Comments Add Comment

वीरगञ्जको नगरसभा वडासदस्यद्वारा बहिस्कार

२१ माघ, वीरगञ्ज । वडासदस्यहरुको बहिस्कारका वावजुद वीरगञ्ज महानगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । तोकिएको समयमा नगरपरिषद सुरु नगरेको भन्दै वडासदस्यहरुले नगर सभा बहिस्कार गरेका हुन् ।

केही वडासदस्यहरुले नगरसभा बहिस्कार गरेपनि गणपुरक संख्या पुगेका कारण नगरसभा केहिबेर बसेर स्थगित भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुषालले जानकारी दिए । अर्को पटक सूचना गरेर नगरसभा बोलाउने गरी स्थगित गरिएको उनको भनाइ छ ।

वडासदस्य, महिला, दलित सदस्यहरुले नगर परिषद बहिस्कार गरेपनि वडाअध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र केही वडासदस्यहरु नगरसभामा सहभागी भएका थिए । ३२ वटावडा रहेको वीरगञ्ज महानगरपालिकामा १६१ जनाको नगर परिषद छ ।

केहिबेर बसेको नगरसभाले बजेट सम्बन्धी दुईवटा बुँदा मात्रै पास गरेको छ । चालु आर्थिक वर्षमा छुट्याइएको पुँजीगत र चालु खर्च अन्र्तगतका केही शीर्षकको रकम रकमान्तर गर्ने र चैत मसान्तसम्म महानगरपालिकामा चालु आर्थिक वर्षको बाँकी कर बुझाउन आउने नगरवासीलाई जरीवाना नलाग्ने निर्णय गरेको हो ।

खासै छलफल गर्न नपाएकोले अन्य निर्णयहरु गर्न नसकिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । ‘धेरै छलफल गर्नुपर्ने विषय थियो, साथीहरुले असयोग गर्नुभयो ,’ उनले भने, ‘गणपुरक संख्या पुर्‍याएर बजेटसम्बन्धी निर्णय मात्रै गर्‍यौं । फेरि छलफलका लागि बोलाउँछौं ।’

त्यसअघि वडासदस्य हकहित मञ्चको आव्हानमा उनीहरुले ‘कर घटाउ जनतालाई बचाउ’ भन्दै विरोध प्रदर्शन गरेका थिए ।

जनतालाई करको मारमा नपार्न ०७३/७४ कै कर लागू गर्नुपर्ने माग उनीहरुको छ । मञ्चका अध्यक्ष तुफैल अन्सारीले ११ बजे नगरसभा बोलाएर १ बजेसम्म सुरु नगरेका कारण बहिस्कार गरेको बताए । ‘ हामीलाई ११ बजे नगरसभामा उपस्थित हुन भनिएको थियो, तर १ बजे प्रमुख प्रशासकीय अधिकृतसँग किन सुरु नगरेको भनेर सोध्दा २ बजेसम्म बस्न भन्नुभयो, त्यसपछि हामीले बहिस्कार गर्ने निर्णयमा पुगेका हौं ,’ उनले भने, ‘हामीले नगरसभाको बन्द सत्रमा कर कटौती सम्बन्धी माग राख्ने तयारी गरेका थियौं ।’ दोहोरो कर खारेज हुनुपर्छ भन्ने आफूहरुको अडान रहेको उनले बताए ।

नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शनको कार्यक्रम राखेको र वीरगञ्ज नगरसभामा सहभागी हुनुपर्ने काँग्रसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु प्रर्दशनमा सहभागी हुन गएकोले नगर सभा ढिलो सुरु गर्नु परेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

बाहिर करका कुरा, खास कुरो सेवा सुविधा

वडासदस्यहरुले बाहिर देखाउन करका कुरा गरेपनि भित्र भने सेवा सुविधाका लागि बार्गेनिङ गर्ने गरेको आरोप लागेको छ ।

उनीहरुले बाहिर कर कटौती गर्नुपर्ने कुरा गरेपनि नगरसभा बैठकमा प्रवेश गरेपछि सेवा सुविधाका कुरा उठाउने गरेको स्रोतले जनाएको छ । पहिलो नगर सभामा समेत उनीहरुले सेवा सुविधाको माग राखेर विरोध प्रदर्शन गरेका थिए ।

वडासदस्यहरुले प्रदेश २ को सरकारले भत्ता कटौती गरेको विरोधमा प्रदर्शन गरेको दावी कार्यपालिका सदस्य मनोजा चौधरीले गरिन् । ‘मिटिङ भत्ता लगायत सेवा सुविधाको माग राखेर केही साथीहरुले विरोध गर्नुभएको छ,’ उनले भनिन्, ‘मलाई पनि बोलाएका थिए तर म कांग्रेसको बिरोध सभामा सहभागी हुन गएकोले सहभागी हुन सकिन ।’

वडासदस्य अदालत अन्सारीले करका बारेमा सँगसँगै सेवा सुविधा सम्बन्धि कुरामा समेत आफूहरुको असन्तुष्टि रहेको बताए ।

आफूहरुले मासिक ७ हजार पाइरहेको बताउँदै वडासदस्य हकहित मञ्चका अध्यक्ष अन्सारीले पाएको सुविधा कसैले खोस्न नसक्ने दावी गरे । ‘हामीलाई वदनाम गराउनका लागि सेवा सुविधाको कुरा उठाएको भनिएको छ तर त्यसो होइन, प्रदेश सरकारले गरेको निर्णय हामीले स्वीकार गरेका छौं,’ उनले भने, ‘जेजति पाएका छौं, त्यही स्वीकार गरेका छौं । केही घुसपैठियाहरुले हाम्रो वदनाम गराउन सेवा सुविधाका लागि वार्गेनिङ गरेको आरोप लगाइरहेका छन् ।’ उनले जनताको हितका लागि निर्वाचित भएकोले त्यसैका लागि काम गर्ने बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले भने वडासदस्यहरुको सेवा सुविधाका बारेमा नगरसभाको कुनै भूमिका नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment