Comments Add Comment

मधेसका ४६ शहीद परिवारलाई रोजगारी खोलियो, तर ….

Photo Credit : शहीद रमेश महतोकी आमा

६ माघ, सप्तरी । प्रदेश २ सरकारले शहीद परिवारलाई लक्षित गरी ‘एक परिवार एक रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत ४६ शहीद परिवारलाई समेट्ने सरकारको लक्ष्य छ ।

जागिरका लागि नियुक्तिको ‘डेमो’ प्रदान गर्दै सरकारले एक साताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न शहीद परिवारलाई पत्राचार गरेको थियो । यो पत्र ५ माघमा सिरहाको लहानमा आयोजना गरिएको ‘बलिदानी दिवस’ को कार्यक्रममा शहीद परिवारलाई हस्तान्तरण गरियो ।

पत्र पाएकाहरुले करारमा जागिर पाउनेछन् । कसलाई कुन कार्यालयमा, कुन पदमा, कुन ठाउँमा जागिर दिने भन्ने निर्क्यौल भइसकेको छैन ।

डेमो लिएर आउनेलाई नियुक्ति दिएर पठाइने पत्रमा जनाएको छ । यसरी नयाँ नियुक्तिको तयारी भइरहँदा यसअघि जागिर दिइएकाहरुको असन्तुष्टि बाहिर आएको छ । शहीद परिवारको रुपमा जागिर पाएकामध्ये एकले छोडिसकेका छन् भने अर्कीले पनि छोड्ने मानसिकता बनाएकी छन् ।

‘शुरुमा पनि पैसा दिन आलटाल गरियो, कहिले पाँच सय त कहिले एक हजार दिइयो,६ महिनासम्मको तलव नदिएपछि छोराले बाध्य भएर जागिर छाडेको हो ।’

रमेशका दाजुले छोडे जागिर

१३ बर्षअघि ५ माघमा तराई मधेसका जिल्लाहरुमा आन्दोलन भएको थियो । काठमाडौंमा अन्तरिम संविधान जलाउने उपेन्द्र यादवसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि शुरु भएको आन्दोलनले उग्र रुप लियो । सिरहाको लहानमा गोली चल्दा रमेश महतोको ज्यान गयो ।

१७ वर्षीय महतो लहानस्थित मनकामना स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । त्यससँगै दर्जनौं बससहितका सवारीसाधन जलाइयो भने तराई मधेसका प्रायः सबै जिल्ला आन्दोलित बने ।

रमेश महतोको परिवारलाई मधेसी नेताहरुले धेरै आश्वासन बाँडे तर, पूरा गरेनन् । नेताहरुले उनको परिवारका सबै बच्चाहरुलाई निःशुल्क पढाइदिने आश्वासन दिएका थिए । तर अहिले आफैं पैसा तिरेर पढाउनुपरेको रमेशको परिवारको भनाइ छ । रमेशका जेठो भतिजा सञ्जीव कक्षा ८ र कान्छो सतिश कक्षा ६ मा अध्ययन गरिरहेका छन् । जनकपुरमा राखी आफ्नै पैसामा उनीहरुलाई पढाइरहेको रमेशकी आमा रानोदेवीले बताइन् । भतिजी सुलैनालाई भने डा. पशुपति चौधरीले आफ्नो खर्चमा पढाइरहेका छन् ।

रमेशका दाजु मोहनले आफूलाई जागिर लगाइदिए पनि तलव नपाएको गुनासो गरेका छन् । फुलबरियास्थित मावि (जसलाई रमेश महतो मावि नामाकरण गरिएको छ) मा मोहनलाई कर्मचारी नियुक्त गरिएको थियो । तर, ६ महिनाको तलव नपाएपछि छोराले जागिर छोडेको आमा रानोले बताइन् ।

‘शुरुमा पनि पैसा दिन आलटाल गरियो, कहिले पाँच सय त कहिले एक हजार दिइयो,’ उनले भनिन्, ‘६ महिनासम्मको तलव नदिएपछि छोराले बाध्य भएर जागिर छाडेको हो ।’

नेताहरुले दिएको धेरै आश्वासन कपटीपूर्ण भएको ठान्छन् शहीद रमेश महतोका परिवार । परिवारका अन्य सदस्यलाई पनि जागिर दिने आश्वासन पुरा नभएको रानोले बताइन् । उनी भन्छिन्, ‘घरमा छोरा, बुहारी सबै पढेका छन्, तर खाली बसिरहेका छन् ।’

रमेशका भाइ रामशोभित महतोलाई प्रदेश सरकारले जागिर दिने लिस्टमा राखेको छ । तर, महतो परिवार अझै संशकित छन् । रामशोभितलाई पनि दाजु मोहनलाई जस्तै हुन सक्ने उनीहरुको चिन्ता छ ।

‘नाम मात्रैको जागिर नहोस्,’ रमेशका अर्का दाजु बालकृष्णले भने, ‘रामशोभितले स्नातक पास गरेकाले प्रदेश सरकारले राम्रो जागिर दिनेमा आशावादी छु ।’

शहीद पत्नीको पनि असन्तोष

मधेस आन्दोलनकै क्रममा ज्यान गुमाएका थिए सप्तरीका गुल्टेन दासले । पाँच सन्तान र एक पत्नीको एक्लो सहारा रहेका गुल्टेन ज्याला मजदुरी गरेर परिवार पाल्थे ।

राजविराजको मिनी मार्केटमा सामान लिएर साहूको पसल जाँदै गर्दा नेता चोकबाट प्रहरीले चलाएको गोली उनलाई लागेको थियो । उपचारका लागि लगिँदै गर्दा उनको ज्यान गएको थियो ।

गुल्टेनको ज्यान गएपछि उनकी पत्नी विमलालाई बज्रपात पर्‍यो । सरकारले शहीद घोषणा गरेर १० लाख रुपैयाँ दिए पनि त्यसले छोराछोरीको पढाई लेखाईसहित पालनपोषण असम्भव बनेको उनी बताउँछिन् । तीन जना छोरीको बिहे र घर परिवारको उपचारमा नै उनले त्यो रकम सिध्याइन् ।

सरकारले उनलाई काम पनि दिएको छ, तर घरभन्दा ४० किलोमिटर टाढा लहानको सडक डिभिजन कार्यालयमा । ‘टाढा भए पनि आफ्नो र छोराछोरीको पेट भर्न जानैपर्छ,’ उनी भन्छिन्, ‘तर, अहिले आएर जागिर नै नगरौं जस्तो लागिरहेको छ ।’

‘किन ?’

उनले भनिन्, ‘एक वर्ष काम गर्छु, तलव ५ देखि ६ महिनाको मात्रै पाउँछु ।’

२०६८ साल मंसिरको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार दासले सडक डिभिजन कार्यालयमा जागिर पाएकी थिइन् । कार्यालय सहयोगीको रुपमा जागिर पाए पनि केहि बर्ष पैसा नपाएको उनको दाबी छ । यो बर्षको असारदेखि अहिलेसम्म एक पैसा नपाएको उनले बताइन् ।

यसबारे सोध्दा कार्यालय प्रमुख जितेन्द्र चौधरीले काम चलिरहेका साइटहरुमा नगए तलव नमिल्ने बताउने गरेको सुनाइन् उनले । ‘त्यति टाढा काम गर्न जाने कि छोराछोरी पाल्ने ?’ उनी भन्छिन्, ‘नोकरीलाई हेर्‍यौं भने बालबच्चालाई दुःख र बालबच्चालाई हेर्दा भने घर कसरी चलाउने भन्ने चिन्ता हुन्छ ।’

२०६८ सालमा केन्द्रीय सरकारले कार्यालय सहयोगीको जागिर दिए पनि अहिलेको प्रदेश सरकारले उनीबारे मौनता प्रकट गरेको छ । प्रदेश सरकारले २०६३ सालदेखि अहिलेसम्मका ५८ जना शहीद परिवारको लिस्ट तयार गरे पनि यो लिस्टमा शहीद गुल्टेन दास र उनका परिवार छैनन् । लहानमा सबै शहीद परिवारलाई बोलाएर सम्मान गरे पनि आफूलाई जानकारी नआएको उनले बताइन् ।

आँखा गुमाएका सन्तोष

२०६३ साल माघको अन्तिम साता राजविराजको मालपोत कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबीच झड्प भइरहेको थियो ।

यही झड्पमा परे काम खोज्न आएका तत्कालिन फर्सेठ गाविस (हाल राजविराज ११) का सन्तोष मण्डल । यता जाउँ कि, उता जाउँ भन्दाभन्दै कुनै वस्तुले उनको दायाँ आँखामा जोडले लाग्यो र रगत बग्न थाल्यो ।

‘केले लागेको थियो मलाई अहिलेसम्म थाहा भएन,’ ४३ बर्षीय मण्डल भन्छन्, ‘तर मेरो आँखा गुम्यो ।’

दैनिक ज्याला गरेर परिवार पाल्दै आएका मण्डल त्यस दिन पनि काम खोज्न आएका थिए राजविराज । घाइते भएपछि केही साथीको सहयोगमा अस्पताल गएर प्राथमिक उपचार गरियो । लहानदेखि बिभिन्न ठाउँमा गएर जाँच गराए पनि निको हुन सकेनन् । फलस्वरुप एउटा आँखा गुमाउनैपर्‍यो उनले ।

यतिबेला सन्तोष गुमनाम छन् । केही नेता आफूलाई भेट्न आए पनि आश्वासनबाहेक केही नपाएको उनले बताए ।

उनका अनुसार नेताहरुले क्षतिपूर्ति उपलब्ध गराइदिने, उपचार खर्च उपलब्ध गराइदिने र जागिर लगाइदिनेसम्मको आश्वासन दिए । तर केही पूरा भएन् । प्रदेश सरकारले ९७ जना घाइतेलाई अवस्था हेरेर राहत प्रदान गरे पनि यो लिस्टमा उनको नाम समावेश भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment