Comments Add Comment

फिल्म प्रचारः निर्माता दंग पर्ने, दर्शकले थाहा नै नपाउने

नेपालीमा एउटा उखान छ, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ । हिजोआज बोलेरै पिठो बिकाउन खोज्नेहरुको बिगबिगी बढिरहेको समयमा चामल बनाउनेहरुले पनि बोल्न आवश्यक छ । अर्थात, कुनै पनि कुराको प्रचार सही तरिकाले भएन भने त्यसले बजार पाउँदैन ।

अझ, दर्शकले ३ सय रुपैयाँ र ३ घन्टा समय बिताउनका लागि कुनै पनि चलचित्रको मेकरले त्यसलाई कती र कस्तो प्रचार गर्नुपर्ने हुन्छ होला, सोचिरहन पर्दैन । स्तरिय चलचित्रको निर्माण हिजोआज जुन तरिकाले हुन आवश्यक छ, त्यस्तै आवश्यकता स्तरिय प्रचारको पनि छ । बाटोमा बसेर कराउँदैमा कसैको पिठो बिक्ने पनि होइन र मौन बस्दैमा कसैको चामल धमाधम विक्री हुने पनि होइन । दुबैका लागि सही तरिका आवश्यक छ ।

कुनै समय थियो, जतिबेला दर्शकको हातमा टीभी, रेडियो, मोबाइल, पत्रिका केही पनि थिएन । तर, पनि हलमा चलचित्रले सय दिन मनाउथ्य । आज प्रचारका लागि हरेक साधन छन्, तर पनि चलचित्र चल्न छाडेका छन् । यसको अर्थ, कतै आफूले गरिरहेको प्रचार वेअर्थको बन्दै गएको हो कि भनेर आफैले मुल्यांकन गर्ने बेला आएको छ ।

चलचित्रको प्रचारका लागि हरेक हप्ता कुनै नै कुनै रुपमा पत्रकारसँग भेटघाट गर्नु, मेरो चलचित्र हेरिदिन आग्रह गर्दछु भनेर बारम्बार एउटै कुरा दोहो¥याउनु र फेसबुकमा धन्यवाद भन्दै समाचारका लिंकहरु शेयर गर्नुमात्र सही तरिका हुन सक्दैन । यो चलचित्रको प्रचारका लागि एउटा सहयोगी माध्यम त हो, तर पूर्ण माध्यम भने होइन ।

अहिले त चलचित्रको प्रचार भनेकै युटुब हो भनेर त्यसमै खनिने निर्माता र कलाकार पनि बढ्दै गएका छन् । आफूले युटुबमा राखेका प्रचार सामाग्री ट्रेन्डिङमा आएको र यती भ्यूज भएको भन्दै मख्ख परेर आत्मरतीमा रमाउँदा निर्माताले अन्य प्रचारका तरिका विर्सिएका छन् । युटुबको ट्रेन्डिङ र भ्यूजले चलचित्रको प्रचारमा सहयोग त गर्ला, तर सम्पूर्ण बाटो यही नै हो भनेर रुमल्लिनु गलत हो ।

हालै मात्र रिलिज भएको चलचित्र ‘जिरो’ युटुबमा सबैभन्दा बढी भ्यूज बनाउन सफल बलिउड चलचित्र बन्यो । तर, यो चलचित्रले बक्स अफिसमा सय करोड पनि कमाएन । तर, हालैमात्र हलमा रिलिज भैरहेको चलचित्र ‘उरी’को भ्यूज करोडको आसपासमा छ । तर, यसले चाडै नै २ सय करोडको बजेटमा बनेको ‘जिरो’को कमाइलाई उछिन्नेछ । यसैले, युटुबको भ्यूजको आत्मरतीमा मात्र रमाएर चलचित्र चल्दैन भन्ने वुझ्न आवश्यक छ ।

चर्चित हाँस्य कलाकार तथा सफल निर्माता दिपकराज गिरी भन्छन्–‘युटुबका दर्शक युटुबमा नै सिमित छन् । उनीहरुलाई हलसम्म तान्न हामी केही रचनात्मक हुनैपर्छ ।’ यदि युटुबमा राम्रो प्रतिक्रिया आएको खण्डमा केही सहयोग हुने उनको बुझाई छ ।

दर्शकलाई हलसम्म तान्न र चलचित्रप्रति दर्शकलाई आकर्षित गर्न प्रचार–प्रसार जरुरी भएको उनले बताए । ‘चलचित्र निर्माण गर्दा नै चलचित्रको कुल वजेटको ३० प्रतिशत प्रचारको लागि भनेर छुट्याउनु पर्छ’, उनी थप्छन्–‘यहीबाट पनि थाहा हुन्छ नि प्रचारप्रसार कत्तिको महत्वपूर्ण छ । यो समयमा चलचित्र बनाउन भन्दा पनि चलाउन गाह्रो भएको उनको तर्क छ ।

दीपकले पनि चलचित्रको प्रचार दर्शकसम्म नपुगेको आभाष गरेका छन् । उनी पनि चलचित्रकर्मी र चलचित्र पत्रकार बीचमा नै प्रचार अल्झिएको बताउँछन् । प्रचार गर्न पनि निर्माता तथा निर्देशकहरु केही रचनात्मक हुनुपर्ने दीपकको भनाई छ । ‘केक काट्दैमा वा समाचार शेयर गर्दैमा चलचित्रको प्रचार हुदैन । प्रचार गर्न त केही क्रियटिभ भएर लक्षित दर्शकसम्म पुग्नुपर्छ ।’ दिपकले भने ।

अहिले चलचित्रको प्रचारका लागि मोफसल टुर पनि विशेष मानिन्छ । मोफसलमा पुगेर पत्रकार सम्मेलन गर्नु र कन्सर्ट गर्नु त फेसन नै बनेको छ । सफल निर्माता दिपकराज गिरी मोफसल प्रचार खासै प्रभावकारी नभएको तर्क राख्छन् । उनी भन्छन्–‘यो धेरै खर्चालु छ । तर, यसले पनि दर्शकलाई चलचित्रप्रति आकर्षित गर्न सकेको छ जस्तो लाग्दैन ।’

त्यस्तै निर्देशक मनोज पण्डित चलचित्रको प्रचार गर्न चलचित्र निर्माण गर्न भन्दा बढी श्रृजनशिल हुनुपर्ने बताउँछन् । उनी भन्छन्–‘चलचित्र बनाएर मात्र हुदैन । चलचित्र भनेको उत्पादन हो । त्यसलाई बजारसम्म पुर्याउन प्रचार जरुरी छ । तर प्रचार गर्न चलचित्र निर्माणमा भन्दा बढी श्रृजनशिल हुनुपर्छ ।’

अहिलेको समयमा चलचित्रको प्रचार पत्रकारितामा मात्र आड लगाइएको उनको भनाई छ । उनी भन्छन्–‘सबैको बुझाई के छ भने, समचार आएपछि चलचित्रको प्रचार भयो । समाचारबाट केही हदसम्म प्रचार हुन्छ तर, आफ्नो लक्षित दर्शकसम्म पुग्नको लागि चलचित्र युनिट केही चनाखो भएर प्रत्यक्ष रुपमा पनि प्रचार गर्नुपर्ने हुन्छ ।’ पत्रकारितामार्फत् चलचित्रको विज्ञापन भयो भन्नु अहिलेको लागि दुर्भाग्यपूर्ण भएको उनको गुनासो छ ।

केही जमातले समाचारबाट चलचित्रको विज्ञापन गरिरहँदा सत्य समचारलाई पनि दर्शकले पत्याउन छोडेको उनले बताए । उनले भने–‘पत्रकारिताबाट चलचित्रलाई उकासेर प्रचार गरिरहँदा दर्शकले त्यो समचारलाई पत्याउन छोडेका छन् । यस्तो जमातले सत्य पत्रकारिता गर्नेलाई पनि बिटुलो बनाइरहेको छ ।’ निर्माता निर्देशकले पनि आफ्नो चलचित्रलाई समचारको माध्यमबाट भन्दा पनि लक्षित वर्गसम्म पुगेर प्रत्यक्षरुपमा प्रचार प्रसार गरेमा चलचित्रको दर्शक बढ्ने मनोजको विश्वास छ ।

चलचित्रको बारेमा दर्शकलाई थाहा दिनका लागि प्रत्यक्ष रुपमा उनीहरुसँग जोडिन आवश्यक छ । आफ्नै क्षेत्र भित्र रुमल्लिएर त्यसलाई नै प्रचार मान्ने सोचले अहिले चलचित्र प्रचार फराकिलो बन्न छाडेको छ । सबैभन्दा पहिले त चलचित्र नै राम्रो बन्न आवश्यक छ । यसपछि, चलचित्रको बिषयवस्तु अनुसार प्रचारको शैली अपनाउन सकेको खण्डमा त्यसले फाइदा गर्छ । होइन भने, पैसा खर्च गर्दैमा र युटुबको ट्रेन्डिङमा पर्दैमा चलचित्रले बम्पर व्यापार गर्न सक्दैन । चलचित्र प्रचारका लागि क्रियटिभ बनौं, न कि आफू आफूमा रमाएर मनको लड्डु घ्यूसँग नखाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment