Comments Add Comment

आजका पत्रपत्रिकाः भनेजस्तो नभए सरकारलाई नै धम्क्याउछन् दाता

२० माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले देशको अर्थतन्त्रबारे चासो राखेका छन् भने केहीले संसद्का महासचिवले उपभोग गर्दै आइरहेको सुविधाबारे सोधीखोजी गरेका छन् । दाताको बढ्दो दबदबा, सुस्ताएको नेकपा कार्यदल र सीडीओलाई दिइएको अधिकारबारे पनि पत्रपत्रिकाहरुले चर्चा गरेका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले दाताको बढ्दो दबदबाबारे कभर स्टोरी लेखेको छ । रिपोर्टअनुसार, आफूले भनेजस्तो नभए दाताले सरकारलाई समेत धम्क्याउने गरेका छन् ।

नेपालले अमेरिकी दूतावासले नेपाल सरकारलाई दिएको धम्कीलाई दृष्टान्तका रुपमा प्रस्तुत गरेको छ । रिपोर्टमा लेखिएअनुसार, ५ मे २०१७ मा अमेरिकी दूतावासले परराष्ट्रमन्त्रालयमा एक नोट गर्दा गराउँदै स्थानीय तह निर्वाचन पर्यवेक्षणमा विदेशीलाई नरोक्न आग्रह गरेको थियो । उसले धम्की दिँदै अगाडि भनेको थियो– अन्यथा आउँदा दिनमा अमेरिकी सहायता जोखिममा पर्नेछ ।

नेपालले भारतलगायत देशका विभिन्न घटनाक्रमलाई दाताको बढ्दो दबदबा पुष्टि गर्ने विषयवस्तु बनाएको छ ।

कान्तिपुरले ‘संसदका महासचिवलाई सुविधैसुविधा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानूनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् ।

कान्तिपुर लेख्छ– कानूनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । तर उनले ५ वटा गाडी र ३ चालक लिने गरेको जानकारी संघीय संसद् सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् ।

भेनेजुएला प्रकरणबारे नेकपाले निकालेको विज्ञप्तिको चर्चा पनि कान्तिपुरले गरेको छ ।

नयाँ पत्रिकाले देशको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे चिरफार गरेको छ । नयाँ पत्रिकाका अनुसार, व्यापार घाटा दोब्बरले बढेको छ भने विदेशी लगानी प्रतिबद्धता घटेको छ । वस्तुको बिक्री पनि घटेको छ । विदेशी विनिमय सञ्चिति खुम्चन थालेको भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विदेशी मुद्राको सञ्चिति अहिल्यै चिन्ताको विषय नभए पनि यही रफ्तारमा घट्दै गए भुक्तानी सन्तुलन जोखिममा आउन सक्ने सम्भावना औंल्याएका छन् ।

पारा साइकलयात्री नरेशराज भट्टराईको संघर्षशील जीवनबारे मुख्य समाचार बनाएको अन्नपूर्णले निर्मला पन्त प्रकरणसँग मिल्दोजुल्दो घटना मोरङमा घटेको लेखेको छ । समाचार अनुसार, विराटनगरकी रुपमति दासको हत्या रहस्यमय बनेको छ ।छिमेकमा टीभी हेर्न भनेर निस्केकी उनको शव भोलिपल्ट फेला परे पनि प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । सातासम्म अपराधी पत्ता नलागनेपछि स्थानीय आन्दोलित भएका छन् ।

नागरिकले नदी दोहनलाई मुख्य समाचार बनाएको छ । सुदूरपश्चिमको राजधानी स्थल तेघरीस्थित गोदावरी नदी र दाङको खोला तथा सुनकोसीको दोहनलाई नागरिकले समाचारको विषयवस्तु बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन गरेको चौथो कार्यदल अलमलमा परेको अर्को खबर पनि नागरिकमा छ । पुस मसान्तभित्र पार्टी एकीकरण र सांगठनिक संरचना बुझाउने जिम्मेवारीसहित गठति रामबहादुर थापा नेतृत्वको कार्यदल समयसीमाभित्र मिसन पूरा गर्न असफल भएको समाचारको सार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment