+
+
डा. गोविन्द केसी प्रकरण :

डाक्टरमा ध्रुवीकरण : सरकार भर्सेस गोविन्द केसी !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते ९:५७

१५ माघ, काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बसिरहेका डा. गोविन्द केसीको विषयलाई लिएर देशभरका चिकित्सकहरु दुई ध्रुवमा बाँडिन थालेका छन् । एकथरि चिकित्सक डा. केसीको जीवन रक्षाको माग गर्दै रिले अनसन मार्फत आन्दोलनमा उत्रिएका छन् भने अर्काथरि, सत्तापक्षीय चिकित्सकले अस्पतालमा हडताल गरिए प्रतिकार गर्नेसम्मको अभिव्यक्ति दिन थालेका छन् ।

चिकित्सकहरुमा देखिएको सत्तापक्षी एवं प्रतिपक्षीय ध्रुवीकरणको प्रत्यक्ष असर अस्पतालहरुमा पर्न जाने र बिरामीले थप पीडा भोग्नुपर्ने सम्भावनाको बादल मडारिन थालेको छ ।

डा. केसीको पक्षमा लागेका चिकित्सकहरु उनका मागहरुको सम्वोधन नभए आन्दोलन नरोक्ने अडानमा छन् । अर्कोतर्फ वामपन्थी डाक्टरहरुले आन्दोलनमा सहभागी नभएर बाहिरै बसिदिँदा डाक्टरहरुको आन्दोलन कमजोर बन्ने लक्षण देखिएको छ ।

सवस्थ्य क्षेत्रमा देखिन थालेको यस्तो स्थितिप्रति सरकार भने अहिलेसम्म मूकदर्शक बनेर बसिरहेको छ ।

नेपाल चिकित्सक संघ सबैको छाता संगठन हो । उसले सोमबारदेखि देशभरका अस्पतालहरुमा रिले अनसनलगायतको आन्दोलनको कार्यक्रम सुरु गरेको छ । डा. केसीको जीवनरक्षाका लागि संघले आन्दोलन गर्नुपरेको बताएको छ ।

तर, डा.गोविन्द केसीले राजनीतिक माग राखेर अनसन बसेको भन्दै केसीको अनसनमा साथ दिन नसकिने नेकपानिकट चिकित्सकहरुको भनाइ छ । नेपाल चिकित्सक संघले थालेको रिले अनसन लगायतका कुनै पनि आन्दोलनका कार्यक्रममा वामपन्थी चिकित्सकहरु सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले गर्दा डाक्टरहरुको साझा संगठन चिकित्सक संघभित्रै आन्दोलन गर्ने र नगर्ने सन्दर्भमा विवाद देखा परेको छ । चिकित्सकहरु सत्तापक्ष र प्रतिपक्षमा ध्रुवीकृत भएका छन् ।

चिकित्सक संघका अध्यक्ष भन्छन्– डा. केसीको जीवन रक्षा गरौं

नेकपा निकट चिकित्सकहरुले अस्पतालमा बन्द हडताल गर्ने कुराको विरोध गरे पनि डाक्टरहरुको साझा संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आमरण अनसनमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाका लागि देशभरका स्वास्थ्य संस्थामा रिले अलनसन लगायतका आन्दोलनका कार्यक्रमहरु गर्नुपरेको बताएका छन् ।

चिकित्सक संघका अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपाल चिकित्सक संघ नेपाल सरकारलाई अविलम्ब डा. केसीको जीवनरक्षाका लागि तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउन तथा संघले आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने वातावरण ननिम्त्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

उता, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले अस्पताल हाताभित्र अनसन, धर्ना र बन्द, हड्ताल जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बिरामीको उपचारमा असर पर्ने कुनै गतिविधि नगर्न सोमबार विज्ञप्तिमार्फत चिकित्सकहरुलाई आग्रह गरेका छन् ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हड्तालको कार्यक्रम नराखिदिनु हुन र देशको ऐन नियम एवं चिकित्सकीय नैतिक दायित्वअनुरुप सदाझैं नियमित स्वास्थ्योपचार सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अपील गर्दछौं ।’

यसैवीच चिकित्सकहरुले मंलबार पनि अस्पतालहरुमा रिले अनसन जारी राखेको छन् । उनीहरुले डा. केसीको जीवन रक्षाका लागि मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

सत्तापक्षीय डाक्टर भन्छन्– अस्पताल बन्द गरिए प्रतिकार !

नेकपा निकट राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले डा.गोविन्द केसीका माग स्वास्थ्यसँग सम्बन्धित हुँदासम्म आफूहरुले साथ दिए पनि यसपटक राजनीतिक एजेण्डा बोकेकाले समर्थन गर्न नसकिएको बताएका छन् । उनले अस्पताल बन्द गरिए प्रतिकारसमेत गरिने बताए । डा. पौडेल वीर अस्पतालमा कार्यरत छन् ।

नेकपानिकट डा. पौडेलले अनलाइनखबरसँग भने, ‘हामीले यसअघिसम्म डा.केसीलाई साथ दिएका हौं, किनकि उहाँका माग चिकित्सा क्षेत्रसँग सम्बन्धित थिए । अहिले संसदले जनमुखी विधेयक पारित गरिसकेको सन्दर्भमा उहाँ नेपाली कांग्रेसका लागि अनसन बसिदिनुभएको जस्तो छ । हामीले यस्तो राजनीतिक एजेण्डामा समर्थन गर्न सक्ने भएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?