Comments Add Comment

कृष्ण वलीका लागि जुट्यो झण्डै दुई करोड

कृत्रिम हातखुट्टा जोड्न कति जटिल, कति खर्चिलो ?

११ माघ, काठमाडौं । एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण फेरि एकपटक देखिएको छ । अन्यथा कृष्ण वलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन सायदै सम्भव थियो ।

रुकुमका युवक कृष्ण वलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात महिना उनी कति रोए कुनै लेखाजोखा छैन । उनकी पत्नी रुपाले दह्रो मुटु बनाएर कसरी श्रीमानलाई सम्हालिन् उनैलाई मात्र थाहा छ । हातगोडाको अपरेसन गर्दासम्म उनीहरुलाई ४५ लाख ऋण लागिसकेको थियो । बाँकी खर्च सम्झेर कहालिनु बाहेक उनीअरुसँग विकल्प थिएन ।

तर, अहिले यो जोडीको अनुहारमा मुस्कान फिरेको छ । कम्तिमा कृत्रिम हात गोडाको सहायताले कृष्णले आफ्नो जीवन अगाडि बढाउन सक्ने कुराले उत्साही बनेका छन् । देशविदेशका नेपालीहरुले यो जोडीलाई जुरुक्कै काँधमा बोकेका छन् ।

जब एक महिना अगाडि कृष्णको कथा एउटा यूट्यूब च्यानलमार्फत सार्वजनिक भयो, त्यसले नेपालीहरुलाई तरंगित बनायो । तत्कालै उनका लागि आर्थिक सहयोग जुट्न थाल्यत्ते । कसैले व्यक्तिगत तवरमा त कसैले संगठित भएर गरेको सहयोगले ठूलो रुप लिँदै जाँदा कृष्ण र रुपा सामाजिक सञ्जालमा छाइसकेका थिए । उनीहरुमाथि गीत बनाएर रेकर्ड समेत भएको छ ।

यूट्यूबरहरु पैसाको बिटो बोकेर उनीहरु कहाँ जाने र भिडियो बनाएर हाल्ने क्रम अहिले पनि चलिरहेको छ । कृष्ण–रुपाको फोटो–भिडियो देखाएर पैसा उठेको सबै पैसा यूट्यूबरहरुले उनीहरुलाई हस्तान्तरण गरेका छन् कि छैनन् भन्ने चाहिँ प्रश्नको घेरामा छ । रुपाले एक अन्तरवार्तामा भनेकी छन्, ‘हामीलाई थाहै नदिइकन पनि पैसा उठाउने काम भइरहेको पाएका छौं, कृपया त्यसो नगरिदिनुहोला ।’

कृष्ण वलीका दाजु सुमनले अहिलेसम्म विभिन्न माध्यमबाट करिब ९० लाख रुपैयाँ हातमा आएको बताए । कृष्णको बैंक खातामा सहयोग थपिने क्रम जारी छ ।

यसका अतिरिक्त अमेरिकामा रहेका एक भुटानी नेपालीले चलाएको फन्ड रेजिङमा मात्रै करिब ८५ लाख रुपैयाँ उठेको छ । यो रकम उनीहरुले अमेरिकाबाटै नेपाल आएर पत्रकार सम्मेलनमार्फत हस्तान्तरण गर्ने बताएको सुमनले जानकारी दिए । ‘कृत्रिम हात र खुट्टाका लागि पैसा जुटिरहेको छ, कहाँ र कहिले गर्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनौं,’ उनले अनलाइनखबरसँग भने ।

सुमनले सबै गरेर उपचारका लागि एक करोड २० लाख जति लाग्ने अनुमान गरिएको बताए ।

उनी भन्छन्, ‘विदेशबाट कृत्रिम हात र डाक्टर नेपालमै बोलाएर पनि गर्न सकिने रहेछ । अन्यथा भारत वा अर्को मुलुक गएर गर्न डाक्टरहरुले सुझाव दिनुभएको छ । कसरी गर्ने हामी छलफलकै क्रममा छौं ।’ कृत्रिम खुट्टा भने नेपालमै राखिने छ ।

कृष्णको बायाँ खुट्टा घुँडाभन्दा मुनि काटिएको छ । दायाँ खुट्टाका केही औंला काटिएका छन् । यस्तै दायाँ हात कुहिनोभन्दा केही माथि काटिएको छ । दायाँ हात पुरै कोटिएको छ । सबैभन्दा जटिल अवस्था दायाँ हातको देखिन्छ ।

घुँडाभन्दा मुनि काटिएकाले कृत्रिम खुट्टा राख्न खासै जटिल र खर्चिलो हुँदैन । प्रोस्थेस्टिस्ट संगेश श्रेष्ठका अनुसार नेपालमा ६०–६५ हजार मूल्यमा कृत्रिम खुट्टा उपलब्ध हुन्छ । बायोनिक प्रविधिको हाल्नलाई चाहिँ महंगो पर्छ । मायोइलेक्ट्रिक मध्यम मूल्यमा पाइन्छ ।

‘कृत्रिम हातगोडामा दिनानुदिन नयाँ नयाँ विकास भइरहेका छन्,’ श्रेष्ठले भने, ‘पछिल्लो प्रविधि भनेको बायोनिक हो, जुन सुविधाजनक हुन्छ तर अत्यधिक महंगो । बायोनिक खुट्टाले तातो चिसो, नरम कडा महसुस गर्न सक्छन् ।’

कृत्रिम खुट्टाको पैतालाको गुणस्तरका आधारमा मूल्य तलमाथि हुनेगर्छ । धेरै हिँडडुल गर्नुपर्ने अवस्थामा राम्रो पैतला भएको खुट्टा चाहिन्छ अन्यथा सामान्य खालको पनि चल्छ । कतिपय संस्थाले सस्तो खालका कृतिम खुट्टा निःशुल्क पनि बाँड्ने गर्छन् । बायोनिकमा जाँदा एउटै पैतलाको चार–पाँचलाख सम्म पनि पर्छ ।

तर, प्रोस्थेस्टिस्ट श्रेष्ठले धेरै महंगो हातखुट्टा नराख्न वलीलाई सुझाव दिएका छन् ।‘अहिले जति पनि पैसा छ भनेर महंगो राख्दा पछि समस्या पर्न सक्छ । किनकी तिनीहरुको मेन्टेनेन्स खर्चिलो हुन्छ । सामान फेर्नुपर्‍यो भने बिदेशबाटै मगाउनुपर्छ । बिग्रियो भने बनाउन विदेश नै दौडिनुपर्छ,’ उनले भने ।

यस्तै कृत्रिम खुट्टाको सकेट एक–डेढ वर्षमा परिवर्तन गरिरहनुपर्ने श्रेष्ठले जानकारी दिए । ‘व्यक्ति दुब्लाउने वा मोटाउने हुँदा पनि कृत्रिम खुट्टा खुकुलो वा कसिलो हुन सक्छ । त्यसैले सकेट फेरिरहनु पर्छ,’ उनले भनेका छन् ।

सामान्यतया डाक्टरहरुले खुट्टा काटिएलगत्तै कृत्रिम खुट्टा लगाउन अनुमति दिँदैनन् । किनकी काटिएपछि खुट्टा अत्यधिक सुन्निएको हुन्छ । त्यो सुन्निएको पूर्णरुपमा बसेपछि मात्रै कृत्रिम खुट्टा लगाउनुपर्छ । अन्यथा पछि खुकुलो हुन्छ । यसका लागि ५–६ महिना पर्खिनुपर्ने श्रेष्ठले बताए । कृष्णको हकमा भने ७ महिना भइसकेकाले कृत्रिम खुट्टा राख्न समस्या छैन । खुट्टा राखिसकेपछि उनी तुरुन्तै आफैं हिँड्न सक्षम हुनेछन् ।

खुट्टा काटिएको व्यक्तिलाई आफ्नो काटेर फालिसकेको भागमा पनि दुखिरहेको महसुस हुने गर्छ । यस्तो दुखाई लामो समयसम्म हुन सक्ने चिकित्सकहरु बताउँछन् । कतिपयमा कृत्रिम खुट्टा राखिसकेपछि बिस्तारै दुख्न छोड्छ । अन्यथा थेरापी गर्नुपर्छ ।

हातको केस खुट्टाभन्दा जटिल हुन्छ । कृत्रिम हातहरु विभिन्न गुणस्तरमा हुन्छ र निकै महंगा हुन्छन् । कृष्णको बायाँ हात फेदैदेखि काटिएको हुनाले सबैभन्दा बढि खर्च त्यसैलाई लाग्ने छ । श्रेष्ठको अनुमानमा मायोइलेक्ट्रिक हात राख्दा ५–७ लाखमा पाइन सक्छ तर, बायोनिक हात राख्न भने नेपाली ४०–५० लाख नै पर्छ । ‘नेपालमा बायोनिक हात उपलब्ध छैन, विदेशबाटै मगाउनुपर्छ,’ उनले भने ।

फेरि पनि उनको भनाइमा यस्तो महंगो हात राखेर पछिसम्म त्यसलाई मेन्टेनेन्स गर्न सक्छु भन्ने कृष्णमा आत्मविश्वास हुनुपर्छ । कृत्रिम हात राखेपछि कृष्णले आफैं खाने तथा दिशा धुनेसम्म गर्न सक्नेछन् । उच्च प्रविधिको हातका औंलाहरु पनि सक्रिय हुन्छन् । यस्तोमा प्राय तीनवटा औंलाले काम गर्छन् ।

यस्तो औंलाको सहायताले चियाको कप समात्न, कम्युटरमा टाइप गर्नदेखि ड्राइभिङ गर्नसमेत सकिन्छ । स्क्रिन टच मोबाइल चलाउन भने भ्वाइस कमान्डको सहयोग लिनुपर्छ । त्यसो त पाँचवटै औंलाले काम गर्ने बायोनिक हात पनि आइसकेका छन् ।

कृष्ण वलीको भाग्य र दुर्भाग्य

रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण वली विद्युत प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै अस्थाई जागिर पाएका थिए । गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनलाई कीर्तिपुर अस्पतालले बचाएको थियो । तर उनले दुवै हात र एक खुट्टा गुमाए ।

कठिन अवस्थामा कृष्णका लागि बलियो खम्बा बनेर उभिइन् उनकी १८ वर्षीया पत्नी रुपा । बलियो मुटु भएकी रुपाले अकल्पनीय बज्रपात सहनुपर्दा पनि हिम्मत हारिनन् । श्रीमानको हौसला बढाइन् । रुपा जस्ती पत्नी पाउनुलाई धेरैले उनको भाग्यको रुपमा चित्रण गर्छन् । कृष्ण र रुपाको प्रेम विवाह अन्तरजातीय मात्रै नभएर अन्तरधार्मिक पनि हो । कृष्ण हिन्दू हुन् भने रुपा क्रिस्चियन । रुपाका बुवाले उनकी आमालाई छोडेर अर्को बिहे गरेका थिए । उनकी आमा अहिले देशबाहिर छिन् । कृष्णको दुर्घटनापछि आफूलाई माइतीका आफन्तहरुले अर्को विहे गर्न सुझाव दिएको भए पनि आफूले श्रीमानको साथ कहिल्यै नछाड्ने उनी बताउँछिन् । कृष्णका लागि ठूलो रकम जुट्नुमा रुपाप्रतिको करुणाले पनि धेरै भूमिका खेलेको देखिन्छ ।

कृष्ण र रुपा अहिले कुलेश्वरमा फ्ल्याट भाडामा लिएर बसिरहेका छन् । अहिले उनीहरुका साथमा कृष्णका हजुरआमा, आमा, दाजु र बहिनीहरु छन् । नर्सिङको पढाई गरिरहेकी रुपा श्रीमानको दुर्घटनापछि उनैलाई स्याहारेर बसिरहेकी छन् ।

अरु कृष्ण वलीहरु
कृष्ण वलीको लागि त सहयोग जुट्यो तर, देशमा अरु पनि थुप्रै कृष्ण वलीहरु दर्दनाक अवस्थामा छन् । अहिले उनको जस्तै केस भएका केही व्यक्तिको कथा बाहिर आएको छ । कृष्णले पाएको सहयोग देखेर उनीहरुलाई पनि आशा जागेको छ ।

बैजनाथ–८ लुन्दी बाँकेका २३ वर्षीय बुद्धिमान कुँवरले भारतको सिमलामा कामको सिलसिलामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका थिए । उनको उपचारका लागि १२/१३ लाख खर्च भइसकेको छ भने कृत्रिम हातखुट्टा राख्न लाग्ने पैसा उनको क्षमताभन्दा बाहिर छ । उनको अपांगताले परिवारको विजोक भएको छ । उनले स्वदेश र विदेशमा रहेका नेपालीहरुसँग सहयोगको अपिल गरेका छन् ।

यसैगरी नेपाल विद्युत प्राधिकरणकै कर्मचारी हरिकाजी ढुंगानाले पनि कार्यालयको कामका सिलसिलामा करेन्ट लागेर दुई हात र एक गोडा गुमाएका छन् ।

नेर्पा ८ रामपुर, खोटाङका ढुंगाना प्राधिकरण खोटाङको वितरण शाखामा काम गर्थे । तार तान्नेदेखि पोल ठड्याउनसम्म उनको काम हुन्थ्यो । तार जोड्न पोलमा चडेका बेला ११ हजारको करेन्टले उनलाई लपेट्यो । त्यतिबेला उनी अढाई घन्टासम्म पोलमै झुण्डिएका थिए ।

हरिकाजीका ८५ वर्ष नाघेका बाबुआमा छन् । परिवारमा श्रीमती, एक बहिनी र दुई छोराछोरी छन् । हरिकाजी आफैं अपांग भएपछि परिवार बेसहारा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment