Comments Add Comment

हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो, आर्मी बन्यो चौथो

२२ पुस, काठमाडौं । थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो हुन सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न भएको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार तेस्रो हुन सफल भएको हो । यता, आर्मीले भने चौथो स्थानमा चित्त बुझाएको छ ।

थ्रीस्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे ।

खेलको २८ औं मिनेटमा नै बुद्धले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । रञ्जनले खेलको ८९ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

आर्मी चौथो

लिगमा आफ्नो अन्तिम खेलमा जित हात पारे पनि विभागीय टिम आर्मीले लिगमा चौथो स्थानमा चित्त बुझाएको छ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेसँगै आर्मी चौथो बनेको हो ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा आर्मीले मछिन्द्र क्लबलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । त्यस्तै, टंक बस्नेतले एक गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । ६२ र ७४ औं मिनेटमा कप्तान खवासले गोल गर्दै ३–० को जित दिलााएका हुन् ।
लिगमा सबै १३ खेल खेल्दा २६ अंक बनाएर थ्रीस्टार तेस्रो बनेको हो । त्यस्तै, आर्मीले पनि सबै खेल खेल्दै २५ अंक बनाएर चौथो बनेको हो ।

लिगको विजेता भने मनाङ मस्र्याङ्दी बनेको छ । मनाङले दुई खेल अघि नै लिगको उपाधि जितिसकेको थियो । त्यस्तै, उपविजेता संकटा क्लब बनेको छ । संकटाले एक खेल अघि नै थ्रीस्टारलाई पराजित गर्दै लिगमा उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment