Comments Add Comment

कालीकोटको रास्कोटमा २२२ रोपनीमा बन्ने भयो सामुदायिक अस्पताल

२९ पुस, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ ।

रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, अभियन्ता रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिम्खडाले संयुक्तरुपमा अस्पातल निर्माण अभियानको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा कानूनमन्त्री भण्डारीले ३६ वर्ष मात्र आयु भएका कर्णालीका नागरिकको पीडा र आँसुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताए ।

प्रदेशका १० जिल्लाका नागरिकलाई सो प्रतिष्ठानले स्वास्थ्य सेवा दिइरहेको छ । नयाँ स्थापना हुने सो अस्पतालका लागि प्रतिष्ठानले जनशक्ति उपलब्ध गर्ने मन्त्री भण्डारीले आश्वासन दिए । अस्पताल निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

पत्रकार तथा अभियन्ता लामछिानेले यार्सागुम्बा बेच्ने तर सिटामोलका लागि तड्पिने कर्णालीवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पताल निर्माण अभियानमा लागेको बताए ।

कार्यक्रममा नगर प्रमुख बरालले अनुमानित १० करोड लागतमा अस्पताल निर्माण गरिने बताए । स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने बताउँदै उनले सो अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराए ।

प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही, सोशिला शाही, प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावल, अस्पताल निर्माण अभियानका सदस्य डा. मुकुल ढकालसहितले निर्माणकार्य अभियान उदाहरणीय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment