२४ पुस, विराटनगर । तेल चोरी प्रकरणको छानबिनमा दोषी देखिएका टयाङ्करमाथि गरेको कारबाही फुकुवा भएको छ ।
पेट्रोलीयम ढुवानी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएपछि नेपाल आयल निगमले तेल चोर्ने ट्याङकरलाई गरेको कारवाही नै फुकुवा गरेको हो ।
गत मंसिर पहिलो साता भारतीय आयल कर्पाेरेसनको बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्याङ्कर नापचाज गर्दा ८३ सेन्टिमिटर (२४८४ लि.) डिजेल चोरी भएको थियो ।
चोरी प्रकरणको छानबिनका लागि नेपाल आयल निगमले उपनिर्देशक अञ्जना पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिको प्रतिवेदनका आधारमा चोरीमा संलग्न ट्याङ्कर चालक धर्मेन्द्र स्वर्णकार र चोरीमा संलग्न ट्याङ्करलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध लगाइएको थियो । ढुवानीकर्ता सुकदेव सिंहका १३ वटा ट्याङ्करको आयल निगमले तीन महिना ढुवानी इजाजत खारेज गरेको थियो । तर व्यवसायीले आन्दोलनको चेतावनी दिएपछि आयल निगम कारवाही गर्न पछि हटेको हो ।
आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले १३ वटा ट्याङ्करलाई लगाएको तीन महिने प्रतिबन्ध फकुवा गरिएको जानकारी दिए । ‘चोरीमा संलग्न ट्याङकरलाई कारवाही गरेकै छ’ उनले भने ‘१३ वटालाई लगाएको तीन महिने प्रतिवन्ध मात्र फुकुवा भएको हो ।’
तेल बोक्न ठप्प पार्ने चेतावनी दिएपछि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) दिएको उनले बताए । आयल निगमले तीन महिनाका लागि लगाएको प्रतिबन्ध फुकुवा भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले जानकारी दिए ।
तेल चोरी प्रकरणको छानबिन प्रतिवेदन नेपाल आयल निगमभित्रै गुपचुप राखिएको छ । इन्धन चुहावट नियन्त्रण गर्न जडान गरिएको आधुनिक लकिङ सिस्टम छलेर भएको चोरी प्रकरणमा आयल निगम प्रादेशिक कार्यालय विराटनगरका निर्देशक दिनेश यादवको नाम जोडिएपछि प्रतिवेदन नै गुपचुप राखिएको हो ।
प्रतिवेदनका आधारमा ट्याङ्करलाई लगाइएको प्रतिवन्ध फुकुवा भएको बताउदै गोइतले कर्मचारीको संलग्नताको बिषयमा थप छानबिन भइरहेको जानकारी दिए ।