Comments Add Comment

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : सहमतिमा फर्कने कि चौतर्फी दबाव पर्खने ?

२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीलाई एउटा व्यक्ति भनेर अवमूल्यन नगर्न चेतावनी दिए ।

‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाव पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन् । विषयलाई गम्भीरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं’ कांग्रेसले भनेको छ ।

पहिले केसीसँग सहमति गर्ने र अहिले पालना नगर्ने प्रधामन्त्रीको दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको का‌ंग्रेसले बताएको छ ।

‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. के.सी. संग पछिल्लो सम्झौता भएको थियो । तर, संसदको शिक्षा तथा स्वास्थ्य समिति मार्फत त्यो खण्डीत हुन पुग्यो । प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ’ का‌ंग्रेसले भनेको छ ।

सरकार संवेदनाशून्य ढंगले समाधानको विपरीत अघि बढ्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । ‘यस्तो प्रवृत्तिको भत्र्सना गर्दै नेपाली कांग्रेस तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छ’ प्रवक्ता शर्माले भनेका छन् ।

यसअघिको अनसनमा भएका सहमतिको अक्षरस पालना गर्दै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै डा. गोविन्द केसीले पुस २५ गतेदेखि अनसन सुरु गरेका छन् ।

यो पनि पढ्नुहोस वाइडबडीको छानबिन दबाव र प्रभावबाट मुक्त होस् : कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment