३० भदौ, काठमाडौं । नेकपा एमालेले ग्यास उपलब्ध गराउन नसक्ने सरकारको अयोग्यता छोप्न ‘एमालेले ग्यास लुकायो’ भन्ने भ्रामक प्रचार गरिएको आरोप लगाएको छ ।
मंगलबार एमालेको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक सूचनामा यस्तो आरोप लगाइएको छ ।
‘भ्रममा नपरौं ! दैनिक सामग्रीको आपूर्ति तथा व्यवस्थापन गर्न नसक्ने, कालोबजारी नियन्त्रणमा असफल हुने र जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसक्ने वर्तमान सरकार आफ्नो अयोग्यता र असक्षमता ढाकछोप गर्न गोयबल्स शैलीमा विषयान्तर गर्दै एमालेले ग्यास लुकायो’ भन्ने भ्रामक प्रचारमा उत्रिनु घोर निन्दनीय र जनविरोधी कार्य हो,’ एमालेले भनेको छ ।
‘ललितपुरको पौडेलथरका व्यापारीसँग सम्बन्धित पुरानो र असम्बन्धित भिडियोलाई नेकपा (एमाले) सँग जोडेर पार्टीको बदनाम गर्न खोज्नु सुनियोजित दुष्प्रचार र राजनीतिक षड्यन्त्र हो,’ एमालेले भनेको छ ।
एमालेका कुनै पनि सदस्यले ग्यास लुकाएको भन्ने आरोप पुष्टि गर्ने कुनै तथ्य वा प्रमाण नभएको एमालेको दाबी छ ।
‘पार्टीको प्रतिष्ठामा आँच पुरयाउने उद्देश्यले झुटा सूचना, अफवाह तथा भ्रम फैलाउने व्यक्ति र समूहलाई हामी चेतावनी दिन चाहन्छौं– यस्ता गतिविधि तत्काल बन्द गरियोस्,’ फेसबुकमा सार्वजनिक सूचनामा भनिएको छ, ‘अन्यथा, यस्ता कार्यमा संलग्न जोसुकै भए पनि पहिचान गरी कानुनबमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी तथा निवेदन दायर गरिनेछ । ’
यस्ता भ्रामक कार्यमा संलग्नहरूको कडा डिजिटल निगरानी भइरहेको भन्दै एमालेले चेतावनी दिएको छ ।
‘आम जनसमुदायलाई यस्ता प्रायोजित दुष्प्रचारबाट सचेत रहन हार्दिक अपिल गर्दछौं । सत्यतथ्य बुझौं, भ्रममा नपरौं,’ सूचनामा भनिएको छ ।
प्रतिक्रिया 4