पनि असन्तुष्टि जनाएका छन् ।

‘कुनै समय विपक्ष दलका नेता सत्तापक्षमा रहँदा राष्ट्रपतिको सन्दर्भमा भन्नु भएको म अहिले पनि स्मरण गरिरहेको छु, राष्ट्रपतिले गल्ती गर्दैन । राष्ट्रपतिले गरेको काम मैले गरेको हो ।’

राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गणतन्त्रमाथिकै हमला हो भनेर सरकारले बुझेको प्रधानमन्त्री ओलीले बताए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको एक घण्टा सम्बोधन : वाइडबडी र रेशम चौधरीबारे चुप यो पनि पढ्नुहोस प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment