Comments Add Comment

‘साधना’ का चार दृश्य : आत्मनिर्भरसँगै कलाको संरक्षण

२४ पुस, काभ्रे (पनौती) । एकथरी मानिस यसैगरी कुरा गर्छन्- कला, संस्कृति र प्रकृति नेपाली जनमानसको सम्पन्नताको आधार हो । यसैबाट देशको मुहार फेरिन सक्छ । सुन्दा हो जस्तो लाग्छ तर, काममा अग्रसरता देखिँदैन ।

अर्काथरि छन्- पढाई सकेँ तर, सरकारले बेरोजगार बनायो भन्दै दिक्दारीमा दिन कटाउनेहरु । उनीहरु कि ऋण काढेर बिदेशिन्छन् कि त प्रमाणपत्र हेर्दै, सरकारलाई सराप्दै बस्छन् ।

कुरा ठूला गर्ने तर, काम नगर्ने हाम्रो स्वभाव हुन पुगेको छ । आँखाअघिका अवसरहरु देखिएका छैनन् । साच्चै मेहनत गर्ने हात देशभित्र चलेका छैनन् । शिक्षा नाम मात्रको हो कि जस्तो हुँदै गएको छ । हामी सम्पन्न रहेका क्षेत्रहरु पनि आलश्यले छोपिँदै गएका छन् ।

यस्तोमा केही व्यक्ति छन्, जसको ज्ञान र सिपले मेल खाएको छ । उनीहरु काम लाग्ने पढ्दै सिप र कला जोगाउन लागिपरेका छन् । तिमध्ये केही काठमाडौंबाट करिब ३३ किलोमिटर पूर्वमा रहेको ऐतिहासिक नगर पनौतीमा देखिएका छन् ।

नगरको केन्द्रमा रहेको पुरानो बजार प्रवेश गर्दा मौलिक वास्तुकला आँखामा ठोकिन्छन् । यस्ता कला जोगाउन रविन्द्र पुरीको पहलमा खोलिएको ‘नेपाल भोकेसनल एकेडेमी’ मा विद्यार्थीहरु सिप सिक्छन् र दायाँ-बायाँ नहेरी काममा व्यस्त हुन्छन् ।

एकेडेमीले यसरी खण्डहर बनिरहेका सम्पदाहरुको पुनर्निर्माणमा दक्ष जनशक्ति आपूर्ति गरिरहेको छ ।

दृश्य एक

मैन पगालेर मूर्ति बनाउने तयारी गरिरहेका उनीहरुको एकाग्रता बिथोलिहाल्न मन लाग्दैन । केही सोधौं, बुझौं भन्ने उत्सुकताले नबोलाइरहन पनि सकिँदैन । उनीहरु धातुलाई कलामा ढालिरहेका छन् । उनीहरुको मेहनतमा आस्था थपिन्छ र जीवन्त मूर्ति बन्छ ।

तीन विद्यार्थीको माझमा छन्, ६५ वर्षका गुरु तेज रत्न शाक्य । नेपाली मूर्तिकलामा वर्षौं काम गरेका उनी पनि आफ्नो ज्ञान-सिप नयाँ पुस्तामा हस्तान्तरण गर्न मग्न छन् ।

छेउमा बसेर गुरुको हातलाई पछ्याइरहेका बझाङका लव रावल मूर्तिकलामा शाक्यको चेला बनेको ६ महिना भयो । ‘इच्छा छ भने छिटो सिकिँदोरहेछ’, ११ कक्षाका विद्यार्थी उनले भने, ‘मठ-मन्दिरमा मूर्तिकला देख्दा कसरी बनाए होलान् भनेर सोचिरहन्थें । अहिले यसैमा लाग्दा छिटो सिकिरहेको छु ।’

दुई वर्षअघि एकेडेमीमा आएका धादिङका अशोक राज साराले पूजा गर्ने मूर्ति बनाउने कला आफैंमा रोमाञ्चक रहेको बताए । एकेडेमीकै होस्टेलमा बसेर स्नातक गरिरहेका उनले नेपाली मूर्तिकलामा निकै काम गर्ने चाहना रहेको सुनाए ।

दृश्य दुई

काठबाट बनाइएको आकर्षक गेट खुल्नेवित्तिकै टक, टक, टक, टक आवाज सुनिन थाल्छन् । छेउमा आकर्षक बुट्टा भरिएका काठहरु देखिन्छन् ।

मौलिक काष्ठ कलाका विद्यार्थीहरु काठमा फलामे औजार चलाइरहेका छन् । उनीहरुको ध्यान बुट्टा कुँदिरहेको काठमा एकाग्र छ । छेउमा काठ काट्ने र लेभलिङ गर्ने मेसिनहरु छन् ।

मौलिक नेपाली कला जगेर्ना गर्ने उत्तम काममा लागेका उनीहरुमा भविष्यको चिन्ता छैन । चार महिनादेखि काष्ठ कला सिकिरहेका ढुङखर्कका १६ वर्षका शंकरले मन्दिरहरुमा देखेको काष्ठ कलामा मोहित भएर यो एकेडेमीमा आएको बताए । ११ कक्षाका उनी अहिले काठमा त्यस्तो कला भर्न सिपालु बनिरहेका छन् ।

उनका शिक्षक दिनेश तामाङ पहिले यही एकेडेमीका विद्यार्थी थिए । पहिलो ब्याचका उनी अहिले बिहान १० देखि बेलुकी ५ बजेसम्म विद्यार्थीलाई सिकाइरहेका हुन्छन् ।

उनी बिषेशतः काठमा बुट्टा भर्ने र काठको मूर्ति बनाउन सिकाउने प्रशिक्षक हुन् । ‘यो सिप जानेपछि गरिखाने राम्रो बाटो खुल्छ’, उनी भन्छन्, ‘कंक्रिटको जंगल बन्दै गएका शहरहरुभित्र नेपाली काष्ठ कला जोगाउनु निकै गतिलो काम हो ।’

दृश्य तीन

नेपाल भोकेसनल एकेडेमीमा पुरुष विद्यार्थीहरु मूर्ति र काष्ठ कलामा घोत्लिन थालेपछि पनौतीका महिलाहरुले भने, ‘हाम्रो लागि पनि केही हुनुपर्‍यो ।’

अनि सुरु भयो ‘ब्युटिसियन’ कक्षा । कक्षामा २६ जना युवतीमध्ये कोही कपालमा मेहन्दी लगाइदिँदै, कोही कपाल सुकाउँदै त कोही क्रिम लगाइदिँदै छन् । उनीहरु सिप सिकेर आत्मनिर्भर बन्ने बाटोमा छन् । यीनैमध्येकी एक सुजिता श्रेष्ठ पाँच महिनामा कपाल रोल, हाइलाइट, फेसियल, भ्याक्सिन आदि गर्न सिपालु भइसकेकी छन् । ‘पहिले त के गर्ने होला भन्ने थियो, अब बाटो खुल्यो’, उनले भनिन्, ‘अब स्नातक गरेर पनौतिमा मज्जाको ब्युटिपार्लर खोल्ने हो ।’

पनौती बसपार्ककी दिपा श्रेष्ठ उनीहरुका प्रशिक्षक हुन् । यो क्षेत्रमा उनको १२ वर्षे अनुभव छ । उनका अनुसार, बाहिर ‘व्युटिसियन’ तालिम महँगै पर्छ । सामानहरु पनि आफैं किन्नुपर्ने हुन्छ । तर, एकेडेमीमा सबै कुरा निःशुल्क छ ।

दृश्य चार

विद्यालयको दोस्रो तलामा पुग्दा लुगा सिलाउने मेसिनको आवाज मीठो संगीत जसरी कानमा पर्छ । त्यहाँ छन्, सिलाइ कटाइ सिकिरहेका महिलाहरु । सिलाइ कटाइ प्रशिक्षण सुरु भएको ६ महिना भयो । बच्चाको टोपी, पाइन्ट, सर्ट बनाइरहेका उनीहरुमध्ये धेरै जनाले सिक्दा सिक्दै कमाइ गर्न पनि थालिसके ।

‘तपाईँहरु मध्ये कतिजनाले सिक्दा सिक्दै कमाउन थाल्नुभएको छ ? हात उठाउनुस् त,’ उनीहरुलाई सिलाइ कटाइ सिकाइरहेकी पोखराकी आशा नेपालीले यसो भन्नेवित्तिकै कक्षामा रहेका २८ जनामा आधाभन्दा बढीले हात उठाए ।

पनौतीकै रिता शैलु गृहिणी हुन् । उनले सिलाइ कटाइ सिक्न थालेको ६ महिना पुग्यो ।

अहिले कमाइ पनि गर्न थालिसकिन् । ‘कुर्था सुरुवाल, चोलो, पाइन्ट सबै सिलाउँछु । अरुलाई पनि लुगा सिलाइदिन थालेको छु । मेरो लुगा देखेर कस्तो राम्रो, तपाईँले सिलाउनु भएको हो ? भनेर सोध्छन् । म हो भन्छु । अनि उनीहरु मेरो पनि यस्तै सिलाइदिनु न भन्छन्,’ उनले खुशी हुँदै सुनाइन् ।

छोरीले फेसबुक चलाउँदै गर्दा भोकेसनल एकेडेमीमा सिलाइ कटाइ सिकाउने थाहा पाएपछि उनी यहाँ आएकी थिइन् । ‘श्रीमान् खेतीपाती गर्नुहुन्छ । मैले सिप सिकेपछि घरमा पनि धेरै सहयोग भएको छ,’ उनले भनिन् ।

पनौतीदेखि आधि घण्टामाथि घर बताउने पवित्रा कार्की पनि एउटा लुगा सिलाउन महिनौँ पर्खनुपर्ने दुःख हटेकाले खुशी लागेको सुनाउँछिन् । ‘एउटा लुगा सिलाउन महिनौँ पर्खनु पर्थ्यो । अहिले त आफैंले सिलाउन सक्ने भएका छौँ । अब आफूलाई चाहिने एउटा लुगा त एक घण्टामा सिलाइसकिन्छ । भनेको जस्तै गरी सिलाउन सकेका छौँ । सक्षम भएका छौँ,’ उनले भनिन् ।

भिडियो हेर्नुहोस् 

इच्छा शक्ति भए हुन्छ

मूर्ति कला, काष्ठ कला, ब्युटिसियन कोर्ष र सिलाइ कटाइ भिन्न सिप भए पनि उद्देश्य एउटै छ- आत्मनिर्भरता । यो एकेडेमीमा १६ वर्षका किशोरदेखि ५० वर्षका आमासम्म जीवनोपयोगी सिप सिकिरहेका छन् ।

एकेडेमीका उपप्रधानाध्यापक मृगेन्द्र प्रधान विद्यार्थीको चाहना र संस्थाको सोच मिल्दा राम्रो परिणाम आइरहेको बताउँछन् । रोजगारी निश्चित गर्ने शिक्षा भएकाले परिणाम दिएको उनको अनुभव छ । उनका अनुसार, आर्थिक अवस्था कमजोर हुनेलाई एकेडेमीले शतप्रतिशत छात्रवृत्ति दिएको छ । पढाइ, अभ्यास, होस्टेल र खाना पनि निःशुल्क छ । यो सुविधाको उपयोग गर्न सिक्छु भन्ने भावना र लगनशीलता हुनुपर्ने उपप्रधानाध्यापक प्रधानले बताए ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभिटी)को सम्बन्धन लिएको यो एकेडेमीले पाँच कक्षा उत्तिर्ण विद्यार्थीलाई अन्तरवार्तापछि भर्ना लिन्छ । आगामी वर्षबाट भक्तपुरमा पनि यस्तै एकेडेमी सञ्चालन गर्ने तयारी छ । आत्मनिर्भरतासँगै मौलिक कलाको जगेर्ना हुन सकोस् भन्ने संस्थाको ध्येय छ ।

सम्पदा संरक्षणका अभियन्ता रविन्द्र पुरी भन्छन्-

पहिले काम गर्दा नयाँ मानिसलाई पुराना कालिगढहरुसँग मिसाएर गर्थें । त्यसरी नयाँलाई पुरानो सिप सिकाइरहेको थिएँ । तर, माग असाध्यै बढ्दै गएपछि त्यसरी नपुग्ने भयो । काम गर्ने हो भने कालिगढ त निकाल्नै पर्‍यो । अनि एकेडेमीको अवधारणा आयो । सुरुमा कठिनाई भएपनि अहिले निकै रमाइलो भइरहेको छ । देशलाई चाहिने मुख्य कुरा दिन सकेजस्तो लागेको छ ।

पारम्परिक ज्ञान नयाँ पुस्तामा पनि होस् भनेर काम सुरु गरेका हौँ । पहिलो ब्याच पनौतीका मात्र लियौँ । त्यतिबेला होस्टेल पनि थिएन । दोस्रो वर्षबाट अन्तका मानिसले पनि सिक्न पाउन् भनेर ६५ जनासम्म राख्न सकिने होस्टेल समेत सुरु गर्‍यौँ ।

हामीले सन् २०१५ मा एकेडेमी सुरु गर्दा २०१८ बाट आत्मनिर्भर हुने लक्ष्य राखेका थियौं, जुन पूरा भएको छ । अहिले एकेडेमी चलाउनका मागि हिँड्न परेको छैन । विद्यार्थीहरुले बनाएको कुरा बेचेर उनीहरुकै विद्यालयलाई आम्दानी भइरहेको छ ।

पनौतीमा नै एकेडेमी सुरु गर्नुका पछाडि यो सहरको सम्पदा जोगाउनु थियो । मलाई लाग्छ, पनौतीलाई आगामी २०३० सम्ममा परम्परागत वास्तुकलाले भरिएको सहरको रुपमा चिनाउन सकिन्छ । स्थानीयको सहयोग त्यसमा पनि काम थालेका छौँ ।

फोटो/भिडियो: शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment