Comments Add Comment

जब रमितलाई छुन दर्शकले सिनेमा हलको पर्खाल भत्काएका थिए

चलचित्र क्षेत्रमा आएपछि ‘अप्सरा’ उपनाम पाइसकेकी सुन्दर नायिका संचिता लुइटेलसँग लामो कपाल पालेको एक यूवाले ‘माया नमार’ भन्दै हात फैलाउँदा हजारौ दर्शकलाई भुतुक्कै बनाएको थियो । चलचित्रको पर्दामा संचिताको प्रेममा परेको उक्त यूवाले पहिलो चलचित्रबाट नै हजारौ दर्शकलाई आफ्नो फ्यान बनाइसकेको थियो । उनै, यूवालाई दर्शकले नायक रमित ढुंगानाको नामले चिन्न थाले । जसले केहीबर्ष चलचित्र क्षेत्रमा आफ्नो दबदबा कायम गरेका थिए ।

निर्माता बन्न आएका राधेश्याम
कुरा, वि.सं २०६० सालको हो । सिनामंगलमा रहेको जग्गा बेचेर निर्माता बन्न चलचित्र क्षेत्रमा आएका थिए राधेश्याम ढुंगाना । राधेश्यामका दाई अमित ढुंगाना चलचित्रमा काम गरिरहेको भएर उनी यस क्षेत्रसँग नजिक थिए, तर उनको सोच चलचित्रमा लगानी गर्ने थियो । दाईसँग मिलेर चलचित्र निर्माण गर्ने भएपछि रमित निर्माता बन्न यस क्षेत्रमा आएका थिए । तर, चलचित्रका लागि छानिएका नायकले समय नदिँदा रमित चलचित्रको नायक बन्न पुगे । निर्माता बन्न आएका राधेश्याम पछि गएर चकलेटी नायक रमित बन्न पुगे ।

रमितले अभिनय गरेको पहिलो चलचित्र थियो, ‘माया नमार’ । यो चलचित्रमा नायक राजेश हमाल र उनका दाई अमित ढुंगानाको पनि अभिनय छ । रमित संझन्छन्–‘‘यो चलचित्रको लागि छानिएका कलाकारले समय नदिदा मैले नायक बन्ने अवसर पाएको थिएँ । राजेश दाई र अमित दाईले ‘तिमी हिरो बन’ भनेर प्रेरणा दिएपछि मैले पनि आँट गरेको थिएँ ।’

चलचित्रमा अभिनय गर्ने पक्का भएपनि रमित आफूलाई अभिनय कसरी गर्ने थाहा नभएको बताउँछन् । झन्, उनी राजेश हमालको बिग फ्यान । राजेश हमालकै अगाडि अभिनय गर्नुपरेपछि त उनको पसिना नै छुटेको थियो । उनी संझन्छन्–‘म राजेश दाईको बिग फ्यान थिएँ । उहाँसँग काम गर्नुपर्ने भनेपछि म निकै डराएको पनि थिएँ ।’ पछि राजेशले नै उनलाई चलचित्रमा काम गर्न हौसला दिए ।

‘माया नमार’बाटै स्टार
चलचित्र ‘माया नमार’मा समावेश ‘सुसेलीले बसन्तलाई’ बोलको गीत सार्वजनिक हुँदा उनले गाली र ताली दुबै पाएका थिए । तर, उनलाई आफ्नी आमाले भने खुबै गाली गरिन् । रमित भन्छन्–‘तर, घरमा किन हिरो बनाएको भनेर धेरै गाली गर्नुभयो ।’

तर, चलचित्रमा समावेश दोश्रो गीत ‘मुग्लिन पारी तरेर गण्डकी’ बोलको गीत सार्वजनिक भएपछि रमितलाई प्रशंसाको ओइरो नै लाग्यो । पहिलो गीतमा उनले आमाको गाली खादा चलचित्रमा किन आएछु भन्ने सोचेका थिए । तर, दोश्रो गीतपछि उनको हौसला बढेर गयो ।

चलचित्रले निकै राम्रो व्यापार गर्न सफल भयो । यो चलचित्रले धेरै वटा हलमा ५१ दिन मनाएको थियो । सोच्दै नसोचेको सफलता पाएपछि रमित पनि खुशी भए । ‘कसैले नचिनेको मान्छे देशभरका दर्शकको आँखामा परेपछि कसलाई खुशी लाग्दैन र ?’ रमित भन्छन् ।

दर्शकसँग झरेको आँशु
‘माया नमार’ले ५१ दिन मनाएको खुसी साट्न रमित चलचित्रको टिमसँगै मोफसल पुगे । मोफसलमा उनले दर्शकको माया निकै पाए । केही किस्सा उनी यसरी संझिन्छन् :

१.दमक जाँदै गर्दा बर्दिबासमा ३–४ जना युवतीहरु थिए । एक युवती त मलाई देखेपछि ढलिहालिन् । उनी त मेरो विग फ्यान रहिछन् । उनले, जताततै मेरो फोटो सजाएकी रहिछन् । म त छक्क परेँ ।

२. म दमक पुग्दा मलाई छुनको लागि दशर्कले हलको वाल नै भत्काइदिएका थिए ।

३. जब म धरान पुगेँ, त्यहाँका युवतीहरुले मलाई बोकेर रोएका थिएँ । उनीहरु, रोएको देखेर म पनि रोएँ ।’

राजेश दाई मेरो गुरु
रमित नायक राजेश हमाललाई आफ्नो गुरु मान्छन् । रमित भन्छन्–‘एकलब्यको गुरु द्रोणाचार्य हैनन् । तर, उनले अरुलाई सिकाएको देखेर एकलब्यले गुरू मानेका थिए । मैले पनि राजेश दाईको काम हेरेर धेरै कुराहरु सिकेको छु । त्यसैले उहाँलाई म गुरु मान्छु ।’

राजेशले आफ्नो करिअरमा धेरै कुराहरु सिकाएको रमित बताउँछन् । ‘मलाई उहाँले प्रत्यक्ष रुपमा पनि धेरै कुराहरु सिकाउनु भएको छ ।’ रमितले आफूलाई बोल्न अप्ठ्यारो लागेको संवाद राजेशलाई सोध्थे, राजेशले पनि कुनै झन्झट नमानी उनलाई संवाद बोल्ने तरिका सिकाइदिन्थे ।

लामो कपालले बनाएको परिचय
रमितलाई प्राय चलचित्रमा लामो कपालमा देखिन्थ्यो । उनलाई दर्शकले त्यसैमा रुचाएका थिए । रमित पनि आफ्नो लामो कपाल नै परिचय बनेको बताउँछन् । ‘धेरैले मलाई लामो कपालमा नै मन पराउनु भएको थियो । लामो कपाल त मेरो परिचय नै बनेको थियो ।’

रमितले केही चलचित्रमा भने कपाल काटेका छन् । त्यो समय पनि उनलाई दर्शकले निकै रुचाएको दावी गर्छन् । उनी भन्छन्–‘त्यो समय म निकै व्यस्त थिएँ, हलमा मेरो चलचित्र लगतार आइरहेको हुन्थ्यो । त्यसैले पनि दर्शकले मेरो आँखा मात्र हेरेर पनि चिन्नुहुन्थ्यो ।’

दिनमा ५ वटा फिल्मको सुटिङ
रमितको पहिलो चलचित्रबाट नै निकै हाइप बन्यो । चलचित्रका अफरहरु धेरै आए । उनी विगत संझिदै भन्छन्–‘चलचित्र रिलिज नहुँदा नै मलाई अफर खुबै आएको थियो । मैले त्यो समयमा निकै चलचित्र छाडेको छु ।’ रमितले दोस्रो चलचित्रको रुपमा ‘धड्कन’मा काम गरे । उक्त चलचित्रले पनि रमितको उचाई बढाइदियो । तेस्रो चलचित्र ‘मुग्लान’ पश्चात् उनले करिअरलाई पछाडि फर्किएर हेर्नु परेन ।

रमितले २१ वटा चलचित्रसम्म साइन गरेर पाइपलाइनमा राखेका थिए । उनले एकै दिनमा तीन चलचित्रमा साइन गरेको बताए । रमित दिनमा ५ वटा चलचित्रसम्मको सुटिङ भ्याउथे । विहानको सेड्युल काठमाण्डौ हुन्थ्यो भने बेलुका उनी अर्को चलचित्रका लागि पोखरा पुगिसक्थे । काठमाण्डौंमा सुटिङ सकेर पोखरा र पोखराबाट नारायणगढसम्म पुगेको छु’, रमित व्यस्त दिन संझन्छन् ।

‘आलु’ हिरो
रमितलाई ‘आलु’ हिरो भनिन्छ । ‘आलु’ यस अर्थमा कि, उनी जोसँग पनि मिल्थे । हरेक कलाकारको अर्को कलाकारसँग रिसिबी रहेको चर्चा हुन्थ्यो । तर, रमित यस्तो विवादमा मुछिएनन् । उनले समकालीन नायकहरु निखिल उप्रेती, विराज भट्ट लगायत अन्य चर्चित नायकहरुसँग काम गरे । आफ्नो प्रतिस्पर्धा कोहीसँग पनि नभएको उनले बताए ।

रमित हरेक निर्माता तथा निर्देशकको नजरमा पनि पर्थे । उनी जस्तो भूमिकामा पनि काम गर्न सक्ने कलाकार भएका कारण सबैले उनलाई रुचाउथ्य । ‘म एक्सन, कमेडी, लभर व्वाइ , गाउँलेदेखि हरेक क्यारेक्टरमा काम गर्थेँ । त्यसैले होला सबैले मलाई छान्नुहुन्थ्यो ।’

जब राजेश र भुबनलाई मिलाए
‘चोर सिपाही’को सुटिङ सेटमा नायक भूवन केसी र राजेश हमाल सँगै थिए । उनीहरुमा खासै राम्रो बोलचाल थिएन । तर, रमित दुबैसँग मिल्ने र नजिक थिए । रमितलले दुबैलाई मिलाउने कोसिस गरे । उनी सफल पनि भएका थिए ।
‘म राजेश दाई भएको ठाँउमा गएर तपाई त भूवन केसीको फ्यान हैन ? ‘कुसुमे रुमाल’ कति पटक हेर्नु भयो भनेर सोध्थे । दाइले हो भनेपछि भूवन दाइलाई–‘राजेश दाई त तपाइको फ्यान हो रे नी भन्थेँ । यही कुराले राजेश र भूवन दाइलाई मिलायो । पछि कुरा मिलाउँदै गएपछि त उहाँहरु मिलेर मलाई उल्टो जिस्काउन थाल्नुभयो ।’

अहिलेका चलचित्र
रमितको क्रेज अहिले पहिलेको जस्तो छैन । अहिले उनी दिनमै ५ वटा चलचित्रको छायांकनमा व्यस्त हुँदैनन् । तर, पनि उनले चलचित्र भने हेरिरहेका हुन्छन् । उनी अहिलेका कलाकार र प्रविधिको विकासमा खुसी छन् तर, कथा कमजोर बन्दै गएकोमा दुखी पनि । उनले भने–‘हाम्रो समयमा प्रविधी कमजोर तर कथा उत्कृष्ट थियो । अहिले कथा कमजोर बन्न थालेको छ ।’

पहिलेको चलचित्रमा जस्तो अहिले प्रेम, एक्सन, बदला अहिलेको चलचित्रमा नभएको उनको भनाई छ । प्रविधीले मात्र चलचित्र नचल्ने उनी बताउँछन् ।

‘बुद्ध वर्न इन नेपाल’ कमर्सियल थिएन
रमितले केहि वर्ष अगाडि चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ निर्माण गरेका थिए । तर, यो चलचित्रले खासै सफलता पाउन सकेन । रमित यस चलचित्र व्यापारिक हिसाबमा नबनाएको बताउँछन् । उनी भन्छन्–‘बुद्ध नेपालमा जन्मेका हुन् भनेर चिनाउन मात्र उक्त चलचित्र बनाएको हुँ । यसको असफलतामा मलाई गुनासो छैन ।’

उक्त चलचित्र आफ्नो करिअरको सबैभन्दा महत्वपूर्ण चलचित्र भएको रमितले बताए । उनले भने–‘मैले धेरै कमर्सिअल चलचित्रमा काम गरेँ । तर म ‘बुद्ध वर्न इन नेपाल’लाई मेरो बेस्ट चलचित्र मान्छु ।’

अर्को ड्रिम प्रोजेक्ट
रमित अहिले पृथ्वीनारायण शाहको जीवनीमा आधारित रहेर चलचित्र बनाउने योजनामा छन् । यस चलचित्रमा देश एकिकरणको सबै कुराहरु देखाइने उनले सुनाए । उनले भने, ‘देशभक्ती र हाम्रो इतिहासलाई चलचित्रको पर्दामा देखाउन सधै म लागिपरेको हुन्छु ।’ पृथ्वीनारायण शाहको कथामा बन्ने यस चलचित्रको लागि भने केहि समय लाग्ने उनले बताए ।

कुराकानीमा अन्तिममा रमितले थपे–‘एउटा कमर्सियल स्टोरी पनि पढिरहेको छु । चित्त वुझेमा अवश्य गर्नेछु । दर्शकले मलाई दिनुभएको मायालाई कत्ती पनि कमी हुन्न दिन्न । म यो क्षेत्रमा निरन्तर लागिरहनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment