Comments Add Comment

रोकिएन मरिच तस्करी : टाउकोमा राखेर भारत पुर्‍याइँदै

१५ माघ, वीरगञ्ज । सोमबार बिहान ६ जना महिलाहरु टाउकोमा समान बोकेर भारततर्फ जाँदै थिए । सेतो बोरा टाउकोमा राखेर जाँदै गरेका उनीहरुले सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै समान फालेर भागे ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा कालो मरिच फेला पार्‍यो । उनीहरुको साथबाट डेढ क्विन्टल (२५ किलोको ६ बोरा) मरिच बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले छपकैयाँबाट ६ बोरा (डेढ क्विन्टल) मरिच बरामद भएको जानकारी दिए ।

मसलाको रुपमा प्रयोग हुने कालो मरिच विभिन्न माध्यमबाट वीरगञ्ज हुँदै भारत जाने गरेको पाइएको छ ।

विगतमा मुख्य भन्सार नाकाबाटै ट्रकमा छाला भनेर मरिच पास गराइएको थियो । पछि साईकलमा समेत भारत पुर्‍याउने गरेका थिए ।

चोरी तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीहरुले कडाइ गर्न थालेपछि अहिले भरियाको सहारा लिने गरेको पाइएको हो ।

कलकत्ता बन्दरगाह हुँदै भियतनाम लगायतका मुलुकबाट सहुलियतमा आयात गरिने मरिच नेपालबाट पुनः भारततर्फ नै तस्करी हुने गरेको छ ।

मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।

पछिल्ला दिनहरुमा सुख्खा बन्दरगाहबाट मरिच ल्याएर सीमा क्षेत्रमा भण्डारण गरि राख्ने र रातको समयमा तस्करी गर्ने गरिएको छ ।

यसअघि पनि प्रहरी र सशस्त्र प्रहरीले पटक पटक भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा मरिच बरामद गरिसकेको छ ।

सोमबार बरामद भएको डेढ क्विन्टल कालो मरिचको झण्डै ६० हजार मुल्य पर्ने अनुमान गरिएको छ । बजारमा मरिच ४ सयदेखि ५ सय रुपैयाँ खुद्रा मुल्यमा बिक्री भइरहेको छ ।

यस्तै, सशस्त्र प्रहरीले सीमावर्ती भारतीय बजार रक्सौलबाट भन्सार छलेर वीरगञ्ज भित्र्याइरहेको झण्डै एक लाख मूल्यको कार्पेट पनि बरामद गरेको छ ।

बरामद भएको मरिच र कार्पेट सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment