+

नयाँ प्रयोगले ठगिएका भालभर्दे !

२०७५ माघ  १३ गते १३:३८ २०७५ माघ १३ गते १३:३८
नयाँ प्रयोगले ठगिएका भालभर्दे !

१३ माघ, काठमाडौं । प्रशिक्षक एर्नेस्टो भालभर्देले बार्सिलोना सम्हाल्न थालेदेखि ला लिगालाई दिइएको महत्व प्रस्ट देखिएको छ ।

कोपा डेल रे प्रतिस्पर्धामा महत्वपूर्ण खेलाडीलाई आराम दिएर गरिएका नयाँ प्रयोगले मात्रै होइन प्रशिक्षककै भनाइले पनि त्यसलाई पुष्टि गर्छ ।

उनले च्याम्पियन्स लिगमा राम्रो गर्नका लागि पनि ला लिगाले मद्दत गर्ने भएकाले कोपा डेल रेमा केही परिवर्तन गरिएको बताउँदै आएका छन् । गएको सिजन कोपा डेल रेलाई समेत महत्व दिँदा खेलाडीले आराम नपाएको र च्याम्पियन्स लिग गुमेको प्रशिक्षक भालभर्देको विश्वास छ ।

यसैले कोपा डेल रेको क्वार्टरफाइनलमा सेभियासँग २–० ले हारेपछि पनि प्रशिक्षक भालभर्दे दुःखी देखिएका थिएनन् ।

सेभियासँग हार्नुअघि गएको वर्ष च्याम्पियन्स लिगमा रोमासँग ३–० ले दोस्रो लेग हारेपछि बार्सिलोना गोल गर्नबाट चुकेको थिएन ।
कोपा डेल रेको अन्तिम १६ मा पनि नयाँ प्रयोग गर्दा लेभान्टेसँग बार्सिलोना पहिलो लेगमा २–१ ले पराजित भएको थियो । यसैले दोस्रो लेगमा लियोनल मेस्सी र उसमान डेम्बलेको योगदान आवश्यक बनेको थियो । यो सिजन हरेक नयाँ प्रयोगमा भालभर्दे ठगिएका छन् ।

लियोनल मेस्सीलाई टिममा नराखिएको सेभियाविरुद्धको खेलमा लुइस स्वारेज, फिलिप कोउटिन्हो र जोर्डी अल्वा सुरुवातमा बेन्चमै थिए । भर्खरै क्लब आएका प्रिन्स बोएटेङ, माल्कोम र एलेनाले फ्रन्ट लाइन सम्हाल्दा बार्सिलोना निरिह देखिएको थियो ।

‘गएको वर्ष हामीले कोपा डेल रेमा लगाएको मेहनतले गर्दा अरु प्रतियोगिता गुम्यो । यसैले यो वर्ष सकेसम्म खेलाडी परिवर्तन गर्दै खेलाउने प्रयास गरेको हो’ भालभर्देले भनेका छन्, ‘मैले सबै कुरा विश्लेषण गरेको छु । कतिपय अवस्था हामीले राम्रो गर्न सक्ने थियो, कतिपय अवस्थामा उनीहरुले राम्रो गर्ने थियो । जे होस्, यो नतिजा हाम्रो उपलब्धी नै हो । दुःखी हुनुपर्ने कारण छैन ।’

यसैले नेपाली समयअनुसार आइतबार राति ९ बजे हुने ला लिगा अन्तर्गत जिरोनासँगको खेलमा भने भालभर्देले महत्वपूर्ण खेलाडीलाई नै खेलाउने योजना बनाएका छन् । उसमान डेम्बलेले घाइते रहेकाले समस्यामा परेका भालभर्दे मेस्सी, स्वारेज र बुस्केट्सलाई सुरुवातमै राखेर ला लिगा बलियो बनाउने योजनामा छन् ।

जारी सिजनमा मेस्सी र स्वारेजलाई अगाडि खेलाउँदा दुवैले गरेर ४० गोल गरेका छन् । २२ गोलमा अवसर बनाएका छन् । त्यसैले स्ट्राइकमा नयाँ परिवर्तन गर्दा समस्यामा परेका भालभर्दे थप प्रयोग गर्ने अवस्थामा छैनन् ।

शनिबार राति एथ्लेटिको मड्रिडले गेटाफेले हराएकाले पनि बार्सिलोनाका लागि दबाव बढेको हो । बार्सिलोना २० खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिडको २१ खेलमा ४४ अंक भएको छ ।

आउँदो बिहीबार कोपा क्वार्टरफाइनलको दोस्रो लेगमा सेभियासँग खेल्नुपर्ने भएकाले पनि बार्सिलोनामा मेस्सी–स्वारेज शैलीको आवश्यकता पर्नेछ । जिरोनासँग होस् या सेभियासँग मेस्सी र स्वारेजकै विगत राम्रो देखिन्छ पनि ।

मेस्सीले त जिरोनासँगको पछिल्लो पाँच खेलमा चार गोल नै गरेका छन् । साथै स्वारेजले जिरोनाविरुद्धको पछिल्लो तीन खेलमा चार गोल गरेका छन् ।

यस्तो छ सम्भावित सुरुवाती ११

टेर स्टेगेन, सर्जी रोबर्टों, पिके, लेङलेट, अल्बा, ¥याकिटिक, बुस्केट्स, आर्थर, मेस्सी, स्वारेज, कोउटिन्हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय