Comments Add Comment

विकट हिमाली गाउँमा शिक्षाको उज्यालो छरिरहेको विद्यालय

दाताको हात, स्थानीयको साथ

२१ माघ, काठमाडौं । वरपर आँखा डुलाउँदा टल्किरहेका हिमाल देखिन्छन् । छेवैमा तमोर नदी बगिरहेको छ । हरिया पहाडले घेरिएका गरामा करिब ६० घर झुरुप्प छन् । माथिबाट हेर्दा उपत्यका जस्तो लाग्छ । यो हो घुन्सा ।

हिजोआज हिउँ परेर सेताम्य बनेको घुन्सामा हिउँ पग्लिएपछि यस्तो परिदृष्य देखिन्छ । ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा मानव बसोबास भएको माथिल्लो गाउँ हो यो । यहाँ पुग्न सदरमुकाम फुङलिङबाट पाँच घण्टा गाडीमा गएर दुई दिन पैदल हिँड्नुपर्छ ।

कञ्चनजङ्घा जाने पर्यटकका लागि परिचित घुन्साको पर्यटनसम्बन्धी कुरा आइरहेकै छन् । पर्यटनमा मात्र होइन, घुन्सामा केही वर्षयता अर्को नौलो उपलब्धी देखिन्छ । त्यो हो, शिक्षामा आएको परिवर्तन ।

समुद्र सतहदेखि ३४ सय ७५ मिटर उचाइमा रहेको ‘घुन्सा आधारभूत विद्यालय’मा पहिले मुस्किलले १० जना विद्यार्थी हुन्थे । अहिले ६० जना नियमित विद्यार्थी छन् । टाढाबाट आउने ४० जना छात्राबासमा बस्छन् । अंग्रेजी र नेपाली भाषामा विविध ज्ञानमात्रै होइन, कला र संस्कृतिसँगै मातृभाषा पनि पढ्छन् ।

गरिबको पहुँचमा आधुनिक सिकाइ

ताप्लेजुङ आम्जिलेसाका लाक्पा किमा शेर्पाको परिवारलाई सन्तानलाई शिक्षादिक्षा दिनुपर्छ भन्ने थाहा नभएको होइन । तर, पनि चिन्ता थियो, पढाउने कहाँ ? नजिक राम्रो विद्यालय छैन, टाढा सहर लैजान सकिँदैन ।

उनीहरुले त्यो चिन्ताको समाधान भेटे, घुन्सा आधारभूत विद्यालयमा । घुन्सादेखि एक दिनको पैदल दुरीमा रहेको आम्जिलेसाका लाक्पा मात्र होइन, दुई दिन पर खेजेनेमका सुवास शेर्पा, एक दिनको बाटोमा पर्ने लामाटारका दिनेश राई र ग्याब्लाका पासाङ शेर्पाजस्ता ६० जना विद्यार्थीलाई वरदान सावित भइरहेको छ घुन्सा विद्यालय ।

कसरी फेरियो त विद्यालय ? कारण हो, विद्यालयको व्यवस्थापन र स्थानीयको इच्छाशक्ति । ‘विद्यालय राम्ररी चल्न व्यवस्थापन मजबुत हुनुपर्छ । प्रशासन राम्रो भएर काम हुन सक्यो भने अरु कुरामा सुधार हुँदै जाने रहेछ,’ गत २९ वर्षदेखि घुन्सा आधारभूत विद्यालयमा पढाइरहेका शिक्षक चुमे शेर्पाले सुनाए ।

विद्यालयमा आएको परिवर्तनको राम्ररी अनुभव गरेका उनी भन्छन्, ‘चाह्यो भने त हुनेरहेछ । गाउँलेहरु पनि अहिले निकै सकारात्मक छन् । आफ्नै गाउँठाउँमा आफ्ना सन्तानले राम्रो शिक्षा पाए भने त्योभन्दा खुशी अरु के हुन्छ ? अझ बाहिर छोराछोरी पढाउन नसक्ने चौंरी गोठाला, भेंडा गोठाला जस्ता श्रमिकलाई घुन्सा विद्यालयले धेरै राहत दिएको छ ।’

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मा रहेको घुन्सामा जाडोका कारण पठनपाठनमा समस्या भएपछि गएको पुस ३ गतेदेखि फागुन ५ गतेसम्म विद्यालय बिदा छ । आफूहरुकोमा बर्खे बिदा र लामो समय चाडपर्व बिदा नहुने हुँदा ५० दिनको जाडो बिदाले पनि पढाइमा असर नगर्ने चुमे सुनाउँछन् । यसैले पारिवारिक काम पनि हुने र जाडो पनि छलिने भएकाले अहिले उनी काठमाडौंमा छन् ।

फेरिएको शिक्षा चेतना

कञ्चनजङ्घा हिमालतिर पदयात्रामा जाने यात्रुका लागि नौलो नाम होइन, घुन्सा । पदयात्राका लागि चिनिएकैले घुन्सा र पर्यटनको नाता पुरानै हो । यसैले घुन्साको विद्यालयको कथामा पनि पर्यटन जोडिन आउँछ ।

घुन्सा विद्यालय २०२२ सालमा स्थापना भएको थियो । त्यो बेला प्राथमिक तहसम्म पढाइ हुन्थ्यो । २०४५ सालबाट निम्न माध्यमिक विद्यालयमा स्तरोन्नती भयो । अहिले आधारभूत विद्यालयका रुपमा सञ्चालनमा छ ।

हिमाली भेगका अन्य विद्यालयको जस्तो अवस्था हो, घुन्साको पनि त्योभन्दा भिन्न थिएन । भौगोलिक विकटतासँगै पाठ्यसामग्रीको अभाव र शिक्षकहरुको अनियमितता । बोर्ड मात्रै झुण्डिएको विद्यालय ।

सन् १९८५ मा अमेरिकाबाट कञ्चनजङ्घा आरोहणमा आएको एक जोडीसँग घुन्सा विद्यालयको सम्बन्ध जोडियो । त्यसबेला हिमाल चढ्न आएको जोडी आरोहणका क्रममा दुर्घटनामा पर्‍यो । श्रीमान वेपत्ता भए भने श्रीमतीलाई घुन्साका स्थानीयले उद्दार गरेर काठमाडौं पठाए ।

स्थानीयको सहयोगले नयाँ जीवन पाएकी अमेरिकी नागरिक चेरी दुर्घटनाको झण्डै तीन वर्षपछि फेरि घुन्सा भ्रमणमा पुगिन् । यो पटक उनको उद्देश्य आफूलाई सहयोग गर्ने गाउँका लागि केही गर्नु थियो । त्यसैले उनले गाउँहरुको आवश्यकता बुझ्दा सबैको एउटै स्वर थियो, शिक्षा र स्वास्थ्य ।

‘स्वास्थ्य र शिक्षाका लागि सहयोग गरिदिनुपर्छ भन्ने कुरा सबै गाउँलेको थियो । त्यो बेला स्वास्थ्य चौकी पनि थिएन । विद्यालय भवन राम्रो बनाउने र त्यसैको एक छेउमा स्वास्थ्य इकाइ पनि चलाउने भन्ने कुरा भयो । त्यसमा चेरीले सहयोग गरिन्,’ विद्यालय सुधारमा लागेका मिङमा दन्डु शेर्पाले सुनाए ।

गाउँको शिक्षामा सहयोग गरेकी उनै चेरीलाई गाउँलेहरु अहिलेसम्म ‘चेरी आमा’ भनेर चिन्छन् । चेरी आमाको सहयोगमा विद्यालय भवन फेरिए पनि पठनपाठन अभ्यास भने फेरिन सकेन । गाउँलेहरुमा शिक्षाप्रतिको चेतना भने उज्यालिएको थियो ।

चेरी आमाले सन् २०१० सम्म विद्यालय भवन निर्माण, स्वास्थ्य इकाइ लगायतमा घुन्सालाई सहयोग गरिरहेकी थिइन् । उनी आफैं अस्वस्थ भएपछि भने सहयोग ट्ट्यो । त्यसपछि स्थानीयले विद्यालय सुधारका विकल्प खोज्न थाले ।

भूकम्पपछि नयाँ युग

चेरी आमाको सहयोगमा बनेको ९ कोठे पक्की विद्यालय भवन ०७२ सालको भूकम्पले ध्वस्त भयो । विद्यालय भत्किएपछि साना नानीहरुको पढाइ बिगि्रयो । यसैले घुन्साबाट कामको शिलशिलामा विभिन्न क्षेत्रमा छरिएकाहरुको मन पोल्यो । गाउँको विद्यालयको अवस्थाले केही गरौँ भन्ने हुटहुटी आयो ।

‘आफू पनि त्यही क्षेत्रमा जन्मिएको मान्छे । त्यही भएर केही गरौँ भन्ने उद्देश्यले कुराकानी गर्‍यौँ । अस्टे्रलियाका नागरिक डङ्कन चेसललगायत अस्टे्रलियन साथीहरुको सहयोगमा भूकम्पले बिगारेको विद्यालय बनाउने कुरा भयो,’ विद्यालय पुनर्निर्माणमा काम गरेका मिङ्माले सम्झिए ।

हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्टे्रलिया -एचडीएफए)मार्फत विद्यालयका लागि सहयोग आउने भएपछि व्यक्तिगत रुपमा मात्रै काम गर्न सम्भव भएन । त्यसैले घुन्साबाट काठमाडौं आएर बस्नेहरुको सहयोगमा कञ्चनजङ्घा बुद्धिष्ट सोसियल सर्भिस भन्ने संस्था जन्मियो । त्यसबाटै २०१५ मा साझेदारी गरेर विद्यालय पुनर्निर्माण भयो ।

यसपटक स्थानीयले बुझेका थिए, विद्यालय भनेको बोर्ड झुण्डिएको पक्की भवन मात्रै होइन । त्यसैले उनीहरुले एचडीएफएकै सहयोगमा शिक्षामा सुधार गर्न सकिने, विद्यार्थी र शिक्षक नियमित गर्न सकिने विभिन्न आधारहरुमा काम गर्न थाले ।

भौतिक पूर्वाधार मात्रै होइन, विद्यालय व्यवस्थापन समिति पनि राम्रो बनाउने सोच आयो । शिक्षकदेखि व्यवस्थापन समितिले समेत आफ्नो भूमिका बुझेर काम गर्न थाले ।

विद्यालयमा सरकारीस्तरमा ७ जना शिक्षक छन् । २ जना भने एचडीएफए र बटरफ्लाई प्रोजेक्टको सहयोगमा छन् । उनीहरु एक जना अंग्रेजी भाषाका शिक्षक हुन् भने अर्का स्थानीय शेर्पा भाषाका शिक्षक हुन् ।

विद्यार्थीहरु पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि छन् । उनीहरु भाषा र संस्कृति पनि सिक्छन् र व्यवहारमा लागु गर्छन् । शैक्षिक उपलब्धीमा पनि उनीहरु राजधानीको जुनसुकै विद्यालयमा आएर पढ्नयोग्य भएको दावी शिक्षकहरुको छ ।

शिक्षकहरुका लागि बेलाबेला तालिमको व्यवस्था हुने गर्छ । सुविधासम्पन्न विद्यालयमा सिकाइ भ्रमण गरिएको छ । व्यवस्थापन समितिका लागि समेत तालिमहरु भएका छन् । जसले गर्दा विद्यालय व्यवस्थापनमा कसरी काम गर्ने भन्ने सिकाइ मिलेको छ ।

छात्रावासले दिएको सुविधा

घुन्सादेखि एक घण्टा तल फले भन्ने गाउँ छ । त्यहाँबाट तीन घण्टा तल ग्याब्ला भन्ने गाउँ छ । त्यसयता आम्जिलेसा । प्राय बालबालिका घुन्सामा पढ्न पुगेका छन् । यसैले घुन्सा आधारभूत विद्यालयमा छात्रावासको सुविधा पनि आवश्यकताले जन्माएको हो ।

भौगोलिक विकटताका कारण एउटा गाउँबाट अर्को गाउँ पुग्न दिनभर नै लाग्छ । बीचमा अरु विद्यालय पनि छैनन् । त्यसैले छात्रावास सुरु हुने बेला चार वर्षअघि प्रधानाध्यापक रहेका लिलाचक्र गुरुङले केही विद्यार्थीलाई विद्यालयमै राख्ने, खाना खुवाउने गर्न थाले । त्यसबाट नै होस्टेलको आवश्यकता देखाएको थियो ।

‘गाउँका विद्यार्थीका लागि त घरबाटै जान सम्भव भइहाल्छ । तर अलि टाढाबाट हिँड्दै आउने विद्यार्थीका लागि सुरुदेखि समस्या थियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाली चुम्दा शेर्पा भन्छन्, ‘एचडीएफएले सहयोग सुरु गर्दा विद्यार्थी १०/१५ जना मात्रै थिए । छात्रावास निर्माण गरेर गुणस्तरीय रुपमा जान सकियो भने त्यो क्षेत्रका बच्चाहरु बाहिर पढ्न जाने अवस्था अन्त्य हुन्छ भनेर सुरु गरिएको हो । त्यस्तै भइरहेको छ ।’

छात्रावासमा ४० जना मात्रै राख्न सकिने भएकाले पढ्न आएका कतिपय विद्यार्थीलाई फर्काउनु पर्ने अवस्था रहेको उनले बताए । स्थानीय २० जना बालबालिका घर बसेरै पढ्छन् । ‘छात्रावासलाई अलि बढाउन सकिए धेरैले सुविधा पाउँथे,’ घुन्सा विद्यालय सुधारमा लागेका मिङमा दन्डुले भने ।

होस्टेल व्यवस्थापन गाउँकै आमा समूह र व्यवस्थापन समितिले हेरिरहेका छन् । आमा समूहमा रहेका आमाहरुमध्ये एक जनाले एक महिनासम्म खाना, खाजा दिने, कपडा धोइदिने लगायत होस्टेलका काममा सहयोग गरिरहेका हुन्छन् । यसैका लागि एचडीएफले आमा समूहलाई महिनाको १५ हजार रुपैयाँ सहयोग गरिरहेको छ ।

एक जना खाना पकाउने कर्मचारी छन् । उनलाई एचडीएफले महिनाको १५ हजार नै दिइरहेको छ ।

यसरी जुट्छ स्रोत

गाउँमा डब्लुडब्लुएफको सहयोगमा माइक्रो हाइड्रोबाट ३५ किलोवाटको विजुली निकालिएको छ । यसरी गाउँमा बत्ती बल्न थालेको १५ वर्ष भयो ।

पाँच वर्षअघि हाइड्रोको मेसिन बिग्रिएर बल्दै गरेको बत्ती निभ्दा गाउँ अन्धकार भयो । नयाँ मेसिन लैजान बुटवलबाट काठमाडौं र काठमाडौंबाट हेलिकोप्टर चार्टर गर्दा १६ लाख रुपैयाँ खर्च भएको थियो । जुन ऋण स्वरुप एचडीएफले गाउँलेलाई सहयोग गरेको हो ।

बिजुली बालेबापत गाउँहरुले केही रकम तिर्छन्, जुन रकम विद्यालयको छात्रावासमा रहेका भान्से र आमा समूहका लागि खर्च हुने गरेको छ । बिजुली बत्ती घुन्साका साथै त्यहाँदेखि तल रहेको फले गाउँमा पनि प्रयोग भइरहेकाले विद्यालय चलाउन सजिलो भएको छ ।

अहिले घुन्साबाट आठ कक्षा पास गरेका विद्यार्थीलाई काठमाडौंमा ल्याएर पढाउने काममा पनि एचडीएफले सहयोग गरिरहेको छ । ‘यो वर्ष तीन विद्यार्थीले आठ कक्षा पास गर्दै छन् । उनीहरुको इच्छाअनुसार काठमाडौं ल्याएर पूर्ण छात्रवृत्तिमा पढाउने सल्लाह भइरहेको छ,’ एचडीएफएको कार्यक्रम संयोजकसमेत रहेका मिङमाले बताए ।

पुरानो सहयोगलाई निरन्तरता दिनेबारे स्थानीय बासिन्दा, चेरी आमा र एचडीएफबीच अहिले पनि कुराकानी भइरहेको छ । जसले गर्दा शिक्षासँगै स्वास्थ्य र पर्यटनमा पनि काम गर्ने सकिने स्थानीयको आशा छ ।

सरकारीस्तरमा रहेका शिक्षकबाहेक थप शिक्षकका लागि चाहिने रकम र अन्य सुधारमा आवश्यक पर्दा घुन्साबाट काठमाडौं आएर बस्नेहरुको संस्था कञ्चनजङ्घा बुद्धिस्ट सोसियल सर्भिसबाट पनि सहयोग भइरहेको छ ।

सहयोगबाटै कहिलेसम्म चल्ला ?

विद्यालयप्रति गाउँलेलाई पहिले वास्ता थिएन । अहिले विद्यालयले गाउँमा  शिक्षाको उज्यालो दिएपछि गाउँलेहरु पनि खुशी छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने घुन्सा भ्रमणमा गएका पर्यटकसमेत एकपटक विद्यालय नटेकी र्फकंदैनन् ।

विद्यालयको अवस्था राम्रो हुँदै गएको अहिलेको अवस्थामा स्थानीयको एउटै चिन्ता छ, अरुको सहयोगमा कहिलेसम्म चल्ला त ?

पछिल्लो चरणमा पर्यटक बढेकाले धेरैजसो पर्यटन व्यवसायसँग आबद्ध छन् । यसले स्थानीयको आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको छ । यसैले कञ्चनजङ्घा बुद्धिस्ट सोसियल सर्भिस मात्रै होइन आवश्यक पर्दा स्थानीय बासिन्दा पनि सरसहयोगमा तयार छन् । तर दाताको सहयोग रोकिने समयमा यो सबै पर्याप्त हुँदैन ।

हिमाली भेगको विद्यालयमा भएको यस्तो सुधारमा सरकारी निकायले थप सहयोग गर्ला कि भन्ने आशमा विद्यालय व्यवस्थापन समिति रहेको छ । ‘गएको वर्ष होस्टेल व्यवस्थापनका लागि सरकारी स्तरमा २ लाख ५० हजार रुपैयाँ सहयोग आएको थियो । त्यसले छात्रावासमा बस्ने २० जना विद्यार्थीको खर्च पुग्छ, बाँकीका लागि एचडीएफले नै हेरेको छ,’ व्यवस्थापन समितिका अध्यक्ष हिमाली चुम्दा शेर्पा भन्छन्, ‘अब एचडीएफले सहयोग रोक्दा पनि सरकारीस्तरमा केही रकम बढ्ला कि भन्ने आश गरेका छौँ ।’

विद्यालय सञ्चालनका लागि गएको वर्ष सरकारी तवरबाट थप आठ लाख रुपैयाँ पनि सहयोग आएको थियो । होस्टेलमा बस्ने विद्यार्थीले मासिक १ हजार रुपैयाँ तिर्नुपर्छ । यो पनि लिन नपरे हुन्थ्यो भन्नेमा छन् व्यवस्थापन समितिका अध्यक्ष शेर्पा । उनी भन्छन्, ‘यहाँ पढ्ने धेरैजसो विद्यार्थीको आर्थिक अवस्था राम्रो छैन, त्यसैले हामीले छात्रावासका लागि लिएको थोरै रकम पनि लिन नपरे हुन्थ्यो भन्ने सोचिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment