+
+

आजका पत्रपत्रिका: परोपकारी संस्था रेडक्रसमा अर्बौं गोलमाल

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १३ गते ७:१०

१३ माघ, काठमाडौं । चिकित्सा शिक्षा विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइ र क्रिकेटर रोहित पौडेलले बनाएको कीर्तिमानलाई आजका पत्रपत्रिकाहरुले पहिलो प्राथमिकतामा राखेका छन् ।  यसबाहेकका सामग्रीहरुमा भने विविधता छ । केहीको नजर काठमाडौंको सडकमाथि परेको छ भने  कुनैले परोपकारी संस्था रेडक्रसको बेथिति केलाएका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले परोपकारी संस्था रेडक्रसमा भएको बेथितिबारे ‘कभर स्टोरी’ लेखेको छ । रिपोर्टअनुसार, पदीय दुरुपयोग गर्दै रेडक्रसमा अर्बौं गोलमाल भएको छ । नक्सापासबिनै बनाइएका रेडक्रसका भवन, गाडी दुरुपयोगलगायतलाई नेपालले विषयवस्तु बनाएको छ ।

नेपालले लेखेको छ– मानवीय सेवा कार्यका लागि रेडक्रसले बनाउँदै गरेको दुइटै भवनको प्रचलित कानूनअनुसार नक्सा पास गरिएको छैन, न सम्बन्धित निकायलाई जानकारी नै दिएको छ ।’

रेडक्रसले भवन बनाउँदा राजश्वसमेत छलेको समाचारमा उल्लेख छ । तर रेडक्रसजस्तो अन्तर्राष्ट्रिय रुपमा स्थापित संस्थामाथि कारबाही गर्दा आलोचनाको भार व्यहोर्नुपर्ने हो कि भन्ने त्रासमा वडा कार्यालय चुपचाप छ ।

रेडक्रसको अनियमितता यतिमै सकिन्न ।  प्रदर्शनीमार्गमा रहेको जग्गा भाडामा लगाएबापतको घरभाडा कर तथा घरजग्गा करसमेत रेडक्रसले तिरेको छैन ।

रेडक्रस अध्यक्ष सञ्जीव थापाको सुविधामोह उत्तिकै छ । समाचार अनुसार, मानवीय सेवा र परोपकारका लागि स्थापना भएको रेडक्रसका अध्यक्ष थापाकै लागि ४ वटा गाडी प्रयोग गर्ने गरिएको छ ।  थापाले विभिन्न नम्बरका ४ वटा गाडी निजीसरह प्रयोग गरिरहेका छन् । केही समयअघि थापाका छोरा त्यही गाडी लिएर हलेसी जाँदा दुर्घटनामा परेको समाचारमा उल्लेख छ ।

सबैभन्दा कम उमेरमा अर्धशतक गरेका रोहित पौडेलबारेको समाचार कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । त्यस्तै, चिकित्सा शिक्षा विधेयकबारे प्रधानमन्त्रीद्वारा व्यक्त भनाइलाई पनि कान्तिपुरले समेटेको छ ।

नयाँ पत्रिकाले एक लाख ८५ हजार मुसहरसहित तराईका पाँच लाख दलित भूमिहीन रहेको तथ्यांक नयाँ पत्रिकाले प्रस्तुत गरेको छ । मुसहरहरुसँग झुपडी बनाउने जमिनसमेत नभए पनि खुला दिसामुक्त क्षेत्रका नाममा अत्याचार गरिएको समाचारमा उल्लेख छ ।

नेकपा गठन भएको ८ महिना भइसक्दा पनि कर्णाली र गण्डकी प्रदेशका तत्कालीन एमाले र माओवादी दुवै दलका नेता तथा सचेतकले सुविधा बुझ्दै आएको नयाँ पत्रिकाले लेखेको छ ।

फेसबुकमा पूर्वराजाको आलोचना गर्ने एसपी कारबाहीमा परेको, नेपाली किशोरले क्रिकेटर तेन्दुलकरको रेकर्ड तोडेकोलगायत खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ ।

नागरिकले क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका रोहित पौडेलबारे मुख्य समाचार बनाएको छ भने राजधानीले काठमाडौं उपत्यकाका सडकबारे सरोकार राखेको छ ।
गोरखापत्रले ‘स्विजरल्यान्ड भ्रमण सफलः प्रधानमन्त्री’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?