Comments Add Comment

अप्रत्यासित हारले मनाङको ‘सेलिब्रेसन’ खल्लो

२४ पुस, काठमाडौं । ‘च्याम्पियन भइसकेका थियौं । त्यसैले आज इतिहास रच्न चाहन्थ्यौं तर, त्यसो हुन सकेन । लिग जितेर पनि के नपुगेको जस्तो भइरहेको छ’ ए लिभिजिन लिगको उपाधि उचाल्नुअघि मनाङ मस्र्याङ्दीका प्रशिक्षक सुमन श्रेष्ठले भने ।

दुई खेल अघि नै लिग जितेको मनाङसामू मंगलबार सातप्रतिशत जितका साथै लिग टुंग्याउने अवसर थियो । यो आफैंमा एउटा दुर्लभ कीर्तिमान समेत हुने थियो ।

तर, मनाङले अंकतालिकाको पुछारतिर रहेको फ्रेण्ड्स क्लबसँग १–० को अप्रत्यासित हार व्यहो¥यो । एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको थियो । तर, इन्जुरी टाइममा अन्त्यतिर विकास लामाले हेड गोल गर्दै फ्रेण्ड्सलाई अप्रत्यासित जित दिलाए ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको मनाङले गोलका केही अवसर भने निकालेको थियो । पहिलो हाफको अतिरिक्त समयमा मनाङका विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्न सफल भए । तर असिस्टन्ट रेफ्री नानीराम थापाले अफ साइडको संकेत देखाएपछि त्यसले मान्यता पाएन ।

दोस्रो हाफमा आक्रामक खेलेको मनाङका लागि ५५औं मिनेटमा कमल श्रेष्ठले निकै अगाडि बढेर निकालेको क्रसलाई गोल गर्ने अवसर ओलावालेले चुकाए । उनको हेडर बल पोष्टको केही माथिबाट बाहिरिएको थियो ।

मनाङका लागि अञ्जन विष्टले पटक पटक प्रहार गरे पनि सफल हुन सकेन । ७७ औं मिनेटमा वान भर्सेस वान कै स्थितिमा बल प्रहार गरे पनि पोष्टभन्दा माथिबाट बल आकासिएको थियो ।

७९ औं मिनेटमा अञ्जनले नै फ्रेन्ड्सका किपर देव लिम्बु विट भइसकेको अवस्थामा पनि गोल गर्न सकेनन् । मनाङले अन्तिम समयमा निकै आक्रामक खेल्दै गोल गर्ने रणनीति बनाउँदा गोल खाने जोखिम पनि उत्तिकै थियो । किनभने मनाङका डिफेन्डर सबै अघि बढेका थिए ।

एकपछि अर्को गोल गर्ने अवसर मनाङले गुमाउँदा इन्जुरी टाइममा फ्रेण्ड्सको भने भाग्य चम्कियो । करिब मध्यभागबाट फ्रिकिकबाट आएको बललाई विकास लामाले हेडर गोल गर्दै मनाङमाथि शनसनीपूर्ण जित निकाल्न सफल भए ।

यो नतिजा मनाङको लागि लाजमर्दो थियो भने, फ्रेन्ड्स क्लबको लागि आश्चार्यजनक ।

‘एक प्रतिशत पनि सोचेका थिएनौं कि बराबरी वा हार होला भनेर’ प्रशिक्षक श्रेष्ठ भन्छन् ।

उनको दाबी यसअर्थमा स्वभाविक थियो कि चिरप्रतिद्वन्द्वी थ्रीस्टारलाई हराएपछि उपाधि होडमा एक कदम अगाडि देखिएको मनाङले एकपछि अर्को बलियो टिमलाई पाखा लगाएको थियो । अर्कोतिर फ्रेण्ड्सले मात्र दुई खेल जितेको थियो भने ३ बराबरी खेल्दा ७ वटा खेल गुमाएको थियो । तर, मंगलबार आफ्ना खेलाडीहरुले सोचेअनुसार खेल्न नसकेको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

मनाङको प्रदर्शन पहिलो हाफमा कमजोर थियो । दोस्रो हाफमा केही अवसर सृजना गरेपनि गोल गर्न सकेन । इन्जुरी टाइममा फ्रेण्ड्सलाई लक लाग्यो ।

प्रशिक्षक श्रेष्ठका अनुसार अन्तिम खेलको तयारीमा पनि केही कमजोरी भएको छ । पानी परेका कारण राम्रोसँग अभ्यास भएन । फुटसलमा खेलेर सेट बनाएका थिए तर, त्यो फ्रेण्ड्सलाई हराएर लिगमा नयाँ रेकर्ड बनाउन पर्याप्त रहेन ।

हारपछि केही निराश देखिएका मनाङका प्रशिक्षक श्रेष्ठ मात्र होइन, कप्तान कप्तान विराज महर्जन अन्तिम खेलको परिणामले उत्साह केही कम गरेको स्वीकार गरे । ‘फ्रेन्ड्सलाई हराउँदै रेकर्ड राख्ने अवसर थियो तर, सफल भएनौं’ उनले भने ।

अन्तिम खेल गुमाउँदा मनमा केही खिन्नता भएपनि मनाङ खेलाडी, प्रशिक्षक र कोचिङ स्टाफहरुले ए डिभिजन लिगको ट्रफी हातमा लिएपछि सेलिब्रेसन गरे ।

३६ अंकसहित लिग च्याम्पियन बनेको उसले नगद ५० लाख रुपैयाँ समते हात पारेको छ । २८ अंकसहित उपविजेता बनेको संकटाले ३५ लाख हात पार्दा २६ जोडेर तेस्रो स्थानमा चित्त बुझाएको थ्रीस्टार क्लबले २५ लाख पाएको छ ।

ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेलेको न्युरोड टिम (एनआरटी) भने पुछारमा रह्यो ।

विकास बने उत्कृष्ट युवा खेलाडी

लिगमा बेष्ट गोलकिपरमा मनाङका विशाल राई घोषित बने । डिफेन्डरमा थ्रीस्टारका रञ्जित धिमाल हुँदा उत्कृष्ट मिड्फिल्डर भने मनाङकै हेमन गुरुङ बनेका छन् ।

उत्कृष्ट फरवार्डमा आर्मीका भरत खवास रहे भने उत्कृष्ट प्रशिक्षकमा भने मनाङका सुमन श्रेष्ठ चुनिए ।

विधागत उत्कृष्ट सबैले हुनेले सबैले नगद  ५० हजारसहित एक–एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

फेयर प्ले अवार्ड ब्रिगेड ब्वाइज क्लबले जित्न सफल भएको छ । ब्रिगेडले एक लाख नगद प्राप्त गरे । यस्तै नेपाली म्याराडोनाको नामले परिचित स्वर्गीय मणी शाहको नाममा सुरु गरिएको उत्कृष्ट युवा खेलाडी अवार्ड भने आर्मीका विकास खवासले पाएका छन् । उनले नगद एक लाख पाएका हुन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment