Comments Add Comment

असारसम्म काष्ठमण्डपको भुइँ तलाको काम सकिने

१० माघ, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण समितिले आउँदो असार मसान्तसम्म काष्ठमण्डपको पहिलो तल्लाको काम सकाउने जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी समितिले काण्ठमण्डपका यही माघभित्र मुख्य चार वटा थाम उठाउने र ०७६ असार मसान्तसम्म भुइँ तलाको काम सक्ने जानकारी दिएको हो ।

विश्व सम्पदा सूचीमा सुचिकृत काष्ठमण्डप काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा स्थानीयबासिन्दा र विज्ञ सम्मिलित समितिले पुनर्निर्माण गर्दैछ ।

हाल काष्ठमण्डपको जगको काम भइरहेको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । हालसम्म जगको तेस्रो घेरासम्मको गारो उठाउने र त्यसमा माटो भर्ने काम सकिएको छ । अब चौथो घेराको गारो उठाउने तयारी छ ।

दरहृयाम विश्वविद्यालयको सहयोगमा पुरातत्व विभागले गरेको अनुसन्धानमा काष्ठमण्डपको जगमा भूकम्पले कुनै क्षति नपुर्‍याएको पाइएको थियो । पुरानै जगको गारोहरुलाई नबिगारी त्यसलाई नै मर्मत गरेर त्यसैमाथि नयाँ गारो थप्ने काम भइरहेको अध्यक्ष शाक्यले बताए ।

काष्ठमण्डपमा प्रयोग भएको पुरानो माः अप्पा इट्टाको प्रयोगशालामा परीक्षण गरी उस्तै आकारको बनाउन दिइएको थियो । माग अनुसार दक्षिण बाराही इँटा उद्योगलले २६ हजार ६ सय ७६ वटा उपलब्ध गराएको उनले बताए । त्यस्तै अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिका दुई पटक गरी ५ करोड ५० लाख रुपैयाँ समितिलाई प्रदान गरेको छ ।

जसमध्ये हालसम्म ९० लाख ७० हजार खर्च भएको समिति अध्यक्ष शाक्यले जानकारी दिए । उनका अनुसार निर्माण सामग्रीमा ५५ लाख ३७ हजार कार्यालय सञ्चालनमा १५ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment