+
+

सरकारविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

लिलु डुम्रे लिलु डुम्रे
२०८१ जेठ ९ गते २०:४६

९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले अब सडक आन्दोलन पनि गर्ने भएको छ ।

बुधबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषयमा छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।

त्यसविरुद्ध कांग्रेसले आगामी आइतबार अर्थात १३ जेठमा काठमाडौंमा सडक प्रदर्शन राखेको छ ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन, गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध, सहकारीका बचतकर्ताको वचत फिर्ता, गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला लगायतका विषय उठाएर सडक प्रदर्शन गर्ने नेताहरुले बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले संसदमा खेलिरहेको भूमिका र संसदीय दलमा भएका छलफल बारे जानकारी गराएका थिए । प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले जायज माग उठाउँदा पनि सत्तापक्षले अटेरी गरेको बताए ।

कांग्रेस बैठकमा आगामी शुक्रबार प्रदर्शन गर्नेबारे छलफल भएको थियो । तर उपत्यकाका तीन जिल्ला सभापतिले शुक्रबारलाई तयारी अपुग हुने सुझाव दिएका थिए ।

प्रवक्ता डा. महतले सहकारीको रकम अपचलनको विषय उठाएर पीडितको पक्षमा सडक आन्दोलन गर्ने निर्णय भएको बताए । ‘सहकारीको रकम अपचलनको छानबिन हुनुपर्दछ । सुरक्षा निकायबाट छानबिन नहुने भयो’, महतले भने ।

आइतबार काठमाडौंमा विरोध प्रदर्शनपछि सडक आन्दोलनलाई प्रदेशस्तरमा पनि पुर्‍याउने कांग्रेसको तयारी छ । बुधबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले आन्दोलनलाई सातै प्रदेशमा पुर्‍याउनुपर्ने विचार राखेका थिए ।

‘व्यवस्थित आन्दोलन गर्नुपर्छ, सहकारी पीडितलाई न्यायको माग गर्दै प्रदर्शन सात प्रदेशमै पुर्‍याउनुपर्छ’, उनको भनाई उधृत गर्दै एक नेताले भने ।

कांग्रेस बैठकमा गृहमन्त्री लामिछानेको राजीनामाको विषय पनि उठेको छ । सहकारीको रकम अपचलन, अमर्यादित बोली जस्ता कारणले उनले व्यवहार पदीय भूमिका अनुसार नभएको नेताहरुले बताएका छन् ।

‘गृहमन्त्रीमाथि छानबिन समितिको मात्रै माग गरेर हुँदैन । अब राजीनामा माग्ने बेला भयो’, केन्द्रीय सदस्य नैनसिंह महरले बैठकमा भने । महरले गृहमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसा रहेकाले उनीहरुमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राखेका छन् ।

सांसद प्रतिमा गौतमले गृहमन्त्रीको बोली अराजनीतिक र अराजक शैलीको भएकाले अब कांग्रेसले उनको राजीनामालाई बटमलाइन बनाउनुपर्ने बताइन् ।

सत्तापक्षले संसदको सबैभन्दा ठूलो दललाई हेपेको र पेलेर सदन चलाउने आँट गरेकाले सरकार माथिको दबाब नपुगेको नेताहरुले बताएका थिए । २८ वैशाखबाट सुरु भएको बजेट अधिवेशनमा नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा कांग्रेसले अवरोध गरिरहेको छ । तर सभामुख देवराज घिमिरेले अवरोधकै बीच संसदलाई कार्यसूचीमा अगाडि बढाइरहेका छन् । कांग्रेस बैठकमा नेताहरुले सभामुख निष्पक्ष हुन नसकेको पनि बताएका छन् ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले गृहमन्त्री लामिछानेले शक्तिको दुरुपयोग गरेर डरको साम्राज्य खडा गरेको बताए । उनले बैठकमा भने, ‘गृहमन्त्रीले डरको साम्राज्य विस्तार गरेका छन् । दोहोरो पासपोर्ट लिएका उनले अरु विरुद्ध कारबाही गर्ने नैतिकता छैन ।’

बैठकमा गिरीबन्धु टी इस्टेटको जग्गा घोटालाको विषय उठाउनुपर्ने आवाज उठेको शिवाकोटीले बताए ।

बैठकले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोध गरेको छ । ‘नागरिकताको विषय थियो भने यत्रो सुरक्षा निकाय नै खनिएर पक्राउ पर्ने थिएन । मिडियालाई नियन्त्रण गर्ने, त्रासमा लिने सरकारको नियत हुनसक्छ’, प्रवक्ता महतले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?