+
+

आउँछन् कि चेली भनेर माइती दोबाटो कुरेका…

मात्रिका पौडेल मात्रिका पौडेल
२०७५ माघ १४ गते २२:४५

१४ माघ, बतासे (सिन्धुपाल्चोक) । भूकम्पले भत्किएको घर फेरि उठ्दैछ । यतिका वर्ष टहरोमा बस्दा पनि उनले हिम्मत हारेनन् तर भूकम्पलगत्तै हराएकी छोरी फर्किने बाटो हेर्दा हेर्दै सुकलाल सुनारले हरेश खान थालेछन् । दिल्लीको कोठीबाट उद्दार गरिएकी छोरी आश्रयस्थलबाटै फेरि हराएको खबर सुनेपछि उनले ‘खुइय’ गर्न बाहेक कुनै जवाफ दिन सकेनन् ।

मेलम्ची बजारबाट करीव १४ किलोमिटर माथि तालामाराङको बतासे डाँडामा हामी पुग्दा ४८ वर्षीय सुकलाल भुकम्पले भत्काएको ठाउँमा नयाँ घर बनाउन व्यस्त थिए । वडाध्यक्ष जयराज थापासँगै केही महिलाको टोली आफ्नो घरतर्फ अघि बढेपछि पर्खालको प्वालबाट चियाएर हेरे–कतै छोरी भेटेर जिम्मा लाउन पो आएका हुन् कि ?

चरिमाया तामाङ र सुनिता दनुवार जस्तै उनकी छोरी शर्मिला पनि कोठीमा बेचिएकी थिइन् । कोठीबाट उद्दार भएपछि शक्ति समूहकी चरिमायाकै पहलमा उनी एक वर्षअघि दिल्ली पुगेर छोरीलाई आश्रयस्थलमा भेटेका पनि हुन् । त्यतिबेला छोरीले दिल्लीमै केही काम गरेर पैसा कमाएर आउने भन्दै बुबासँग फर्किन मानिनन् । यसपटक पनि चरिमाया र सुनिता रित्तो हात उनको घरमा पुगे,छोरी फेरि हराएको खबर लिएर ।

कोठीबाट उद्दार गरिएकी छोरी आश्रमबाट हराएको सुनेपछि सुकलाल पुर्पुरोमा हात राखेर सुस्ताए । छेउमा अर्की छोरी निर्मला र काखे छोरा थिए । उनले अलिकति आफ्नै छोरीलाई धिक्कारे अनि आफ्नो कर्मलाई । करीव आधा दर्जन छोराछोरीको जिम्मेवारी सम्हालिरहेका सुकलालकी पत्नी पाठेघरको उपचार गर्न काठमाडौंमा छिन् । यस्तो दुःखका बेला हुर्केकी छोरी फर्किने बाटो हेर्दा हेर्दै उनी दोबाटोमा सुस्ताउन विबश छन् ।

शर्मिला त्यसबेला १६ वर्ष पुगेकी थिइन् । दुई कक्षा पढेपछि उनले स्कूल छाडिन् । २०७२ साल बैशाख १२ को भूकम्पकै छेक उनले गाउँ र परिवार छाडेर बेपत्ता भइन् । काठमाडौं दिदीकोमा जाने भनेर उनी बहिनी निर्मला सहित गएकी थिइन् । बाटोदेखिनै उनलाई एकजना साथीको फोन तारन्तार आइरहेको थियो ।

बहिनी निर्मलाका अनुसार त्यस दिन उनी बौद्धस्थित दिदीको घरमा भएका बेला ट्याक्सी आयो लिन । दिदी नजाऊ भन्दा भन्दै उनी ट्याक्सी चटेर अपरिचित व्यक्तिसँग गइन् । उनलाई ट्याक्सीमा लैजाने को थियो र साथी भनिने महिला को थिइन् भन्ने थाहा छैन । तर त्यस दिनदेखि हराएकी शर्मिला करीव २ वर्षपछि दिल्लीको एक यौन अखडाबाट उद्दार भएकी थिइन् ।

१६ वर्षमा बेचिएकी शर्मिला अहिले २० वर्ष पुगिसकिन् । उनलाई कोठीबाट उद्दार गरेपछि दिल्लीको महिला आयोग र संघ संस्थाले शक्ति समूहमार्फत घरमा खबर गरे । शक्ति समूहकै पहलमा सुकलाललाई दिल्ली लगिएको थियो । त्यसबेला शर्मिलासहित १७ जना नेपाली युवती र किशोरी कोठीबाट उद्दार भएका थिए । तीमध्ये तीनजना सिन्धुपाल्चोककै थिए ।

दिल्लीका कोठीबाट डेढ वर्षअघि उद्दार गरिएका ती किशोरीलाई स्वदेश फिर्ता गर्ने कानुनी प्रक्रिया पूरा नहुँदा आश्रममा राखिएको थियो । आश्रमबाटै गत डिसेम्बर १ तारिखमा ८ जना किशोरी रहस्यमय ढंगले बेपत्ता भए । ती आठजना मध्ये सुकलालकी छोरी शर्मिला पनि थिइन् । एक वर्षअघि आफूले ल्याउन खोज्दा आउन नमानेकी छोरी फेरि हराएको सुनेपछि उनी शिथिल भए ।

उनले भने–हारेको कर्म रहेछ हजुर,काखकी छोरी आफ्नै मतिले हराई । सन्तानको माया कसलाई लाग्दैन र । कसैले अपहरण पो गरे कि ? कहाँ लगे होलान् ? आमा उसैलाई सम्झेर रुँदा रुँदै आधा ज्यानकी भइसकिन् । अब त फर्केर पनि आउली कि नआउली ? आएपनि आब्रुक लुटाएर आउने होली । यस्तो सन्तान दुःख अरुलाई नपरोस भगवान ।

छोरी चेली जोगाउनै मुस्किल

सुकलालको घरमा छोरी फेरि हराएको खबर सुनाउन पुगेका वडाध्यक्ष थापालाई खोज्दै शिखरपुरका अर्जुन अधिकारी बतासेमै पुगे । समस्या सुकलालकै जस्तो रहेछ,उनकी पनि छोरी हराइछन् । माघ १ गतेदेखि हराएकी १५ वर्षीया यशोदा अधिकारी घर नफर्किएपछि उनी वडाअध्यक्षलाई भेट्न आएका रहेछन् । सुस्त मनस्थितिकी छोरी कहाँ गइन् ? अत्तोपत्तो छैन ।

वडाध्यक्ष थापाका लागि भने यो नौलो घटना थिएन । उनको वडा र वरिपरिका गाउँबाट किशोरी हराउने समस्या आजको होइन । बिगतमा दलालहरु खुलेआम गाउँमा आएर ठूलागाउँ जाने भन्दै किशोरीहरु लिएर जान्थे । अझै पनि यी गाउँमा मुम्बई र दिल्लीलाई ठूलागाउँ भन्ने चलन छ । हराएका अधिकांश किशोरीहरु ठूलागाउँमा लगिने गर्छन् ।

थापा वडाध्यक्ष निर्वाचित भएपछि शर्मिला जसरी बेपत्ता भएका महिलाको संख्या खोजे । उनको वडाबाटमात्रै करीव एक दर्जन महिला तथा किशोरी सम्पर्कविहीन भएको तथ्यांक भेटिएको छ । उनीहरु कहाँ गए भन्ने अत्तोपत्तो छैन । यो संख्या अझै बढी हुन सक्ने उनको अनुमान छ ।

थापा भन्छन्–पहिले परिवारकै सहमतिमा खुलेआम बेचबिखन हुन्थ्यो । बेच्ने र बेचिनेबीच राम्रो सम्पर्क पनि हुन्थ्यो र कारवाही गर्न पनि सजिलो थियो । तर अहिले बेच्ने को हो भन्ने थाहा छैन । विदेश जाने नाममा सिफारिस लिन आउँछन्,छोरी नपठाउ भन्दा पनि रिसाउछन् । तर उनीहरुमध्ये अधिकांश ठूलागाउँमै बेचिएको आशंका छ ।

मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालका अनुसार उनी निर्वाचित भएयतामात्रै ११ जना किशोरी बेपत्ता भइसकेका छन् । हालसालैमात्र पनि यस्तो घटना भयो । आफैं पनि लामो समय मानव बेचबिखन र महिला अधिकारको आन्दोलनमा लागेकी उपमेयर भन्छिन्–हाम्रो मुख्य समस्यानै छोरी चेली जोगाउने भएको छ । किशोरी जोगाउनै मुस्किल भयो,हेर्दा हेर्दै बैदेशिक रोजगारीका नाममा बेचबिखन शुरु भएको छ ।

उपमेयर नेपाल भन्छिन्– किशोरीहरुको बेचबिखन झनै डरलाग्दो ढंगले बढेको छ । वैदेशिक रोजगारी र सामाजिक सञ्जालका कारण यो निकै चुनौतिपूर्ण पनि बनिरहेको छ । भूकम्पपछि त यो ठाउँबाट धेरै बालक पनि बेपत्ता भए । हप्तामा एउटा दुईटा किशोरी बेपत्ता भएका खबर आउँछन् । बिहे गरेर लगेपछि बेपत्ता बनाइएका घटना पनि छन् । जति जनचेतना फैलाए पनि यो कलंकको बिउ मेटिने छाँटकाँट छैन ।

भूकम्पलगत्तै रोजगारी,सुरक्षित बसोबास र पढाउने बहानामा धेरै बावालिका र किशोरीहरु गाउँबाट बेपत्ता पारिएको नेपालले बताइन् । तीमध्ये रानुका तामाङ र शर्मिला सुनार डेढ वर्षअघि दिल्लीको कोठीबाट उद्दार भएका थिए । डिसेम्बर १ मा दुवैजना आश्रमबाटै हराए । उनीहरु आश्रमबाटै पुनः कोठीमा बेचिएको वा अन्य यौन अखडामा पुर्‍याइएको आशंका गरिएको छ ।

उद्दार हुँदा १८ वर्षमुनिका ती किशोरीहरु यसबीचमा १८ वर्ष पुगेपछि दिल्लीकै अदालतमा मुद्दा चलिरहेको थियो । स्वदेश फिर्ती सम्बन्धी कानुन नहुँदा किशोरीहरु पुनः बेचबिखनको जोखिममा रहेको शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बताइन् । बेचबिखनमा परी उद्धार गरिएकाहरुलाई स्वदेशफिर्ती सम्बन्धी नीति नभएको कारण यस्तो घटना भएका हो ।

कुन हालतमा फर्केलान् ?

सुकलालको परिवारले शर्मिलाको बाटो हेरेको ५ वर्ष पुग्न लाग्यो । सबै उपाय सकिएपछि अब उनले आशा मार्न थालेका छन् । तर भाइ बहिनी अझै पनि दिदी टुप्लुक्क आइपुग्छिन् भन्ने आशमा छन् ।

दोबाटोको टहरोमा अडेस लागेर सुकलालका परिवार हामीलाई बिदाइ गर्दै थिए,त्यहिबेला स्थानीय रेडियोमा नारायणगोपालको गीत बज्दै थियो…आउछिन् कि चेली भनेर माइती दोबाटो कुरेका…सल्ला झैं आमा सुसाइरहिन् एक्लै चोटामा..।

सिन्धुपाल्चोकका सुकलालहरु नारायणगोपालको गीत जस्तै,ठूला गाउँमा बेचिएका आफ्ना छोरी चेली फकिएर आउँछन् कि भनी दोबाटो कुरिरहेका छन् । धेरै शर्मिलाहरु यो गाउँमा कहिल्यै फर्किएर आएनन् ।

फर्किएर जो आए उनीहरुको जीर्ण शरीर बिसाउनमात्र आएका थिए । ठूलागाउँमा बेचिएका शर्मिलाहरुलाई फर्काउन सरकारले प्राथमिकताका साथ पहल गर्ने हो भने सम्भव होला । नत्र उनीहरु फर्किन सक्लान् ?

थाहा छैन उनीहरु फर्किन्छन् कि फर्किन्नन् । फर्किए पनि कुन हालतमा आउने होलान् ? अनुत्तरित प्रश्न बोकेर हामी पनि फर्कियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?