Comments Add Comment

सडक बत्ती थप्दै काठमाडौं महानगरपालिका, वडासँग माग्यो विवरण

३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सडक बत्ती जडान भइसकेका र नभएका सम्पूर्ण ठाउँको विवरण मागेको छ ।

महानगरपालिकाले ३२ वटै वडामा पत्राचार गरी तथ्याकं पठाउन निर्देशन दिएको हो । ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत ३२ वटै वडामा विद्युतीय बत्ती जडान गर्ने योजनाअनुसार विवरण माग गरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार वडाका कुन-कुन स्थानमा के कति सडक बत्ती जडान भए र कुन-कुन स्थानमा सडक बत्ती आवश्यकता पर्ने हो स्थलगत सर्भेक्षण गरी ७ दिनभित्र तथ्याकं पठाउन भनिएको छ ।

काठमाडौं महानगरपालिकाले नगरलाई अध्यारोमुक्त बनाउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत ५ करोड बजेट छुट्ट्याएको छ ।

कार्यक्रमअन्तर्गत हालसम्म काठमाडौंका ३२ वटै वडामा गरी ६ सय ५० बत्ती जडान भइसकेको महानगरको शहरी पूर्वाधार विकास विभागले जनाएको छ ।

यसअघि वडाहरुबाट प्राप्त विवरणअनुसार झण्डै ८ हजार बत्ती जडान गर्नुपर्ने देखिएको छ ।  मुख्य मुख्य सडक, चोक, गल्ली लगायत आवश्यक स्थानमा बत्ती जडान गर्ने महानगरको योजना छ ।

आवश्यकता र ठाउँअनुसार २४ देखि ५० वाटसम्मका बत्ती जडान गर्ने लक्ष्य छ । वाट अनुसार ३ देखि ८ हजार रुपैयाँसम्मका सडक बत्ती जडान गरिनेछ ।

महानगरको ‘मेयर उज्यालो कार्यक्रम’ प्रत्येक वडालाई बिनियोजन गरिएको बजेटको १० प्रतिशत सडक बत्तीका लागि खर्च गर्नैपर्ने प्रावधान पनि छ ।

यसअनुसार ३ करोड बजेट छुट्ट्याइएको वडाले सडक बत्तीका लागि झण्डै ३० लाख रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment