Comments Add Comment

संकटाका प्रशिक्षक भन्छन् : विदेशीभन्दा नेपाली खेलाडीले राम्रो खेले

२२ पुस, काठमाडौं । संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष पाँचभित्र पर्ने लक्ष्य राखेको थियो । तर, बन्यो उपविजेता । यो उपलब्धी संकटा क्बलको लागि ३३ वर्षपछिको सबैभन्दा ठूलो हो ।

विगतको यात्रालाई विश्लेषण गर्दा संकटाको सबैभन्दा राम्रो समय २०३२ देखि २०४२ सम्मको १० वर्षलाई मान्न सकिन्छ । यो अवधिभित्र संकटा क्लबले तीन पटक शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि उचालेको थियो ।

२०४२ सालमा संकटाले उपाधि उचालेयता उल्लेखनीय सफलता हासिल गर्न सकिरहेको थिएन । तर लामो अन्तरालपछि भएको ए डिभिजन लिगमा संकटाले सनसनीपूर्ण प्रदर्शन गर्दै उपविजेता बन्दा उपाधि जित्ने लक्ष्यसहित लिग खेलेका थ्रीस्टार, आर्मी, पुलिस र एपीएफ फ्लप भए ।

यही लिगबाट स्थापित नाम हो, सल्यान खड्गी । करिब १५ वर्षे फुटबल खेलाडी करिअरमा छायाँमा परेका सल्यान प्रशिक्षकमा भने सफल बनेका छन् । सुरुवाती फुटबल करिअर न्युरोड टिम (एनआरटी) बाट थालेका सल्यानले संकटामा नै खेलाडी जीवन बिसाएका थिए । आफ्नै कप्तानीमा २०७० सालमा संकटालाई लिगको पाँचौ स्थानमा पु¥याएका सल्यानले आफ्नै प्रशिक्षणमा क्लबलाई उपविजेता बनाउन सफल भए ।

प्रशिक्षक खड्गीसँग अनलाइनखबरका लागि सरोज तामाङले गरेको कुराकानीः

बलियो क्लब थ्रीस्टारलाई पराजित गर्दै एक खेलअघि नै उपविजेता बन्ने सोच्नुभएको थियो ?

त्यो खेल जितेर उपविजेता बन्ने हाम्रो लक्ष्य नै थियो । त्यसमा हामी पराजित वा बराबरीमा रोकिएको भए उपविजेता नबन्न पनि सक्थ्यौं । अन्तिम खेल जित्नैपर्ने हुन्थ्यो । थ्रिस्टारलाई जिते अन्तिम खेलको लागि ढुक्क हुन सकिन्छ भन्ने लागेको थियो । त्यसमा हामी सफल पनि भयौं ।

थ्रीस्टारविरुद्धको खेललाई कसरी सम्झिनुहुन्छ ?

त्यो म्याच खेल्दा म हल्का नर्भस पनि थिएँ । तर, आफ्नो नर्भसनेस खेलाडीलाई देखाइनँ । आफैमा दबाएर राखेँ र खेलाडीलाई प्रोत्साहन गरिरहेँ ।

हाम्रो लय सुरुवातदेखि नै गुमेको थियो । खेलाडीहरु पनि केही हदसम्म आत्तिएका थिए । बल नियन्त्रणमा लिन नसकेको जस्तो पाएँ । रञ्जन विष्टले डि एरियामा पाएको बललाई मजाले टर्न गरेर तीन जना डिफेन्डरको विचबाट गोल गर्न सफल भयो । म कराई रहेको थिएँ, बलमा जाउँ, बलमा जाउ भनेर । त्यो गोल खाएपछि चाहिँ मनमा अलिकति चसक्क पस्यो…. ।

तर हामीले त्यसपछि फेरी लय समात्यौ र ४१औं मिनेटमा गोल गर्न सफल भयौं । त्यसपछि फेरी जित्ने आशा पलाएको थियो । नभन्दै अर्को गोल थपेर जित्यौं पनि ।

उपविजेता त बन्नु भयो तर आर्मीसँग ५–१ गोल अन्तरको हारलाई कसरी लिनु हुन्छ ?

त्यो हाम्रो ओभरकन्फिडेन्सका कारण भएको हो । हामीले सुरुवाती तीन खेल जित्यौं । आर्मीलाई पनि त्यही टिमको स्तरमा सायद हामीले लियौं । प्रशिक्षकका रुपमा मैले पनि जिम्मेवारी लिनुपर्छ । मैले गल्ति स्वीकार्नु पर्छ ।

मैले बढी आक्रामक शैलीमा खेलाउने प्रयास गरेँ । म त्यसैमा अलिकति चुकेँ । त्यो खेलबाट मैले दुईवटा पाठ सिकेँ । हरेक खेलमा रणनीति फरक–फरक बनाउनु पर्छ र सबै टिमलाई एउटै स्तरमा लिनु हुदैन ।
त्यसपछिको लगातार पाँच खेलमा हामी जित्न सफल भयौं । सायद यो जित आर्मीसँगको हारबाट सिकेको पाठको नतिजा थियो होला ।

मनाङसँगको खेलमा पनि पहिलो हाफसम्म ५०–५० प्रतिशत नै थियो । खेलमा सानोतिनो गल्तीहरु त हुन्छ । तर दोस्रो हाफको पहिलो मिनेटमा नै गोल खान पुग्यौ । मनाङसँग हारे पनि हामीले उत्कृष्ट खेलेका थियौं । तर आर्मीको खेलमा भने हामीले राम्रो खेल्न नसकेकै हो ।

संकटा क्लबसँग स्टार खेलाडी त छैनन्, तर पनि यो नतिजा आउनुमा सबैभन्दा बढि श्रेय कसलाई दिनुहुन्छ ?

लिग जित्नका लागि या राम्रो नतिजा ल्याउन स्टार खेलाडी नै चाहिन्छ भन्ने छैन । मैले एभरेज टिम बनाएँ । खेल्न उत्सुक, आफ्नो प्रतिभा देखाउन नपाएका, यु्वा खेलाडी लिएर टिम बनाएँ ।

मसँग भएका सिनियर खेलाडीले जुनियर खेलाडीलाई जहिल्यै पनि एक ढिक्का बनाइ राख्यो । विशेषगरी मेरो टिम कप्तान रवि सिलवालको कुरा गर्छु । उसले राम्रोसँग टिमलाई लिड ग¥यो । म बाहिरबाट कराइरहेको हुन्छु तर भित्र लिड गर्ने त टिम कप्तान रविले नै हो । उसले टिमलाई एकदमै सम्हालेर राख्न सफल भयो ।

त्यस्तै, सुवास, गुरुङ, लक्ष्मण रुचाल लगायत खेलाडीले राम्रो खेले र जुनियर भाईहरुलाई हौसला बढाउँदै लगे । एकदमै राम्रो भयो ।

खेलमा लिड गरेपछि त्यसलाई जोगाउनु पर्‍यो । सबैले भनेको माने । सिनियर र जुनियर खेलाडीले आफ्नो जिम्मेवारी बुझेर राम्रोसँग निभाए । टिमको युनिटी कहिले पनि टुटेन । त्यसकारण हामी सफल भयौं । जितको श्रेय नै टिम युनिटी हो ।

टिम बनाउन कतिको सकस परेको थियो ?

विभागीय टिमबाहेक बाँकी ११ वटा क्लबलाई नै टिम बनाउन निकै सकस परेको थियो । २०७० सालपछि पहिलो पहिलोपटक लिग भएको हो । यो लामो समयअवधिमा धेरै खेलाडी लाखापाखा भए । नाम चलेका धेरै खेलाडी विदेशिए । त्यही भएर अहिले बजारमा खेलाडी पाउन नै गाह्रो छ । पाएको खेलाडीलाई नै सदुपयोग गर्नु बाहेक अर्को उपाय छैन ।

टिम बनाउने क्रममा हामीले लिगमा लक्ष्य के बनाउने भन्ने कुरा भयो । लिग खेल्ने नै हो भने शीर्ष पाँचमा पर्नुपर्छ भन्ने सबैको राय थियो । किनभने राम्रा खेलाडी सबै विभागीय टिम र थ्रीस्टार, मनाङमा अनुबन्धित भइसकेका थिए । त्यसकारण हामीले लिगमा शीर्ष पाँचमा अटाउने मात्र लक्ष्य बनाएका थियौ ।

मोफसलको प्रतियोगितादेखि नै मलाई साथ दिइरहेका रवि सिलवालसँग कुरा भयो । अमित तामाङ यसअघि पनि संकटा क्लबबाट नै खेलिरहेका थिए । यु–१८ मा मैले खेलाएको खेलाडी र तीन जना विदेशी खेलाडीलाई लिएर टिम बनाइयो ।

यो सफलता हात पार्न विदेशी खेलाडीको भूमिका कस्तो रह्यो ?

विदेशी खेलाडी मात्र म चाहिँ भन्दिन । फुटबल भनेको टिम गेम हो । उनीहरु तीन जनाले मात्रै खेलेको त होइन । अझ थ्रीस्टारसँगको खेलमा मेरो दुई जना विदेशी खेलाडी थिएनन्, तर पनि हामी थ्रीस्टारलाई हराउन सफल भयौं ।

नेपाली खेलाडी पनि उत्तिकै सक्षम छन् । सबै जना भन्छन् विदेशीको भरमा छ, तर म मान्दिन ।

विदेशी खेलाडीलाई बढि प्राथमिकता दिनु भनेको नेपाली खेलाडीलाई गिराउनु हो जस्तो लाग्छ । नेपाली खेलाडीले पनि उतिकै राम्रो खेलेका छन् । फुटबल खेल्ने ११ जनाले हो, तीन जनाले त होइन । विदेशी खेलाडीले एकदमै राम्रो खेल्यो रे, तर नेपाली खेलाडीले पनि नखेलेको भए म कहाँ यहाँ हुन्थे होला र ?

अझ म भन्छु, मेरो नेपाली खेलाडीले विदेशी खेलाडीले भन्दा राम्रो खेलेका छन् । युवा खेलाडीको लागि यो लिग खेल्न पाउनु ठूलो कुरा हो । मैले राम्रो प्रतिभा देखेर आफ्नो टिममा युवा खेलाडीलाई स्थान दिएँ, त्यसमा उनीहरुले न्याय गरे । जुनियर खेलाडीले मौका मात्रै नपाएको हो । मौका दिएँ, उनीहरुले प्रतिभा देखाए ।

यदि लिगको ११ औं राउण्डमा संकटाले मनाङलाई जितेको भए अवस्था के हुन्थ्यो ?

मनाङ दबाबमा हुन्थ्यो । मनाङ मात्रै नभएर उपाधि होडमा हामीले थ्रीस्टार र एपीएफसँग खेल्न बाँकी नै थियो । त्यसकारण संकटा पनि दबाबमै हुन्थ्यो ।

मनाङसँग खेल्नुभन्दा अघि हामीले नसोचेको नतिजा निकालिरहेका थियौं । त्यसकारण पनि हामी मनाङलाई पराजित गर्दै उपाधि होडमा रहने लक्ष्यमा थियौं । तर हार्न पुग्यौ ।
संकटालाई योपटक भाग्यले पनि साथ दिएको कतिको मान्नु हुन्छ ?

भाग्य पनि अवश्य चाहिन्छ । पहिलो खेल हाम्रो सरस्वती युथ क्लबसँग थियो । पोजिसनदेखि हरेक कुरामा हामी अगाडि थियौं । तर गोल स्कोर हुन सकेको थिएन । खेलको अतिरिक्त समयको पनि अन्तिम समयमा हामीले गोल गर्न सफल भयौं ।

हो, यसपाली मेरा खेलाडीले जति राम्रो खेले, त्यति नै भाग्यले पनि साथ दियो । तर, भाग्यले पनि परिश्रमीलाई साथ दिन्छ भनिन्छ नी ।

खेलाडी भएर खेल्नु र प्रशिक्षक भएर निर्देशन दिनु कुन चाहिँ काम गाह्रो हुँदो रहेछ ?

निर्देशन दिने काम गाह्रो । खेल्दाखेरी प्रशिक्षकले निर्देशन दिइरहेका हुन्छन् । यस्तो रणनीति, यसरी खेल्ने भनेर । उहाँहरुको निर्देशन दिएर हामी खेल्थ्यौं । कतिपय अवस्थामा प्रशिक्षक कराइरहेका हुन्छन्, हामी सुने पनि नसुनेको जस्तो गरेर खेल्थ्यौं । आफ्नो पोजिसन राम्रोसँग खेल्ने कुरामा फोकस हुन्थ्यो ।

तर प्रशिक्षक भइसकेपछि पूरै टिमलाई हेर्नुपर्ने हुन्छ । सबै पोजिसनमा आफूले राखेका खेलाडीलाई निर्देशन दिइरहनु पर्छ । खेल्नुभन्दा पनि प्रशिक्षण गर्नु चाहिँ अलिक गाह्रो रहेछ ।

चुनौती नै जिन्दगीको एउटा पाटो हो । चुनौतीलाई आत्मसात नगरी केही पनि गर्न सकिन्न । त्यसकारण चुनौतीलाई सामना गर्न तयार छु ।

आफ्नो खेलाडी जीवनलाई कसरी सम्झिनु हुन्छ ?

सुरुमा मैले एनआरटी क्लबमा आबद्ध भएर खेलेँ । त्यसबेला मलाई यु–१९ टिममा बोलाइएको थियो । तीन महिना क्याम्पमा गएँ पनि । तर टिम बंगलादेश जानु करिब दुई हप्ताअघि म घाइते हुन पुगेँ । मेरो फुटबल करिअरको सबैभन्दा दुखद क्षण थियो त्यो ।

त्यसपछि कहिले लिग हुने कहिले नहुने । फेरी मलाई यु–२३ को क्याम्पमा पनि बोलाइएको थियो । तर, म गइनँ । त्यसको विभिन्न आन्तरिक कारणहरु छन् । त्यसलाई अहिले नखोतलौं ।
सिनियर राष्ट्रिय टिममा मलाई कहिले पनि बोलाइएन । राष्ट्रिय टिमको जर्सी कहिले लाउने धोको पुरा भएन मेरो फुटबल करिअरमा ।

संकटा क्लबमा मुख्य प्रशिक्षकको जिम्मेवारी चाहिँ कहिले पाउनुभयो ?

२०७३ को मोफसलको नकआउट टुर्नामेन्टदेखि यो जिम्मेवारी सम्हालेको हुँ । चितवनमा भएको विकास रनिङ शिल्डमा मैले डेब्यु गरेको थिएँ, प्रशिक्षकमा । त्यो डेब्यु प्रतियोगितामै उपाधि जित्न सफल भएका थियौं ।

भाग्यमानी नै मान्छु, आफुले आफुलाई ।

रेलिगेसन विनाको लिग भयो, कसरी हेर्नु हुन्छ ?

यसले फुटबलको चार्मलाई अलिकति चाहिँ घटाएको छ । होला एन्फामा विभिन्न समस्या । त्यही भएर विना रेलिगेशनको लिग भयो ।

अब लिग नै नभएको भन्दा लिग भएको राम्रो हो नी । यसले आगामी दिनको लागि राम्रो तयारी हुन वातावरण बनाएको म बुझ्छु । सम्भवतः रेलिगेसनबिनाको लिग यसै वर्षको लागि मात्र हो । आगामी दिनमा लिगको रौनक फेरि फर्किनेछ ।

संकटाले अब मोफसलको प्रतियोगितामा चाहिँ के गर्छ ? यही टिम लिएर पूर्व–पश्चिम टुरमा निस्किन्छ ?

मेरो पहिलो प्राथमिकता भनेको यही टिम हो । किनभने अहिलेका टिममा भएका खेलाडीहरुले नै मलाई यो स्थान दिलाएका हुन् । त्यसकारण मोफसलको टुर्नामेन्टमा म अरु खेलाडी थपेर अहिलेका खेलाडीलाई दबाब दिन चाहन्न ।

मैले क्लबमा पनि यही कुरा भनेको छु । मोफसलका प्रतियोगितामा यिनै खेलाडी हुनेछन् । थपघटभन्दा पनि मलाई यही टिमले साथ दिन्छ र आगामी दिनमा थप उपलब्धी दिलाउछ भन्ने विश्वास लिएको छु ।

तपाईको आगामी लक्ष्य चाहिँ के हुनेछ ?

मेरो पहिलो रोजाई भनेकै संकटा क्लब हो । यो क्लवसित मेरो मात्र नभएर मेरो बुवादेखिकै सम्वन्ध छ । मेरो बुवाले स्थापना गर्नुभएको क्लब हो । संकटा छोडेर अन्य क्लबमा कोशिस गर्ने मैले सोचेको पनि छैन ।

योपटक हामी उपविजेता भयौं, अर्को वर्ष हामी उपाधिका लागि तयारी गर्ने छौं । यो वर्ष करिब एक–डेढ महिना मात्रै तयारी ग¥यौं । अवस्था त्यस्तै थियो । तर अर्को वर्षको लागि हामीसँग पर्याप्त समय छ । त्यसकारण हाम्रो लक्ष्य उपाधि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment