३० बैशाख, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिपमा नेपालले समूहको दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
गोल्डेन जुब्ली स्टेडियम, युपियामामा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
समूह बी बाट यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल र भारतबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।
भारतले पहिलो खेलमा श्रीलंकालाई ८-० ले पराजित गरेको थियो । यस्तै नेपालले श्रीलंकालाई ५-० ले हराएको थियो । लगातार दुई हारपछि श्रीलंका बाहिरिँदा नेपाल र भारत एक खेल अगावै अन्तिम चारमा पुगेका हुन् ।
यस उमेर समूहमा भारत तीन र नेपाल दुई पटकको च्याम्पियन हो । सन् २०१५ बाट सुरु भएको प्रतियोगितामा सुरुवाती दुई संस्करण लगातार उपाधि जितेको नेपालले त्यसयता उपाधि जित्न सकेको छैन ।
समूह ए बाट साविक विजेता बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ । अब आज हुने भुटान र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको पनि टुङ्गो लाग्नेछ ।
भुटान र माल्दिभ्स बीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया 4