Comments Add Comment

३१ वर्षपछि बर्जु तालमा देखियो सिलसिले हाँस

कोशीटप्पुभन्दा बर्जु तालमा जलपंक्षीको संख्या धेरै

१९ माघ,  विराटनगर । पूर्व क्षेत्रमा ३१ वर्षपछि जलपंक्षी ठूलो सिलसिले हाँस फेला परेको छ । जाडो छल्न नेपाल आएका चराहरुको गणना गर्ने क्रममा ३१ वर्षपछि सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालमा ठूलो सिलसिले हाँस फेला परेको हो ।

चिसो मौसममा साइबेरीयाबाट जाडो छल्न चराहरु नेपालका कोशी टप्पु सहितका सिमसार क्षेत्रमा आउँछन् । गत पुस अन्तिमसाता आगन्तुक पानी चराको गणना गर्ने क्रममा बर्जु तालमा ३१ वर्षपछि ठूलो सिलसिले हाँस देखिएको कोशी पंक्षी समाजका अध्यक्ष अनिस तिम्सीनाले जानकारी दिए ।

चरा गणनाको क्रममा  १६ वटा ठूलो सिलसिले हास सुनसरीको बर्जु तालमा देखिएका हुन् । ‘पहिले हुलका हुल देखिने यी चरा पछिल्ला वर्षहरुमा देखिएको थिएन,’ कोशी पंक्षी समाजका सदस्य सुबास भुजेलले भने, ‘गणनाका कारण बर्जु तालमा एउटा हुल भेटियो ।’

उनका अनुसार ३१ वर्षअघि जाडो छल्न नेपाल आउने चराहरुमध्ये ठूलो सिलसिले हाँसहरुको संख्या बढी हुन्थ्यो । ठूलो सिलसिले हाँस भारतको चिसो क्षेत्रमा पाइने पानीचरामध्ये एक हो । पखेटाको केही भाग सेतो हुने सिलसिले हाँस प्रजातिको ठूलो चरा भएको भूजेल बताउँछन् ।

आगन्तुक चराको नयाँ गन्तब्य

चरा संरक्षणमा चासो नदिएको बर्जु ताल पछिल्लो समय चरा बासस्थानको केन्द्र बनेको छ । गत पुस अन्तिममा गरिएको चरा गणनाका क्रममा कोशी टप्पुभन्दा बढी संख्यामा चराहरु बर्जु तालमा देखिए ।

यो पनि पढ्नुहोस पाण्डवले पानी पिएको बर्जुतालः अटाएन १०० गन्तव्यमा

हिमाली नेचरको अगुवाइमा भएको चरा गणनाका क्रममा कोशी बर्जु तालमा ५८ प्रजातीका २१ हजार ७ सय ६४ चराहरु देखिएका थिए । तीमध्ये बर्जु तालमा मात्रै ३० प्रजातिका १२ हजार भन्दाबढी संख्यामा हाँस प्रजातिका जलपंक्षी थिए ।

कोशीको ठूलो सिमसार क्षेत्र छाडेर चराहरु बर्जुमा आउने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । चिसो छल्न जनवरीदेखि नेपाल आएका चरा दुई महिनापछि फर्कन्छन् ।

कोशी टप्पु आसपासका चरा बासस्थान मानव बस्तीका कारण संकटमा पर्दै गएका कारण आहारा खोज्दै जलपंक्षी बर्जुसम्म आएको बिज्ञहरु बताउँछन् । कोशीमा हुने बगुवा पानीमा भन्दा जमेको दहमा आहारा पनि धेरै हुने भएका कारण चराहरुको आगमन बढेको कोशी पंक्षी समाजका सदस्य चक्र तिम्सीना बताउँछन् ।

एसियन बर्ड सोसाइटीले प्रत्येक वर्षको जनवरी ५ देखि २० सम्म पानी चराहरुको गणना गर्दै आएको छ । बर्जु तालमा तीन वर्षयता चराको गणना थालिएको हो । गणनाका क्रममा कोशीमा पाउने चराहरुको संख्या घट्दो क्रममा छ भने बर्जुमा बढ्दै गएको देखिएको   तिम्सीना बताउँछन् । बर्जुमा सहज रुपमा आहारा पाउने भएका कारण पनि चराहरुको आगमन बढेको उनको अनुमान छ ।

यो पनि पढ्नुहोस जगदीशपुर तालमा दुई दर्जन बढी आगन्तुक चरा मृत फेला

बासस्थान संकटमा

एकै ठाउँमा दुर्लभ चराका धेरै प्रजाति पाइने बर्जु तालकै नाममा गाउँपालिकाको नाम पनि राखिएको छ । पौराणिक महत्व बोकेको तालको क्षेत्रफल १ सय ५० बिगाहाभन्दा बढी छ । बर्जुमा करिब १०० बिगाहामा फैलिएका दुईवटा ताल छन् ।

बर्जु तालमा मानिसहरुको आवतजावत बढेका कारण चराको बासस्थान संकटमा परेको छ । बर्जुमा साइबेरिया, रुस, चीन, भारत, बंगलादेशलगायत देशबाट उडेर जाडो छल्न आएका चराको बासस्थान मानवीय चहलपहल र मानव सृजित फोहोरका कारण संकटमा परेको हो ।

कोशी पंक्षी समाजका अध्यक्ष अनिष तिम्सिनाका अनुसार, जाडो छल्न तालमा आउने चरा मानव अतिक्रमणले वरपरका खेतमा गएर बास बस्ने गरेका छन् । बर्जु ताल संरक्षण समितिका अध्यक्ष बालिम चौधरी पनि चरा संरक्षणमा उल्लेख्य काम गर्न नसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment