+
+
Shares

पढाइसँगै खेतीपातीमा रमाउँदै विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको आँधीखोला गाउँपालिका–५ स्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थीले ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका छन्।
  • प्रि–डिप्लोमा तहको जेटीए बाली विज्ञान समूहका २१ विद्यार्थीले हाइब्रिड काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका हुन्।
  • विद्यालयले बेर्ना बिक्रीबाट आएको आम्दानी विद्यार्थीको शैक्षिक भ्रमणलगायत गतिविधिमा खर्च गर्दै आएको छ।
  • विद्यालयले आगामी दिनमा कक्षा ८ र ९ सहितका विद्यार्थीलाई टनेलमा छुट्टाछुट्टै प्लट दिएर तरकारी उत्पादन र बिक्री गराउने योजना बनाएको छ।

१३ कात्तिक, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै कृषि उत्पादनमा पनि जुट्न थालेका छन् ।

विद्यालयमा सञ्चालन भइरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उनीहरूले तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।

विद्यालयको प्रि–डिप्लोमा तहअन्तर्गत जेटीए बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका छन् । बेर्ना रोप्नयोग्य भइसकेकाले आवश्यक पर्ने कृषक तथा सर्वसाधारणलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारमा कृषि सीप सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । बेर्ना बिक्रीबाट प्राप्त आम्दानी विद्यार्थीको शैक्षिक भ्रमणलगायत गतिविधिमा खर्च गरिँदै आएको छ । यसले विद्यार्थीलाई उत्पादन, श्रम र आम्दानी व्यवस्थापनबारे विद्यालयमै सिक्ने अवसर दिएको छ ।

विद्यालयमा २०७५ सालदेखि प्रि–डिप्लोमा तहको बाली विज्ञान विषयको नियमित पठनपाठन हुँदै आएको छ । चालु शैक्षिक सत्रमा यस समूहमा २१ जना विद्यार्थी भर्ना भएका छन् । उनीहरूलाई नियमित कक्षासँगै प्रयोगात्मक र परियोजनामूलक अभ्यासमा सहभागी गराइँदै आएको छ ।

पाठ्यक्रमअनुसार विद्यार्थीले आलंकारिक नर्सरी निर्माण, तरकारी उत्पादन, बन्दा तथा काउली खेती र मौसमअनुसार च्याउ खेतीको अभ्यास गर्दै आएका छन् । विद्यालयमा रहेका पाँचवटा टनेलमा यसअघि टमाटर, काँक्रो तथा लहरे बालीका बेर्ना उत्पादन गरी स्थानीय बजारमा बिक्रीसमेत गरिँदै आएको थियो ।

यसपटक बाली विज्ञान समूहलाई इको हिमाल संस्थाले बीउ र प्राविधिक सहयोग उपलब्ध गराएको छ । सोही सहयोगमा उत्पादन गरिएका बन्दा, काउली र ब्रोकाउलीका बेर्ना अहिले बिक्रीका लागि तयार भएका हुन् ।

विद्यार्थीले सुरुमा नर्सरीमा बीउ उमार्छन् । त्यसपछि बेर्नालाई छुट्टै ब्याडमा सारेर हुर्काउँछन् । बिरुवा रोप्नयोग्य भएपछि बिक्री गरिन्छ । उत्पादनदेखि बजारीकरणसम्म विद्यार्थी आफैँ संलग्न हुने भएकाले उनीहरूले कृषि व्यवसायको व्यावहारिक ज्ञानसमेत हासिल गरिरहेका छन् ।

विद्यालयले आगामी दिनमा कक्षा ८ र ९ सहित अन्य कक्षाका विद्यार्थीलाई पनि टनेलमा छुट्टाछुट्टै प्लट उपलब्ध गराउने योजना बनाएको छ । विद्यार्थीले आफ्नो जिम्मामा रहेको प्लटमा तरकारी तथा बेर्ना उत्पादन, व्यवस्थापन र बिक्री गर्नेछन् । त्यसबाट प्राप्त आम्दानी सम्बन्धित कक्षाको व्यवस्थापन तथा शैक्षिक गतिविधिमा खर्च गर्ने योजना रहेको प्रधानाध्यापक दिप्तीनारायण शर्माले बताए ।

उनका अनुसार विगतको तुलनामा विद्यार्थी कृषि उत्पादनका काममा थप सक्रिय भएका छन् । अहिले कक्षा ९ का विद्यार्थीलाई यस कार्यक्रममा बढी सक्रिय बनाइएको छ । विद्यालय परिसरमा फूलबारी व्यवस्थापन गर्ने काममा भने सबै कक्षाका विद्यार्थी सहभागी हुने गरेको शिक्षक थानेश्वर पौडेलले बताए ।

विद्यालयले स्थानीय विषयअन्तर्गत हरेक शुक्रबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई व्यवहारिक सिप तथा जीवनोपयोगी शिक्षासँग जोडेर कृषि अभ्याससमेत गराउँदै आएको छ । तरकारीमा लाग्ने रोग तथा कीराको पहिचान र नियन्त्रणका उपायबारे छुट्टै पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन भइरहेको शिक्षक पुर्खराज पौडेलले जानकारी दिए ।

विद्यार्थीलाई कम्तीमा पाँचवटा तरकारीका बेर्ना उत्पादन गर्न प्रोत्साहित गरिएको छ । यसका साथै ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रमलाई पनि प्राथमिकता दिइएको विद्यालयले जनाएको छ ।

बाली विज्ञान विषयको पठनपाठन र परियोजना सञ्चालनका लागि आँधीखोला गाउँपालिका तथा वडा नम्बर ५ को कार्यालयले पनि समयसमयमा सहयोग गर्दै आएका छन् । गाउँपालिकाको मातहतमा रहेको इको हिमाल संस्थाले बीउ उपलब्ध गराउनुका साथै अनुगमन, निरीक्षण र प्राविधिक पृष्ठपोषण प्रदान गर्दै आएको छ । त्यसैगरी आक्स नेपालले गड्यौला मल निर्माण तथा कृषि कार्यका लागि आवश्यक सामान्य औजार उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले विद्यालयमा पढाइसँगै कृषि अभ्यास गराउने कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक सीप सिकाउनुका साथै स्थानीय स्तरमै कृषि उद्यमप्रति आकर्षित गर्न सहयोग पुग्ने बताए । उनका अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा विद्यार्थीले सानै उमेरदेखि श्रमको सम्मान, उत्पादन र आत्मनिर्भरताको महत्त्व बुझ्ने अवसर पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?