Comments Add Comment

भारतमा यसवर्ष चिनीको उत्पादन घट्ने प्रक्षेपण, मूल्यवृद्धिको सम्भावना

Photo Credit : फाइल फाेटाे

८ माघ, काठमाडौं । भारतमा यसवर्ष चिनीको उत्पादन घट्ने अनुमान गरिएको छ । भारतीय चिनी मिल्स संगठन (आइएसएमए) ले विज्ञप्ति जारी गरी सन् २०१९ मा चिनीको उत्पादन घट्ने जनाएको हो ।

इथानलको उत्पादन बढ्दा चिनीको उत्पादन घट्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।  आइएसएमएले जारी गरेको रिपोर्ट अनुसार यस वर्ष भारतमा ३.०७ करोड टन चिनी उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

जबकि जुलाई २०१८ मा पनि ३.५ करोड टन चिनी उत्पादन हुने अनुमान गरिएकोमा त्यो बेला उत्पादन सर्वोच्चस्तरमा थियो । अघिल्लो वर्ष सन् २०१८ मा भारतमा ३.२५ करोड टन चिनी उत्पादन भएको थियो ।

आइएसएमएका अनुसार यस वर्ष ५ लाख टन चिनीको उत्पादन घट्ने अनुमान गरिएको हो । यो गिरावट कूल उत्पादनको २ दशमलब ५३ प्रतिशत हुन आउँछ ।

मौसमी प्रतिकूलता र पर्याप्त वर्षा नहुँदा पछिल्लो वर्षको अक्टोबरमा यो अनुमानलाई घटाएर ३ दशमलब १५ करोड टन कायम गरिएको थियो ।

खराब मौसम र सिंचाइ अभावले महाराष्ट्रमा उखुको उत्पादनसमेत प्रभावित भएको थियो ।  १५ जनवरीसम्म भारतका कूल ५१० चिनी मिल्सबाट १४६.८६ लाख टन चिनी उत्पादन भएको छ ।

जुन अघिल्लो वर्षको यही अवधिभन्दा ८.३२ प्रतिशत बढी हो । २०१८ को जनवरी १५ सम्म १३५.५७ लाख टन चिनी उत्पादन भएको थियो ।

आइएसएमएका अनुसार चालु आर्थिक वर्षकाे याे अवधिमा  सबभन्दा बढी उत्पादन हुने उत्तर प्रदेशका चिनी मिल्सले जम्मा ४१.९ लाख टन चिनी उत्पादन गरे । यही अवधिमा महाराष्ट्रबाट ५७.२ लाख टन, कर्नाटकबाट २६.७ टन चिनी उत्पादन भएको छ ।

उत्तर प्रदेशमा चालु आर्थिक वर्षमा ११२.८६ लाख टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष उत्तर प्रदेशमा १२०.४५ लाख टन चिनी उत्पादन भएको थियो ।

भारतले ठूलो परिमाणमा चिनी निर्यात पनि गर्दै आएको छ । परिमाणात्मक बन्देज हुनअघिसम्म नेपालमा समेत ठूलो परिमाणमा भारतबाट चिनी आयात हुने गरेको थियो ।

भारतमा चिनीको उत्पादन घट्दा आन्तरिकसँगै विश्व बजारमा समेत असर पर्ने गर्दछ । उत्पादन घट्दा चिनीको मूल्य आकासिने खतरा पनि उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment