Comments Add Comment

प्रधानमन्त्री संसदमा जवाफ नदिई भाग्न पाउनुहुन्न : सचेतक भुसाल

२४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभाकी सचेतक पुष्पा भुसालले सरकारले आफूहरुसँग सहकार्य गर्न नचाहेको आरोप लगाएकी छिन् ।

साथै सदन प्रमुख प्रतिपक्षी दलको हुने भन्दै उनले प्रधानमन्त्रीले सार्वजनिक महत्वको प्रस्ताव राख्दा प्रश्न गर्न पाउनु पर्ने बताइन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भुसालले भनिन्, ‘सभामुख पनि संसदीय भावनाअनुसार अघि बढ्नुपर्छ । प्रक्रियाको कुरा हो भने पनि सांसदहरुले प्रश्न सोध्ने अधिकार छ ।’

आफूहरुले सांसदहरुले प्रश्न गर्न पाउनुपर्छ भनेर संसदको सर्वोच्चताका लागि लडेको उनले जिकिर गरिन् । उनले भनिन्, ‘सभामुख कृष्णबहादुर महरासँगको अनौपचारिक छलफलमा पनि प्रश्नोत्तर गरौं भन्ने सहमति भएको थियो तर, पछि उहाँले प्रश्नोत्तर गर्न दिनुभएन ।’

प्रधानमन्त्रीले संसदमा जवाफ नदिई भाग्न नपाउने बताइन् । उनले भनिन्, ‘अब यसको निकास भनेको सभामुखको हातमा छ । संविधान र प्रतिनिधिसभा नियामावलीलाई गलत नजिर नबनाऔं ।’ भुसालले प्रधानमन्त्रीबाट जवाफ नआएसम्म र आफूहरुले प्रश्न गर्न नपाएसम्म सदन सूचारु गर्न सहयोग गर्न नसकिने पनि चेतावनी दिइन् ।

सत्तारुढ नेकपाका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले भोलि सदन सञ्चालन हुने स्पष्ट पारे । सदनलाई मर्यादित बनाउने कुरामा दुईमत नरहेको बताउँदै उनले भने,‘सदन सुचारु हुन्छ । सदन समस्याको समाधान गरेर अघि बढ्छ ।’

राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सभामुखले बीचको बाटो तय गरेर सदन सञ्ञचालन गर्नुपर्ने धारणा राखे । उनले आइतबार संसदमा भएको घटनालाई दुर्भाग्यको संज्ञा दिएका छन् । कर्णले भने,‘सभामुखले पनि केही न केही गल्ती गर्नुभएकै हो । पार्टीको तर्फबाट पनि केही गल्ती भएको हो । अब बीचको बाटोबाट जानुपर्छ ।’

प्रधानमन्त्रीको सम्बोधनबाट आफूहरुले धेरै आशा गरेपनि आशातित सम्बोधन नआएको गुनासो पोखे । उनले भने,‘रेल कहिले आउँछ ? पानीजहाज कहिले चल्छ ? भन्ने कुरा अहिले जनताको चासाको विषय होइन, बरु रोजीरोटी र घरद्धारको जनतालाई चिन्ता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment