+
+

यूएईका प्रशिक्षक भन्छन्– फाइनलमा नेपालको फिल्डिङ अविश्वसनीय

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते १३:४९

काठमाडौं । नेपाल र यूएईबीचको टी–२० सिरिजको तेस्रो म्याच निकै उतार चढावयुक्त थियो । नेपालले बलिङ र ब्याटिङ दुवैमा अत्यन्त खराब सुरुवात गरे पनि अन्ततः यूएईबाट जित खोस्न सफल भयो ।

नेपाललाई जिताउन बलिङ र ब्याटिङको जति हात थियो, त्यति नै हात रह्यो फिल्डिङको पनि । उपकप्तान ज्ञानेन्द्र मल्लले लिएका तीन महत्वपूर्ण क्याचले यूएईतर्फ गइरहेको म्याचलाई निर्णायक ढंगले नेपालको पक्षमा मोडेको थियो । खासगरी ज्ञानेन्द्रले लङअनमा दौडदै लिएको वान ह्यान्ड क्याचलाई धेरैले उत्कृष्ट संज्ञा दिएका छन् र यसको भिडियो फेसबुकमा भाइरल छ ।

अन्तिम ओभरमा यूएईलाई २० रन चाहिएको थियो र चार विकेट उसको हातमा थिए । ललित राजवंशीको पहिलो बलमा नै यूएईका ब्याट्सम्यानले लामो सट खेले जुन लङ अनको दिशामा छक्का हुने जस्तो देखिएको थियो । तर बल बाउन्ड्री लाइन नजिकै खस्ने क्रममा ज्ञानेन्द्रले दायाँतर्फबाट दौडदै डाइभ लगाएर एक हातले सो क्याच लिएका थिए । उक्त क्याचसँगै नेपालको जित लगभग सुनिश्चित भएको थियो ।

यूएईका कोचले फाइनल म्याचमा नेपालको फिल्डिङको खुलेर प्रशंसा गरेका छन् । नेपालले ‘अविश्वसनीय’ फिल्डिङ गरेको उनले बताए ।

यूएईका प्रशिक्षक डगी ब्राउनले भने, ‘नेपालको टिम वर्क वास्तवमै प्रेरणादायी थियो र यसबाट हामीले पनि धेरै सिक्न सक्छौं । महत्वपूर्ण क्षणमा उनीहरुको फिल्डिङ पनि अविश्वसनीय थियो । उनीहरुले कहिल्यै पनि आत्तिएर खेलेनन् ।’

नेपालका कप्तान पारस खड्का पनि फाइनलमा आफ्नो टिमको फिल्डिङबाट गदगद छन् । म्याचपछि उनले भने, ‘आज खेलाडीहरुले ग्रान्ड पर्फमेन्स देखाए । खासगरी आजको फिल्डिङ चमत्कारिक थियो ।’

यूएईका कप्तान ब्राउन आफ्नो टिमले भने दबाव झेल्न नसकेको बताउँछन् । बाउन्ड्रीमा दुईवटा क्याच छुटेर छक्कामा परिणत भएको भन्दै उनले थकथकी मानिरहेका छन् । ‘हामीसँग श्रृंखला जित्ने मौकाहरु थिए । तर, त्यसको सदुपयोग गर्न सकेनौं,’ उनले भनेका छन् ।

नेपालका कप्तान पारसले फाइनल म्याचमा सुरुमा सोचेकोभन्दा बढि रन बटुल्न आफूहरु सफल भएको बताए । उनका अनुसार नेपालले ८० देखि ९० रनको लक्ष्य पेश गर्ने सोचेको थियो तर, १ सय ४ रन बन्यो ।

‘यही १४ रन हाम्रो जितको लागि निर्णायक रह्यो,’ पारसले भने । उनले यूएईका बलर मोहम्मद नाबिद आफूहरुका लागि मुख्य तगारो रहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?