Comments Add Comment

राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पेस हुँदै

१४ माघ, काठमाडौं । तनावकाबीच प्रतिनिधिसभाबाट पास भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ । राष्ट्रियभा सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको होहल्लाकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।

अनशनरत डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेका सहमति र सम्झौताका विषयहरु विधेयकमा नसमेटिएको र आफ्ना नेताहरुका नाममा खोलिएका अस्पतालहरु सरकारले विघटन गर्न खोजेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

के छ विधेयकमा ?

विधेयक माफियालाई पोस्ने ढंगले ल्याइएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी पुस २५ देखि नै आमरण अनशनमा छन् । तर, विधेयकले डा. केसीका ९५ प्रतिशत माग पूरा गरेको दाबी सत्तारुढ सांसदहरुले गरेका छन् ।

यो विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । आशयपत्र लिएर पूर्वाधार पूरा गरेका मेडिकल कलेजहरुलाई उपत्यका बाहिर जान सरकारले प्रोत्साहन गर्नेछ । साथै एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउनेछ । यी बुँदाहरु माथेमा कार्यदलको सिफारिस र डा. गोविन्द केसीसँग भएको सहमति पनि हो ।

सरकारले ५ वर्षभित्र मेडिकल विश्वविद्यालय खोल्ने र सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा एउटा सार्वजनिक मेडिकल कलेज खोल्ने उल्लेख छ ।

शहीद परिवार, द्वन्द्व पीडित, जनआन्दोलनका घाइते लगायतका सन्ततीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । साथै १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामुलक बनाउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment