Comments Add Comment

क्लब डेजाभूका एक शेयरधनीविरुद्ध इन्टरपोलमा नोटिस

२१ माघ, काठमाडौं । दरबारमार्गस्थित क्लब डेजाभूका एक जना शेयरधनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन -इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा शेयरधनी मनोज श्रेष्ठविरुद्ध डिफ्यूजन नोटिस जारी भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले निवेदनपछि एनसीबी काठमाडौंले श्रेष्ठविरुद्ध नोटिस जारी गरेको जनाइएको छ । ‘हामीले दिएको निवेदनको आधारमा इन्टरपोलमा १८ जनवरी २०१९ मै नोटिस जारी भइसकेको छ’, परिसरका एक अधिकारीले अनलाइनखबरसँग भने ।

नोटिस जारी भएसँगै उनी इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीको निगरानीमा हुनेछन् । र, आवश्यक परे उनलाई डिपोर्ट गरेर नेपाल पठाइनेछ ।

यसअघि २८ मंसिर ०७४ मा चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरे पनि उनी नआएपछि क्लबमा तोडफोड भएको थियो भने ८ जना सञ्चालकविरुद्ध ठगी आरोपमा मुद्दा चलेको थियो । हाल जिल्ला अदालत, काठमाडौं त्यो मुद्दा विचाराधीन छ ।

घटनापछि मनोजले शेयर विक्री गर्ने भन्दै दोलखाका विश्वराम श्रेष्ठसँग लिएको दुई करोड रुपैयाँ फिर्ता नदिएको उजुरी परेको छ । मनोजले दिएको दुई वटा चेक पनि बाउन्स भएपछि १३ पुस ०७५ मा बैंकिङ कसुरमा जाहेरी परेको थियो ।

‘प्रारम्भमा तत्कालीन ३ जना सञ्चालकविरुद्ध जोहरी परेको थियो । पक्राउ पूर्जी पनि जारी भयो’, प्रहरी भन्छ, ‘तर, सरकारी वकिल कार्यालयमा जाँदा कम्पनीको चेक भए, जसको सही छ । उसलाई मात्र पक्राउ गर्न सकिने भनिएको थियो र चेकमा मनोजको मात्रै सही थियो ।’ त्यसपछि जोहरीवालाले श्रेष्ठविरुद्ध मात्रै अर्को जाहेरी दिएका थिए ।
हाल उनी हङकङमा लुकेर बसेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment