Comments Add Comment

‘क्रिसमस टोपी’ बारे श्रृंखलाले भनिन् : रमाइलो गरेको हो, धर्मप्रचार होइन

मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् ।

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् । उनले गाउँलेहरुका लागि ब्ल्यांकेट, लुगाफाटासहितका सामग्री लगेकी थिइन् । सार्वजनिक भएको तस्वीर त्यही वितरण गर्दाको हो ।

तस्वीरमा उनी सोलार बत्तीको उज्यालोमा क्रिसमस टोपी लगाएर गाउँका बच्चाहरुसँग रमाइरहेकी देखिन्छिन् । बच्चाहरुले पनि क्रिसमस टोपी लगाएका छिन् । यसैलाई लिएर कतिपयले ‘मिस नेपालले क्रिस्चियानिटीको प्रचार गरेको’ भन्दै आलोचना गरेका हुन् ।

तर, श्रृंखलाले भने धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् । अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा उनले भनिन्, ‘थेम्स कलेजका केही विद्यार्थीहरुले बच्चाहरुलाई सानो उपहारका रुपमा ती टोपीहरु उपलब्ध गराउनुभएको हो । त्यसलाई मैले बाँडेकी हुँ । बच्चाहरु रमाए । के गल्ती भयो ?’

‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु,’ श्रृंखलाले थपिन्, ‘धर्मनिरपेक्ष मुलुकमा क्रिसमस टोपीलाई लिएर विवाद गर्नु आवश्यक छैन । फेरि यो कुनै क्रिस्चियन संस्था वा आइएनजीओले प्रायोजन गरेको पनि होइन ।’

इन्टाग्राममा श्रृंखलाले उक्त अवसरको तस्वीर राख्नासाथ धेरै प्रतिक्रियाहरु आएका थिए । कतिपयले उनको शैलीबाट दुखी भएको बताएका छन् भने कतिपयले उनको बचाउ गरेका छन् । एकजनाले लेखका छन्, ‘क्रिसमस टोपीले बच्चाको जाडो थेग्छ ? न्यानो टोपी दिएको भए हुन्थ्यो नी ।’ यद्यपि, श्रृंखलाले ब्ल्याङ्केट र न्यानो कपडाहरु पनि बाँडेकी थिइन् ।

गाउँमा श्रृंखलाले एउटा हेल्थपोष्ट निर्माण गर्दैछिन् जसको फिनिसिङको काम भइरहेको छ । उनले तीन महिनाभित्र हेल्थ पोष्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइन् । साथै उनी गाउँमा चाँडै बिजुली बत्ती पुर्‍याउन पनि प्रयासरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment