Comments Add Comment

चिकित्सा शिक्षा विधेयकमा योगेश भर्सेस गगन

२५ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । नेकपा सांसदहरुले बहुमतका आधारमा पास गरेको प्रतिवेदनमा कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् ।

त्यसअघि डा. गोविन्द केसीसँग छलफल गरेर सहमति जुटाउने जिम्मा पाएका दुई नेता नै दुई किनारामा उभिए । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापा र नेकपाका योगेश भट्टराईलाई सहमतिको जिम्मा दिइएको थियो ।

बैठकको सुरुमा सभापति जयपुरी घर्तीले दुई नेतालाई सहमति जुट्यो त भनेर सोधेकी थिइन् । तर, उनीहरुबीच छलफल नै भएको थिएन । बरु बैठकमा दुबै नेताले आआफ्नो अडान राखे । एकअर्काको नाम त लिएनन्, तर जुहारी नै खेले ।

यो बहस हेर्दा यस्तो लाग्यो, चिकित्सा शिक्षा विधेयकमा योगेश भर्सेस गगन भिडेका छन् ।

पछिल्लो पटक डा. गोविन्द केसीले समितिमा भइरहेको बहसबारे पत्रकार सम्मेलन गरेर योगेश भट्टराईको आलोचना गर्दा गगनको प्रशंसा गरेका थिए ।

गोविन्द केसीको जित कि धोका ?

सत्तारुढ नेकपाका सांसद भट्टराईले समितिको निर्णयसँगै डा. केसीको जित भएको दाबी गरेका छन् । कांग्रेस सांसद गगनले भने डा. केसीलाई धोका भएको टिप्पणी गरे ।

विधेयक पारित गर्दा सरकार सहमति कार्यान्वयन गर्न चाहन्छ भन्ने लागेको भन्दै गगन थापाले भने, ‘मन्त्रीजीले विषय राखेपछि प्रष्ट भएँ कि सरकारको चाहना नै अहिले जसरी विधेयक पारित हुँदैछ, त्यस्तो होस् भन्ने रहेछ । बरु अचम्म के कुरामा लागेको छ भने सरकारले (डा. केसीसँग) सहमति किन गर्‍यो ?’

लगत्तै उनले नेकपा सांसदहरुको जोडबलमा विधेयकमा थपिएका बुँदाहरुमा फरक मत राखे ।

विधेयकको प्रस्तावनामा माथेमा कार्यदलको मर्म र भावना भन्ने शब्द राख्नुपर्ने र एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने उनको मत छ । पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने व्यवस्था उपत्यका बाहिरको हकमा यो लागू नहुने व्यवस्थाले नियमानकारी निकायलाई थप अस्तव्यस्त बनाउनको उनको तर्क छ ।

डा. केसीसँग भएको सहमतिले उपत्यका बाहिर मेडिकल कलेज खोल्न रोक्यो भन्ने ( नेकपा सांसदहरुको) तर्क गलत भएको उनको जिकिर छ । ‘अहिले पनि सरकारले पूर्वाचल विश्वविद्यालयबाट सम्बन्धन दिने व्यवस्था गर्ने हो भने इलाममा तुरुन्त र पश्चिमाञ्चलमा केही समयमा खोल्नसक्छ’ उनको दाबी छ ।

चिकित्सा शिक्षा आयोगको ऐनमै चिकित्सा विश्वविद्यालय खोल्ने व्यवस्था गर्नु आयोग चाहिँदैन भन्नु सरह भएको पनि उनले बताए । मेडिकल कलेजहरु गैरनाफामूलक हुने व्यवस्था स्वागत योग्य भए पनि त्यसमा केही संशोधन गर्नुपर्ने उनको तर्क छ । एकातिर मेडिकल कलेज गैरनाफामूलक भनेर लेख्ने र अर्कोतिर उपत्यका बाहिर आजै मेडिकल कलेज खोल्ने बाटो खोल्ने र त्यो चाहिँ नाफामूलक हुने व्यवस्था गर्नु उपयुक्त नभएको भन्दै उनले फरक मत राखे ।

त्यसपछि बोलेका भट्टराईले गगनको नाम त लिएनन् तर, उनलेका फरक मतको खण्डन गरे ।

‘डा. गोविन्द केसीसँग भएको सहमति तोडमोड गर्‍यो कि भन्ने शंका लागेको छ, त्यो होइन’ उनले भने, अब विगतमा जस्तो बाटाबाटै सम्बन्धन बाँडेर मेडिकल शिक्षालाई व्यापार बनाउने कुरा यो विधेयकले सम्पूर्ण ढंगले रोकेको छ ।’ यसका लागि एक विश्वविद्यालयले पाँच भन्दा बढी दिन नपाउने, काठमाडौंभित्र १० वर्षसम्म सम्बन्धन दिन नपाउने र सम्बन्धन पाएकाले पनि मापदण्ड पुरा गरेका छैनन् भने खारेज हुने व्यवस्था गरिएको उनले बताए ।

उनले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था उपत्यका बाहिरको हकमा लागू नहुने प्रावधानको बचाउ गरे । भट्टराईले भने, यो विधेयकले सम्बन्धन दिन चाहन्छ कि चाहँदैन भन्ने अधिकार विश्वविद्यालयलाई दिएको छ । उसको स्वायत्त अधिकार पनि हो ।’

मेडिकल शिक्षा पढ्न विदेशमा अर्बौ रकम गइरहेको भन्दै उनले नेपाली लगानीकर्तालाई सिस्नु पानी हानेर लखेट्ने राष्ट्रघाती भएको टिप्पणी समेत गरेका छन् । डा. केसीलाई धोका भएको भन्दै गगनको दाबी खण्डन गर्दै उनले भने, ‘उहाँले भने अनुसार काननु बनेको छ । ससदले उहाँलाई जिताइसक्यो, फूलमाला लगाइसक्यो । उहाँले पनि संसदको सर्वोच्चता र प्रक्रिया स्वीकार गर्नुपर्छ ।’

गगनले गुहारे प्रधानमन्त्री

नेकपा सांसदहरुले बहुमतको आधारमा डा. केसीसँग भएको सहमति तोडेपछि कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेका छन् ।

उनले समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन ओलीलाई आग्रह गरे । संघीय संसद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘त्यहीँ सरकार, जसले डा. केसीसँग सम्झौता गर्‍यो, सम्झौताको पाठ संसदमा पढ्यो, अहिले आएर हाँसी–हाँसी त्यसको खिल्ली उडायो ।’

केही व्यापारिक मानिसहरुको स्वार्थमा विधेयक पास भएको भन्दै कांग्रेस सांसद थापाले त्यसलाई सच्याउन संसदको फूल हाउसमा लडाई जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment