Comments Add Comment

प्रवासी पक्रन अमेरिकामा नक्कली विश्वविद्यालय सञ्चालन

Photo Credit : अमेरिकाले सञ्चालनमाम ल्याएको नक्कली विश्वविद्यालयको वेवसाइट ।

२१ माघ, काठमाडौं । अवैध प्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा भएको छ । हालै १२९ भारतीय विद्यार्थीहरु पक्राउ परेपछि यसको खुलासा भएको हो ।

अमेरिकाले जानीजानी नक्कली विश्वविद्यालय बनाएर त्यहाँ अध्ययनरत १२९ भारतीय विद्यार्थीलाई पक्राउ गरेको भन्दै भारतले विरोध जनाएको छ । अमेरिकाको मिशिगन राज्यको युनिभर्सिटी अफ फार्मिङ्गटनबाट १२९ भारतीय विद्यार्थीहरु पक्राउ परेका हुन् ।

यस युनिभर्सिटीलाई अमेरिकी सुरक्षा बलका एजेन्टले चलाइरहेका थिए ताकि पैसा खर्च गरेरै भए पनि अमेरिकाको बसाइँ लम्बाउन खोज्नेहरुलाई पहिचान गर्न सकियोस् र पक्रन सकियोस् ।

शनिबार भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित अमेरिकी दूतावासमा यस विषयमा विरोध जनाएको छ । पक्राउ परेका विद्यार्थीहरुलाई कानुनी सहायता उपलब्ध गराउन भारतले माग गरेको बीबीसीले लेखेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘हाम्रो चिन्ता भारतीय विद्यार्थीहरुसँग राम्रो व्यवहार होस् र उनीहरुसम्म भारतीय अधिकारीहरुको पहुँच पुगोस् ताकि कानुनी सहायता उपलब्ध गराउन सकियोस् ।’

कसरी फसे भारतीय विद्यार्थी ?

अमेरिकाले यो नक्कली विश्वविद्यालय सन् २०१५ देखि नै चलाइ रहेको छ । अमेरिकी मिडियाका अनुसार यो विश्वविद्यालय ती विदेशी नागरिकलाई आकर्षित गर्नका लागि खोलियो जो स्टुडेन्ट भिसामा अमेरिका पुगेर बस्न चाहन्छन् ।

यो युनिभर्सिटीको एक वेबसाइट पनि छ । वेबसाइटमा कक्षा कोठा र लाइब्रेरीमा विद्यार्थीहरु देखिन्छन् । केही तस्वीरहरुमा क्याम्पसमा विद्यार्थीहरु आपसमा कुराकानी गरिरहेको पनि देखिन्छ ।

एकपटक यसले विज्ञापन प्रकाशित गर्‍यो । यसको विज्ञापनमा लेखिएअनुसार अन्डरग्राजुयटका लागि एक वर्षको फिस ८ हजार ५ सय डलर तोकिएको छ । ग्राजुयसन गर्नेहरुलाई ११ हजार डलर फिस निर्धारण गरिएको छ ।

यसको एक नक्कली फेसबुक पेज पनि छ । यद्यपि पछिल्लो हप्ता जुन तस्तावेज सार्वजनिक भएको छ त्यसबाट थाहा हुन्छ कि यो युनिभर्सिटी चलाउनेहरु अमेरिकाको इमिग्रेशन र कस्टम्स एन्फोर्समेन्ट एजेन्सी (आईसीआई)को अन्डरकभर एजेन्ट थिए । मिशिगनको डेट्राइटमा रहेको एक बिजनेश पार्क यही युनिभर्सिटीको क्याम्पस हो ।

अभियुक्त को हो ?

मिशिगनका डिस्ट्रिक्ट कोर्टमा दायर भएको मुद्दाअनुसार विद्यार्थीहरुलाई यो युनिभर्सिटी नक्कली हो भन्ने कुरा थाहा थियो । यो विश्वविद्यालयको प्रयोग पैसा खर्च गरेवाफत अमेरिकामा बस्न पाइने स्किमको रुपमा गरिएको थियो । यो स्किम त्यस्ता व्यक्तिहरुका लागि थियो जो अमेरिकामा वैध तरिकाले आउँछन् र अमेरिका बसेर काम गर्नका लागि गलत तरिकाबाट लामो समयसम्म बस्ने कोशिस गर्दछन् ।

यो प्रकरणमा १३० विद्यार्थी पक्राउ परे । तिमध्ये १२९ जना भारतीय छन् । डिट्राइट फ्री प्रेस रिपोर्टका अनुसार उनीहरुलाई गत बुधबार सिभिल इमिग्रेशनको आरोपमा गिरफ्तार गरिएको हो ।

यदि यी विद्यार्थीहरु दोषि पाइएमा निर्वासनको सजाय हुनेछ । भनिन्छ, आठ जनामाथि युनिभर्सिटीमा नामांकन गराउन सघाएको आरोप छ । यो आरोप फाइदाका लागि भिसा दुरुपयोगअन्तर्गत पर्दछ ।

भारतको तर्क के छ ?

भारतको भनाइअनुसार विद्यार्थीहरुमाथि नै धोकाधडी भएको छ । भारतीय विदेश मन्त्रालयले यस विषयमा विस्तृत जानकारी सार्वजनिक गर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकाका केही इमिग्रेशन वकिलहरुका अनुसार धेरै पटक निर्दोष विदेशीहरु पनि सरकारले थापेको यस्ता खालका जालमा फस्छन् ।

एटलान्टाको इमिग्रेशन महान्यायाधिवक्ता रवि मन्नाले डिट्राइट फ्री प्रेससँग भनेका छन्- यस प्रकारको स्टिङमा जस्तो प्रतिवद्धता जनाइएको हुन्छ, त्यसमा मानिसहरु फस्छन् ।

वाशिङ्गटनस्थित भारतीय दूतावासले यसबारेमा एक हेल्पलाइन नम्बर दिएको छ । जसमा फोन गरेर विद्यार्थीहरुको अभिभावकहरुले आफ्ना समस्या, गुनासा र चिन्ताहरु राखिरहेका छन् ।

नयाँदिल्लीस्थित अमेरिकी दूतावासले पनि यो कुरामा भारतले विरोध जनाएको पुष्टि गरेको छ । यद्यपि यसको पुष्टि हुनु बाहेक अन्य थप जानकारी दिइएको छैन ।

प्रवासीमाथि कडा अमेरिका

अमेरिकी इमिग्रेशनसँग सम्बन्धित अधिकारीहरुले हालैका वर्षहरुमा अवैध प्रवासीहरुलाई पत्ता लगाउन धेरै रणनीतिक कामहरु गरेका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाले अवैध प्रवासीहरुमाथि अझै कडा रवैया अपनाएको छ । गत वर्ष दुई ठूला कारबाही गरिएको थियो जसमा तीन सय जना पक्राउ परेका थिए ।

सन् २०१६ मा बराक ओबामाको शासनकालमा पनि उत्तरी न्यूजर्सीमा एक नक्कली विश्वविद्यालय बनाइएको थियो । यसबाट २१ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा धेरैजसो भारत र चीनका थिए । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment