Comments Add Comment

अस्ट्रेलियामा दुई सामाजिक नायकको भावपूर्ण बिदाइ

सिड्नी । अस्ट्रेलियामा न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियाको समयान्तर आधा घण्टाको छ । संयोग नै मान्नुपर्छ कि अस्ट्रेलियाको दुई फरक स्थानमा जीवनको अन्तिम सास लिएका नेपाली समुदायका हिरोहरुको मंगलबार साँझ दुवै शहरमा उही समयमा उच्च स्मरण गरिएको छ ।

उनीहरुको सम्मानमा सिड्नी र एडीलेडमा सयौं नेपाली र अस्ट्रेलियनहरु उपस्थित भए । सिड्नीमा जनवरी ४ को बिहान सबेरै निधन भएका युवा समाजसेवी मनिष सुवेदीको मंगलबार दिउँसो अस्ट्रेलियामै अन्तिम संस्कार गरिएको थियो भने एडिलेडमा गत डिसेम्बर २८ मा निधन भएका निश्चल घिमिरेको जनवरी ६ मा नेपालमा अन्तिम संस्कार गरिएको थियो ।

अस्ट्रेलियामा मनिष र निश्चलले गरेका कामका लागि उनीहरुको सम्मानमा मंगलबार सयौं शिरहरु झुके र उनीहरुका फोटो अगाडि पुष्पगुच्छा अर्पण गरे । दुवै शहरमा मंगलबार सूर्यास्त भएपछि उनीहरुको सम्मानमा सयौं मैनबत्तीहरु बालिए । उनीहरुको सम्मानमा केही घण्टासम्म निरन्तर बलेर पग्लिएका मैनबत्तीहरुले सहभागी सबैलाई मनिष र निश्चल जस्तै समाजका लागि दीपक बन्न प्रेरणा दिइरहेका थिए ।

यो पनि पढ्नुहोस मनिष सुवेदीः आफू बिते, तर क्रियाशील जीवन बाँच्ने प्रेरणा दिएर गए

सिड्नीमा मंगलबार साँझ आयोजित मनिष स्मृति समारोहलाई उनका साथीहरुले दुर्दान्त पीडाहरु बीच पनि रमाउन सक्ने मनिषको बिदाइको उत्सव भने । ‘हामी जति रोयौं आज दिउँसो उनको शव दफ्नाउँदा रोइ सक्यौं, अब मनिषले हामीलाई पीडामा पनि आफूजस्तै खुशी हुन प्रेरित गरेका छन् । हामी उनको यो भब्य बिदाइमा उनी जस्तै खुशी बनौं,’ स्मृति समारोह सुरु गर्न स्टेजमा उक्लेका मनिषका साथि दीपक ज्ञवाली शोकलाई शक्तिमा बदल्न कोशिस गर्दै भन्दै थिए ।

६ वर्षअघि क्यान्सरको बिरामलाई पराजित गरेका ३१ वर्षीय मनिष सुवेदी पछिल्लो ६ वर्ष अस्ट्रेलिया र नेपालमा सक्रियरुपमा क्यान्सरको बिराम बिरुद्धको अभियानमा थिए । उनले अस्ट्रेलियाको नेपाली समाजलाई जुनसुकै प्रकारको पीडा र दुःख हाँसेर लड्न प्रेरित गरेका थिए ।

स्मृति समारोहमा जब मनिषसँगै सामाजिक काममा खटेकी रजनी अर्यालले मनिषबाट आफूले जीवनलाई क्रियाशील र आशावादी बनाउन सिकेको बताइन् तब सबैको अनुहारमा केही समयका लागि शोक हरायो ।

मनिषबाटै समाजसेवाका लागि प्रेरणा लिएर आफ्नो कलालाई सेवामा रुपान्तर गरेको कलाकार उषाकिरण बारिया पोखरेलले बताएपछि सबैलाई आ–आफ्नो जीवनको पुनःपरिभाषा गर्न प्रेरित गर्‍यो ।

मनिषकी आमा राधा सुवेदी जब समारोह आफ्ना मन्तब्य राख्न उभिइन् तब त्यहाँ स्तब्धता छायो । तर जब उनले बोलिन् सबैले भने– कति बलियो मन कि आमा । उनले भनिन्, ‘मनिषलाई अस्ट्रेलियाको अस्पतालले पुनर्जन्म दियो म नर्थ शोर अस्पताललाई धन्यवाद दिन्छु र यहाँ उपस्थित भएका सबैलाई विशेष धन्यवाद दिन्छु कि मनिषको अभावमा म तपाईंहरु सबैलाई सम्झने छु ।

आफ्नो छोरी नभएको भन्दै उनले मनिष कि जीवन संगिनी मिलिनासँग आफ्नो छोरीसरह सधैं सँगै रहने बताइन् ।

मनिषकी जीवन संगिनी मिलिनाले आफूले एक प्रिय साथी र श्रद्धेय श्रीमान गुमाए पनि उनका सपनाहरु नगुमाएको बताइन् र भनिन्, ‘म समाजको सेवा गर्ने उनका सपना र बाँकी योजना पूरा गर्न मनिषजत्तिकै जागरुकका साथ लाग्ने छु ।’

मनिषसँगै समाज सेवामा खटेका सामाजिक कार्यकर्ता रेमण्डले उनीसँग बिताएका क्षणहरु सम्झिदै उनबाट अथाह उत्प्रेरणा, महान आशा र निरन्तर लगाव आफूले सिकेको ज्ञान भएको बताए ।

मनिषसँगै उत्तरी शहर डार्विनमा अस्पतालमा सँगै बिताएका उनका अर्का साथी अंगसले मनिषलाई गुमाउँदा आफू निकै पीडित भएको बताए । उनी अस्ट्रेलियामा तीन पटक क्यान्सर पराजित गरेका युवा हुन् । मनिषको स्मृति सभामा सहभागी हुन उनी चार घण्टा लामो हवाई यात्रा गरेर सिड्नी आइपुगेका थिए ।

स्मृति समारोहमा मनिषलाई मनपर्ने गीत बजाइयो, कविता र भावनाहरु श्रद्धाञ्जली स्वरुप व्यक्त गरियो अनि मनिषको अंग्रेजी नामको पहिलो अक्षेर ‘एम’ आकारमा जलिरहेका मैनबत्तीसँगै उभिएर सामुहिक तस्विर खिच्दै सबैले बाचा गरे– ‘मनिष क्यान, वी क्यान’ अर्थात मनिषले सबै पीडाहरु पराजित गरेर सामाजसेवामा सक्रिय जीवन बाच्न सक्छ भने हामी पनि सक्छौं ।

सहभागीहरुले मनिषको समाजसेवी अभियानलाई कुनै कल्याणकारी कोष निर्माण गरी जारी राख्ने बताएका छन् ।

उता मंगलबार साँझ दक्षिण अस्ट्रेलियाको एडीलेडस्थित ग्लेनेग समुद्रीतट जहाँ डिसेम्बर २७ मा एक १० वर्षीय शारीरिक रुपमा अशक्त अस्ट्रेलियन बालकलाई बचाउन खोज्दा समुद्रमा डुबेर निधन भएका २२ वर्षीय नेपाली युवा निश्चल घिमिरेको सम्झनामा एक स्मृति सभाको आयोजना गरियो ।

दक्षिण अस्ट्रेलियाको सरकारका प्रतिनिधिहरु, त्यहाँको संसदका सदस्यहरु, राज्य प्रहरी अधिकारीहरु, निश्चलले बचाएका बालकका आफन्तहरु र एडीलेड निवासी सयौं नेपालीहरु उक्त स्मृति सभामा सहभागी भए ।

समुद्री किनारमा नेपाल र अस्ट्रेलियाको झण्डाको बीचमा निश्चलको तस्बिर राखिएको थियो र तस्वीर अगाडि लाम लागेका शोकमग्न मानिसहरुले उनको नाममा मैनबत्तीहरु बालेर आत्मा शान्तिको कामना गरेका थिए ।

उक्त स्मृति समारोहमा दक्षिण अस्ट्रेलियाका सरकारी अधिकारीहरु तथा सांसदहरुले नेपाली समुदाय र निश्चलको परिवारलाई समवेदना दिँदै निश्चलको बहादुरीको अस्ट्रेलियाले सधैं सम्मान र सम्झना गरिरहने बताए ।

दक्षिण अस्ट्रेलियाका लागि नेपालका महावाणिज्यदूत दीपक धमलाले नेपाल सरकार तथा एडीलेडबासी नेपालीहरुका तर्फबाट निश्चलको खोजीमा अहोरात्र खट्ने दक्षिण अस्ट्रेलियाको प्रहरीलाई धन्यवाद दिए । उनले भने, ‘निश्चल हराएको खबर फैलिएपछि अस्ट्रेलियाका बिभिन्न सरकारी निकाय तथा समुदायबाट मैले चासोसहित सहयोगका सयौं टेलिफोन पाएँ, म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

उनले अन्तमा भने, ‘हाम्रो समुदायका असल साथी हामीले गुमाएका छौं । हामी शोकमा छौं, उनको परिवार र सबैप्रति समवेदना छ ।

अस्ट्रेलियास्थित नेपाली दूतावास क्यानबेराले आफ्नो सामाजिक सन्जाल फेसबुक पेजमा मंगलबार एक शोक सन्देश प्रकाशित गर्दै पछिल्ला केही हप्तामा निधन भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

दूतावासले भनेको छ– हामी पीडापूर्वक समवेदनाका केही हरफहरु लेख्दै छौं कि दूतावासले पछिल्ला केही समययता बिभिन्न कारणले युवा नेपाली विद्यार्थीहरुको निधन भएको खबर सार्बजनिक भएका छन् । हामी डिसेम्बर ६ मा निधन भएका मिलन तामाङ, डिसेम्बर २२ मा निधन भएकी स्मृति आलेमगर, डिसेम्बर २८ मा निधन भएका निश्चल घिमिरे र यो वर्षको सुरुमै जनवरी ४ मा निधन भएका मनिष सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।

दूतावासले केही नेपालीहरु अझै अस्पतालमा उपचाररत रहेको थाहा पाउँदा दुःख लागेको बताउँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । साथै सबैको सहयोगका लागि खटेका गैरआवासीय नेपाली संघ लगाएत संस्थाहरु र अस्ट्रेलियाको नेपाली समुदायलाई धन्यवाद दिँदै कन्सुलर सेवा चाहिएमा दूतावास र राज्यहरुमा भएका कन्सुलर कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment