Comments Add Comment

‘ओली र प्रचण्ड राजा हुन्, लडिन्छ यिनीहरुसँग’

अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ ।

हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय बेडको हुनुपर्छ, त्यहाँ विशेषज्ञहरु हुनुपर्छ । यसो गरेमा त्यस क्षेत्रमा मान्छेले डाक्टर पढ्न पाउने थिए, नर्स पढ्न पाउने थिए । त्यहाँका मान्छेले रोजगारी पाउने थिए । त्यसका लागि हामीले बारबार लड्नुपर्छ । म त्यहाँ गएको कारण के हो भने यसका लागि दबाव पुगोस् ।

तर, त्यहाँका नेताहरुलाई केही मतलब छैन । मैले यहाँ आएर पो थाहा पाएँ, ताप्लेजुङका सांसद खुब ठुल्ठुलो कुरो गर्ने, उसले माफियाको हितका लागि यो ऐनको तोडमोड गर्ने लिडरसिप लिएको हो । यस्तोखालको लिडरसिप हुन्छ ?

ओलीको कुरो गरौं ।

ओली र प्रचण्डजीले कालोलाई सेतो भनिदिएदेखि त्यहाँका सबै सांसदहरु कालोलाई सेतै भन्छन् । त्यो संसद सार्वभौम हैन । ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो ।

ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे । त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ । त्यो भ्यु टावर त प्राइभेटलाई दिए भैहाल्यो नि । टिस्टासम्म देखिने भ्यु टावर रे ! साम्यवादी नेताको त्यो प्राथमिकता हो ? पुँजीवादी देशका क्रोनी क्यापिटालिस्टले पनि लाज मान्छन् यस्तो गर्न ।

म इलाममा मेडिकल कलेज, अस्पताल खोल्नुपर्छ भनेर दबाव दिन गएको हो । त्यो मेची अञ्चल त ओलीजीको क्षेत्र हो । झलनाथ खनालजीको हो । सुवास नेम्वाङजीको हो । यी छन् नि आफूलाई युवा नेता हो भन्छन् (योगेश) । जनताले दिएको तलब भत्ता खान्छन् । तर, यिनीहरु माफियाको काम गरिराखेका छन् ।

साम्यवादी सरकार भएको ठाउँमा मनपरीतन्त्र ढंगले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरेका छन् । साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुले माफियासँग साँठगाँठ गरिरहेका छन् ।

ओली र प्रचण्ड राजा हुन् !

संसद, समिति, उपसमितिचाहिँ सार्वभौम हुन् रे ! अहिले के छ भनेदेखि, चाहे प्रधानमन्त्री हुन्, चाहे राष्ट्रपति हुन्, चाहे मन्त्री हुन्, चाहे सांसद हुन्, जे हुन्, अहिले उनीहरु नेपाली जनताको मालिकका रुपमा व्यवहार गरिरहेका छन् । मालिक । राजाका रुपमा व्यवहार गरिरहेका छन् ।
उनीहरु भनेका त तीन करोड नेपालीका नोकर हुन् । म त सेवक पनि भन्न चाहदिनँ कि नोकर हुन् । र, सार्वभौम भनेको को रहेछ भने ओलीजी र मन्त्रीहरु रहेछन् । केही हदसम्म प्रचण्डजी रहेछन् ।

किनभने, ओली र प्रचण्डजीले कालोलाई सेतो भनिदिएदेखि त्यहाँका सबै सांसदहरु कालोलाई सेतै भन्छन् । त्यो संसद सार्वभौम हैन । ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो । र, उनीहरुले गर्ने भनेकै माफियाको काम गरिदिने हो । माफिया, बिचौलिया र दलाल । अहिले राज्य माफिया, बिचौलिया र दलालहरुले चलाइरहेका छन् ।

सार्वभौम को हो ? ओलीजी र त्यसपछि प्रचण्डजी हो । अहिले उनीहरु राजा हुन् । हामीलाई अहिले पनि रैतीको व्यवहार गरिरहेका छन् । हामी नेपाली रैती हैन, सार्वभौम नेपाली नागरिक हौं । र, सरकार, चाहे व्यवस्थापिका भनौं, चाहे न्यायपालिका, यिनीहरु जनताका सेवक हुन् । कुरो बुझ्नु भो त ?

मार्सी चामल खुवायो भन्दैमा सम्बन्धन दिने ?

बीएण्डसीलाई सम्बन्धन किन दिने ? अरुलाई किन नदिने ? बीएण्डसीमा प्रचण्डजीको अबौर्ं रुपैयाँ छ भन्दैमा दिने हो र ? अथवा ओलीजी र प्रचण्डजीले उनीहरुको मार्सी चामल खाए भन्दैमा सम्बन्धन दिने हो र ? अरुचाहिँ छैनन् ?

यो पनि पढ्नुहोस डा. केसीलाई योगेशको जवाफः तपाईले आफ्नै स्तर गिराउनुभयो नेपालमा १५ वटा मेडिकल कलेज छन् । तीनवटा मात्रै सरकारी मेडिकल कलेज छन् । संसारमा कहीँ पनि नभएको ! अनि के उनीहरुलाई मात्र सम्बन्धन दिँदै हिँड्ने ?

ऐनमा त लेखि नै सकेको छ नि, जुन क्षेत्रमा हो, त्यो क्षेत्रको युनिर्भसिटीले आफ्नो आंगिक क्याम्पस खोल्छ । त्यसपछि उनीहरुले निजी मेडिकल कलेजलाई सम्बन्धन दिने हो । त्यो कुरा प्रावधानमै उल्लेख गरिएको छ ।

पत्रिकामा लेखिएको मैले हिजो पढेँ । त्यसैका आधारमा मैले भनेको हुँ, उनीहरु त सार्वजनिक किन गर्थे ? गर्दै गर्दैनन् । उनीहरुलाई त षडयन्त्र गर्नु छ । फेरि चोरी काम गरेर देश लुट्नु छ । मफिया पोस्नु छ । माफिया पोस्नु भनेको आफू पोस्नु हो ।

शीर्षस्थ नेताको कृपा भयो भनेर अस्पताल चलाएको छ, के चलाएको छ । एउटा माफिया भयो, डन भयो भन्दैमा जे पनि गर्न पाइन्छ ? कुर्न पर्‍यो ।

पूर्वाञ्चल हो भनेदेखि पूर्वाञ्चल विश्वविद्यालय छँदैछ । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो आंगिक क्याम्पसलाई सम्बन्धन दिइहाल्छ । हो, इलाममा हो भने त्यहाँ खोल न ।

नेताका ठाउँमा हामीले लड्नुपर्ने ?

ओलीजी, योगेश भट्टराईजी, खगराज अधिकारीजी, आफूलाई साम्यवादी भन्ने तर, यिनीहरु जनता मार्न माफियासँग लागेका छन्

त्यो (नेताका) ठाउँमा अस्पताल बनाऔं भनेर हामी लड्छौं । त्यहाँबाट निर्वाचित गरेको सांसदले चाहिँ माफियालाई पोसेर जनतालाई धोका दिनेे ? जनताको भुँडीमा लात्ती मार्ने ? यो जनतालाई धोका दिएको हैन ? भोट दिएपछि जनताको हकहित गर्नुपर्ने हो नि । के सोझासाधा नागरिकलाई बेवकुफ बनाउने ? योगेश भट्टराईजी, भन्नोस् त ।

म भर्खर एउटा अप्रेसन गरेर आएको हुँ । उनको घर सिन्धुली । उनी पाँचथरमा काम गर्ने । गरीब मान्छे । त्यही अस्पताल भइदिएको भए सजिलो हुन्थ्यो, ज्यान पनि खतरामा हुँदैनथ्यो । तर, त्यहाँबाट यहाँ ल्याइयो । उनको खुट्टा काट्नुपर्ने । सिन्धुलीको मान्छे, पाँचथरमा दुर्घटनामा परेको मान्छे ।

ताप्लेजुङ, पाँचथर, इलाम र तेथ्रथुमका मान्छेको यही अवस्था छ । उनीहरु उपचारका लागि काठमाडौं आउनुपर्छ । त्यहीँ अस्पताल बनाइदिएको भने के हुन्थ्यो ?

भनेपछि ओलीजी, योगेश भट्टराईजी, खगराज अधिकारीजी, आफूलाई साम्यवादी भन्ने तर, यिनीहरु जनता मार्न माफियासँग लागेका छन् । जनतामारा, विद्यार्थीमारा हुन् यिनीहरु । सर्वहारावादी भन्छन्, तर सर्वहारामारा हुन् यिनीहरु ।

८० प्रतिशतभन्दा बेसी जनता ग्रामीण भेगमा बस्छन् । साधारण रोगको उपचार नपाएर उनीहरुले दीर्घरोगी भएर बस्नुपर्ने हुन्छ । अथवा ऋण गरेर उपचार गर्नलाई शहरमा जानुपर्छ । ती ठाउँमा अस्पताल खोल्नुपर्छ । संविधानले दिएको अधिकार हो यो । स्वास्थ्यसम्बन्धी संविधानले दिएको नैसर्गिक अधिकार हो यो ।

ग्रामीण भेगमा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । ग्रामीण भेगमा खोलिसकेपछि त्यहाँका जनताले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउँथे । डाक्टर पनि त्यहीँ, नर्स पनि त्यहीँ बन्थे । त्यहीँ नै सेवा पनि गर्थे । त्यो ठाउँको समग्र विकास पनि हुन्थ्यो । यो त राज्यका लागि अवसर हो नि, हैन र ?

४ नम्बरमा मेडिकल कलेज हुनुपर्छ भनेर हामी लडिरहेका छौं, खगराजजीलाई त्यो मतलब छैन । भनेपछि, यो सरकारमा यिनीहरु माफियाका लागि आएका हुन् कि जनताको काम गर्न आएका हुन् ?

कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको ७ वर्ष भइसक्यो । अहिलेसम्म खोल्न दिएको छैन । अनि हामीले त्यहाँ गएर लड्नुपर्छ ।

प्रत्येक प्रदेशमा मेडिकल कलेज खोल्ने भनिएको छ । कालो धनलाई सेतो बनाउन खोलिएका माफियाहरुको मेडिकल कलेजलाई सम्बन्धन दिने ? यिनीहरु अपराधी हुन् । जनताको हकहितमा ऐन बनाउँछन् भनेर यिनीहरुलाई जनताले जिताएर पठाएका हुन् । जनताले तिरेको करबाट यिनीहरुले तलब भत्ता खान्छन् । यिनीहरुले देशै खाइसकेका छन् ।

प्रचण्डजीको राजनीतिक उदगमस्थल कहाँ हो थाहा छ ? रोल्पा भनेको राप्ती अञ्चलमा छ । त्यही राप्तीका मान्छेहरु सानो उपचारका लागि कि नेपालगञ्ज पुग्छन्, कि काठमाडौं आउँछन्, कि इण्डिया जानुपर्ने हुन्छ । सुशील कोइरालाका पालामा मैले दाङमा बनाउने भनेको । तर, दाङमा बनाउन दिएनन् । त्यो अवधारणापत्र लुकाइदिए । पछि म अनुसन बस्छु भनेपछि बल्ल खोले ।

हामीले जुन गरिरहेका छौं, यो भनेको वास्तवमा त उनीहरुको (सरकारको) काम हो नि । ऐन बनाऊ भनेर हामी लडिरहेका छांै । यो काम त तिनै नेतृत्व पक्षको हैन ?

भनाइको मतलव, प्रचण्डजीको राजनीतिक उदगमस्थल त राप्ती क्षेत्र हो । तर, हामीले लडेर, हाम्रो सत्याग्रहपछि त्यहाँ प्रतिष्ठान खोलियो । उनले प्रधानमन्त्री हुञ्जेल के गरे भने नि, उनको कालो धन सेतो गर्नलाई, त्यसलाई सम्बन्धन दिनलाई बारम्बार पदको दुरुपयोग गरे ।

मैले भनेको, इलाममा सरकारी मेडिकल क्याम्पस खोल । त्यसो भएमा यो पूर्वाञ्चलको आंगिक क्याम्पस भो । आंगिक क्याम्पस भैसकेपछि त्यसपछि देऊ न मेडिकल कलेजलाई । त्यसका लागि कुर्नुपर्‍यो । चार वर्ष लाग्ला । पाँच वर्ष लाग्ला । तर, त्यो मतलब छैन हेर्नुस् । इलाममा सरकारी मेडिकल कलेज खोल्न उहाँहरुलाई कुनै मतलव छैन ।

दाङ्गमा पनि आफ्नै कार्यकर्ता छन् । फेरि, लड्यौं हामीले । योग्य व्यक्तिहरुलाई प्रतिष्ठानमा राख्ने भन्ने पनि छैन । त्यहाँ पनि सबै पार्टीगत छ । पैसाको कुरो, आर्थिक चलखेल छ । धनगढीमा पनि त्यस्तै भयो ।

सरकारी मेडिकल कलेज तीनवटा मात्र छन् । १५ वटा निजी छन् । संसारमा काहीँ नभएको यो । अब केलाई निजी हुनुपर्‍यो ? अब त सरकारी मेडिकल कलेज हुनुपर्‍यो । ९५ प्रतिशत नेपालीहरुले आफ्ना छोराछोरीलाई डाक्टर/नर्स पढाउन सक्दैनन् । भनिसकेपछि पाँच प्रतिशतका लागि चाहिँ १५ वटा मेडिकल कलेज ? अनि ९५ प्रतिशतलाई चाहिँ जम्मा तीनवटा सरकारी मेडिकल कलेज ?

हामीले जुन गरिरहेका छौं, यो भनेको वास्तवमा त उनीहरुको (सरकारको) काम हो नि । ऐन बनाऊ भनेर हामी लडिरहेका छौं । यो काम त तिनै नेतृत्व पक्षको हैन ? ती सम्झौता हामीसित गर्ने, सम्झौता तोड्ने । अनि यिनीहरु माफिया नभएर को हुन् ? यिनीहरु साम्राज्यवादी हुन् । जनतामारा, विद्यार्थीमारा हुन् । माफियावादी हुन् ।

लडिन्छ यिनीहरुसँग !

देशमा अहिले अराजकता छ । दण्डहीनता छ । अपराध छ । भ्रष्टाचार त्यत्तिकै भइराखेको छ । अहिले आएर सांसदहरुले माफियालाई पोस्ने काम गरिरहेका छन् । जनताले जिताएर पठाएका यिनीहरुलाई कुर्सीमा बस्न नैतिकरुपले दिँदैन । लडिन्छ यिनीहरुसँग ।

मैले पहिले नै भनेको थिएँ, अनसन सिद्धिइसकेपछि म प्रधानमन्त्री ओलीजीलाई भेट्न गएँ । उहाँको नियत ठीक छैन है भनेर मैले पहिल्यै भनिसकेको थिएँ ।

त्यसकारण, हामीसँग भएको सम्झौता अनुसार भएन भने म २५ गते अगाडि नै अनसन बस्छु ।
यो जुन अराजकता छ, भष्टाचार छ । यो दुई तिहाई भनेको लुट्नलाई दिएको हो ? जनतालाई धोका दिनलाई दिएको हो ? जनतालाई यिनीहरुले धोका दिन पाउँछन् ? यो हुन सक्दैन ।

म अब यो प्वाइन्टमा मात्र सीमित रहनेवाला छैन । मानताविरोधी क्रियाकलाप गर्ने नेतादेखि लिएर सबैलाई अबचाँहि छोडिँदैन हेर्नोस् । सबैलाई जवाफदेही बनाएर छोडिन्छ ।

‘म अनसन बस्छु, त्यसपछि हेरौं’

यो ओलीजीको सरकार हैन ? म २६ दिनमा हुँदाखेरि ओलीजीले माफियाको पक्षमा लागेर दुईवटा बुँदा थपेर ब्याकमेलिङ गर्न लगाए । म जीवन र मरणको वीचमा लडिराखेका बेलामा । त्यो सम्झौता कार्यान्वयन गरेनन् । यदि माफिया पोस्ने, दलाल पोस्ने विधेयकको हामीले विरोध नगरेको भए दुई तिहाई बहुमतबाट एकै दिनमा पास हुन्थ्यो ।

ओलीजीकै सरकारसँग सम्झौता गरेको हो हामीले । फेरि त्यसलाई तोडमोड गर्ने र फेरि समितिमा पठाउने ? त्यसकारण बहुमतले जनता मार्ने निर्णय गरे । बहुमतले विद्यार्थी मार्ने निर्णय गरे ।
म के भन्छु भने सम्झौतामा अक्षरशः जे लेखेको छ, त्यो हुँदैन भने म बस्छु । त्यसपछि हेरौं । ओलीजी, प्रचण्डजी र अर्को नारायणकाजीजी हेर्नुहोस्, म चेतावनी दिन्छु । तपाईका कार्यकर्ताहरुलाई ठीक गर्नोस् । र, हामीसँग सम्झौता गरेको एक शब्द पनि चेञ्ज नगरिकन ऐन आउनुपर्छ ।

मलाई पहिलेदेखि नै थाहा छ । के थाहा छ भने नेताहरु यस्तै हुन् । म धेरै भुक्तभोगी भैसकेको छु । उनीहरुसित गएर कुरा गर्न गयो, पछि गएर मिडियामा के भन्छन् भने, डाक्टर साबसित कुरा भयो, उनी आˆनो स्वार्थ हेरेर सहमत हुनुभयो भन्छन् ।

मैलेे हैन, यिनीहरुले गलत भने भनेर कतिलाई भन्दै हिँड्ने ? मैले यस्तो धोका धेरैपटक खाइसकेको छु ।

सीटीइभीटी फेजआउटबारे

सीटीइभीटीको फेजआउट जुन छ, सर्टिफिकेट लेभलभन्दा तलको पढाइलाई फेजआउट गर्ने भनेको हो । फेजआउटको मतलव यो हैन कि जागिर खाइरहेको मान्छेलाई जागिरबाट हटाउने । उहाँहरुले ३०/४० वर्षदेखि सेवा दिइरहनुभएको छ, त्यसको म कदर गर्छु ।

तर, डेढ वर्ष पढेर कति चाहिँ ज्ञान हुन्छ ? जब कि हामी १८-२० वर्ष पढ्दा त कति कुरा मिस हुन्छ । फेरि इलेक्टि्रसिटी, प्लम्बर र स्वास्थ्य भनेको एउटै पनि हैन । यो भनेको त संवेदनशील क्षेत्र हो । त्यसकारण हामीले के भनेका छौं भनेदेखि त्यसलाई ५ वर्षमा फेजआउट गर्ने ।

अनमी, अहेब पढ्नलाई एसईई चाहिने हो र हेल्थ असिस्टेण्ट अनि स्टाफ नर्स पढ्न पनि एसईई नै चाहिने हो भने अब जुन पहिले डेढ वर्षको कोर्स पढ्थे, अबचाँहि तिनीहरुले साढे दुई वर्ष वा तीन वर्षवाला कोर्स पढ्न पाउँछन् । र, डेढ वर्ष पढ्नेले भन्दा अढाई वर्ष/तीन वर्ष पढ्नेले गुणस्तरीय सेवा पनि दिन्छन् ।

शहरमा सुपरस्पेसलिष्टको अवधारणा आएको छ भनेर उनीहरुलाई देखाउने । अनि नेताहरु चाहिँ उपचारका लागि विदेश जाने ।

ग्रामीण भेगका जनता जसले आˆनो पेट काटेर उनीहरुलाई त्यहाँसम्म पुर्‍याए, तलब भत्ता खुवाए, उनीहरुलाई चाँहि गुणस्तरहीन सेवा दिएर हुन्छ ?

‘गगन थापालाई धन्यवाद दिन्छु’

म गगन थापालाई हार्दिक धन्यवाद दिन चाहन्छु । त्यस्तो नेता चाहिन्छ । गगन थापालाई प्रशंसा गर्‍यो भनेर माओवादी एमालेका नेताहरुले मलाई गाली गर्थे रे । देखिहाल्नुभो नि के गरे यिनीहरुले ? माफिया पोस्ने काम गरे । जनतालाई लात मारे ।

उनले मन्त्री हुँदा पनि स्वास्थ्य सेवामा सुधारका कामहरु गरे । ग्रामीण भेगमा पनि सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेका थिए, अहिले आएर पनि उनले लडिराखेका छन् । एक्लै भए पनि लडे । तपाईहरुले बुझ्नुहोस्, संसदमा कतिजना सांसद छन् ? त्यसमा कतिजनाचाहिँ लड्नेखालका रहेछन् त ? लु भन्नुहोस् त तपाईहरुले ।

(डा. केसीले सोमबार शिक्षण अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment