२९ बैशाख, काठमाडौं । जावी अलोन्सो स्पानिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक बन्ने तयारीमा छन् ।
स्पेन, लिभरपुल र रियल मड्रिडका पूर्व मिडफिल्डर रहेकका अलोन्सो जर्मन क्लबब यर लेभरकुजन छाडेपछि रियलको नयाँ प्रशिक्षक बन्ने स्पानिस मिडियाहरुले सोमबार जनाएका छन् ।
४३ वर्षीय अलोन्सोले रियल मड्रिडका हालका प्रशिक्षक कार्लो एन्सेलोटीको स्थान लिने अपेक्षा गरिएको छ ।
एन्सेलोटी यसै सिजनको अन्तिममा रियल छाड्दै ब्राजिलको नयाँ प्रशिक्षक बन्दैछन् । ब्राजिल फुटबल संघले सोमबार एन्सेलोटीलाई नयाँ प्रशिक्षकको रुपमा घोषणा गरिसकेको छ । एन्सेलोटीको सम्झौता अर्को वर्षसम्म रहेपनि यस सिजन रियलको प्रदर्शनमा उतारचढाव रहेपछि आपसी समझदारीमा एन्सेलोटीले क्लब छाड्न लागेका स्पानिस मिडियाहरुले जनाएको छ ।
त्यसैले रियल मड्रिडलाई पनि नयाँ सिजनअघि नै नयाँ प्रशिक्षक आवश्यक पर्नेछ । किनभने रियलले आगामी जुन-जुलाईमा अमेरिकामा हुने फिफा क्लब विश्वकप खेल्दैछ ।
क्लब विश्वकपअघि नै रियल अलोन्सोलाई मुख्य प्रशिक्षक बनाउने तयारीमा रहेको पनि अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।
अलोन्सोले यसै महिनाको सुरुमा बायर लेभरकुजन छाड्ने घोषणा गरिसकेका छन् ।
लिभरपुल र बायर्न म्युनिखका लागि समेत खेलेका अलोन्सोले गत सिजन बायर लेभरकुजनलाई पहिलो पटक बुण्डेसलिगा उपाधि जिताएका थिए ।
एल क्लासिकोमा बार्सिलोनासँग पराजित भएपछि रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा ७ अंकले पछि छ र उपाधि होडबाट टाढिएको छ । यस्तै च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको रियल कोपा डेल रे फाइनलमा पनि बार्सिलोनासँग पराजित भएको थियो ।
यही मे २५ मा रियलको घरेलु मैदानमा रियल सोसिडाड विरुद्ध हुने सिजनको अन्तिम खेलपछि मुख्य प्रशिक्षक नियुक्ति सम्बन्धी निर्णय हुने सम्भावना छ ।
प्रतिक्रिया 4